मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज २७ मंगलबार १५:५६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

थाइराइड भएका व्यक्तिमा हड्डी खिइने जोखिम उच्च

Read Time : > 1 मिनेट
२०७७ असोज २७ मंगलबार १५:५६:००

१२ अक्टोबरलाई हरेक वर्ष विश्व अर्थाइटिस दिवसको रूपमा मनाइन्छ । विश्वभरि अर्थाइटिस रोगको प्रकृति र यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने असरबारे जानकारी दिन विश्व अर्थाइटिस दिवस मनाइने गरिन्छ । यो वर्ष ‘टाइम टु वर्क’ नाराका साथ विश्व अर्थाइटिस दिवस मनाइएको छ । 

शरीरका जोर्नीहरूमा रहने कुरकुरे हाड अर्थात् कार्टिलेज खिइनुलाई ओस्टियो अर्थाइटिस भनिन्छ । व्यावहारिक भाषामा यसलाई हड्डी खिइनु पनि भनिन्छ । खासगरी यो समस्या ६० वर्षभन्दा माथिका वृद्धवृद्धामा बढी हुने गर्छ । तर, कतिपय अवस्थामा वयस्कमा पनि हड्डी खिइने समस्या हुन्छ । 

नेपालमा कति जनामा हड्डी खिइने समस्या छ भन्ने यकिन तथ्यांक छैन । तर, हड्डी र जोर्नी दुखाइको समस्या लिएर दैनिक सयौँ व्यक्ति अस्पताल आउने गर्छन् । घुँडाको हड्डी, कम्मर, छाती, हिप र यस्तै स–साना हातका औँलाका हड्डीमा जोर्नी खिइने समस्या बढी हुन्छ । 

कारण
जोर्नी खिइनुको मुख्य कारण बढी उमेरलाई नै मान्ने गरिन्छ । यसबाहेक अत्यधिक मोटोपनका कारणसमेत वयस्कहरूमा जोर्नीको समस्या देखा पर्दछ । महिनावारी रोकिइसकेका महिलामा र पहिले नै पाठेघरको रोगको कारण शल्यक्रिया गरेका महिलामा ओस्टियो अर्थाइटिस हुने सम्भावना हुन्छ ।

थाइराइडको समस्या भएका मानिसमा पनि जोर्नी खिइने समस्या हुने सम्भावना उच्च हुने गर्दछ । यस्तै विभिन्न दुर्घटनाबाट हड्डीमा लागेको चोटपटकबाट जोर्नी खिइन्छ । यसबाहेक कुरकुरे हाड च्यातिनु, जोर्नीहरू फुस्किनु, हड्डी जोड्ने तन्तुहरूमा चोट लाग्नु आदि विभिन्न कारणले जार्नीमा समस्या देखागर्छ । शरीरमा भिटामिन डी, क्याल्सियम, हार्मोनको कमी र विभिन्न कारणले हुने जोर्नीको संक्रमणबाट पनि हड्डी खिइने हुन्छ । 

कसरी थाहा पाउने ?
सामान्यतया जोर्नीमा रहेको कुरकरे हाड भाँचिँदा जोर्नीमा दुखाइ हुने गर्छ । कुरकुरे हाड जोर्नीमा रहेको नरम र लचिलो हाड हो, जसले एक–अर्को हड्डीहरूलाई रक्षा गर्नुका साथै चलाउँदा सजिलो बनाइदिन्छ । कुरकुरे हाड भाँचिएपछि हड्डीहरू एक–अर्कामा घर्षण हुन्छन्, फलस्वरूप जोर्नीमा दुखाइ उत्पन्न हुने गर्छ । कुरकुरे हड्डीमा रक्तकोषिका नहुने भएकाले एकचोटि भाँचिएपछि आफैँ निको हँुदैन । जसको कारण जोर्नीमा अत्यधिक दुखाइ हुने गर्छ, जुन ओस्टियो अर्थाइटिसको मुख्य लक्षण पनि हो । 

हड्डी खिइएर दुखेको जोर्नीमा छँुदा बढी दुख्ने हुन्छ । यस्तै घुँडामा हो भने टुक्रुक्क बस्ने नसक्ने, खुम्च्याउन नसक्ने, घुमाउन नसक्ने हुन्छ । यसबाहेक जोर्नी दुख्ने, सुन्निने, चलाउँदा आवाज आउने आदि ओस्टियो अर्थाइटिसका लक्षणहरू हुन् । 

रोकथाम र उपचार
शरीरमा भिटामिन डी, क्याल्सियम आदिको कारणसमेत हड्डी दुख्ने भएकाले क्याल्सियम र भिटामिनयुक्त खानेकुराहरू सेवन गर्नुपर्छ । बजारमा केही सप्लिमेन्टहरू पाइन्छन्, जसले जोर्नी खिइने समस्यालाई कम गर्छ । जस्तै फिस वेल, क्याल्सियमयुक्त खानेकुरा, अदुवा, दूध, अण्डा, गहुँको रोटी खानुपर्छ । 

हड्डी खिइने समस्या भएमा चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । सम्बन्धित जोर्नीको एक्सरे, एमआरआई, रगतको जाँच र भिटामिन डीको लेभल जाँच गरेर उपचार गरिन्छ । सामान्य दुखाइ भएमा अवस्था हेरी औषधिको सेवन, फिजिकल थेरापी, कसरत, तौल घटाएर उपचार गर्न सकिन्छ । यस्तै दुखाइ कम गर्ने मलम लगाउने र सुईबाट औषधि दिएर उपचार गरिन्छ । यदि दुखाइ अत्यधिक हुँदै गएमा जोर्नी प्रत्यारोपण गरेर उपचार गरिन्छ । 

नेपालका विभिन्न अस्पतालमा जोर्नीको शल्यक्रिया गरेर प्रत्यारोपणबाट उपचार गरिन्छ । खासगरी घुँडाको प्रत्यारोपण र हिपको प्रत्यारोपण धेरै हुने गरेको छ ।