१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज २० मंगलबार १७:२२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

बालबालिकामा हुने अपांगताको प्रमुख कारण मस्तिष्कको पक्षघात

Read Time : > 1 मिनेट
२०७७ असोज २० मंगलबार १७:२२:००

६ अक्टोबरलाई विश्व सेरेब्रल पाल्सी (मस्तिष्कको पक्षघात) दिवसका रूपमा मनाइने गरिन्छ । सेरेब्रल पाल्सीको प्रारम्भिक लक्षण, रोगसँगै जीवनशैली सामान्य बनाउने तौरतरिकाबारे जानकारी दिने उद्देश्यले विश्वभर यो दिवस मनाउन थालिएको हो । 

विश्वका करिब १७ मिलियन मानिस मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी)बाट पीडित रहेको अनुमान छ । सेरेब्रल पाल्सीपीडित व्यक्तिहरूलाई समाजका अन्य मानिसको जस्तै अधिकार र अवसर सुनिश्चित गर्न यो दिवस मनाइने गरिन्छ । यस वर्ष पनि विश्वभर आज ‘मेक युअर मार्क’ अर्थात् आफ्नो स्थान सुनिश्चित गरौँ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । 

बालबालिकामा हुने मस्तिष्क पक्षघात
मस्तिष्कको पक्षघात बालबालिकामा हुने अपांगताको प्रमुख कारण हो । बच्चा गर्भमा रहँदा, जन्मने प्रक्रियामा हँुदा र जन्मिसकेको तीन वर्षसम्म मस्तिष्कको पक्षघात हुन सक्छ । जसले मस्तिष्कको कुनै भाग नष्ट गरिदिने वा मस्तिष्कको वृद्धिविकासमा रोकावट सिर्जना गरिदिने गर्छ । जसलाई मेडिकल भाषामा ‘सेरेब्रल पाल्सी’ पनि भनिन्छ । 

सामान्यतया बच्चाको दिमागको विकास जन्मेपछिको करिब तीन वर्षसम्म हुने भएकाले मस्तिष्कको पक्षघात जुनसुकै वेला हुन सक्छ । मस्तिष्क पक्षघात हुँदा मांसपेशी कमजोर हुने वा काम गर्नै नसक्ने, सुस्तमनस्थितिको हुने, बोल्न, सुन्न, देख्न नसक्ने, छारे रोगका जस्ता लक्षण देखिने गर्छ ।

कारण
–बच्चामा मस्तिष्क पक्षघात के कारणले हुन्छ भन्ने कुरा यकिन छैन । यदि बच्चाले कुनै कारणले गर्दा लामो समयसम्म सास फेर्न नसकेमा मस्तिष्कमा असर पर्ने गर्छ । फलस्वरूप बच्चा अपांग भएर जन्मिन्छ । 

–करिब ७० प्रतिशत मस्तिष्क पक्षघात गर्भावस्थामा हुने गर्छ । मस्तिष्क पक्षघातको मुख्य कारण गर्भावस्थामा चोट लाग्नु, गर्भवतीमा रेडिएसन एक्सपोजर भएमा, थाइराइडको समस्या, गर्भवतीमा कुनै संक्रमण देखिएमा, स्वास्थ्यलाई हानि गर्ने खानेकुराको सेवन आदि कारणले मस्तिष्कमा असर गर्ने गर्छ । यस्तै बच्चा जन्मिने प्रक्रियामा समेत मस्तिष्कघात हुने सम्भावना अत्यधिक हुने गर्छ । 

–बच्चा जन्मिसकेपछि विभिन्न किसिमका संक्रमण, वंशानुगत रोग, थाइराइडमा समस्या, मेनेन्जाइटिस, दिमागमा असर पर्ने गरी चोटपटक लागेमा मस्तिष्कघात हुने डर हुन्छ ।

कसरी थाहा पाउने ?
–सुरुवातको चरणमा हाड तथा नशाहरू लुलो हुने गर्छ । बिस्तारै हातखुट्टा कडा हुँदै जान्छन् । जसले गर्दा लुगा लगाउन पनि गाह्रो हुँदै जान्छ ।

–मस्तिष्क पक्षघात भएको ४० देखि ५० प्रतिशत बालबालिका सुस्तमनस्थिति भएर जन्मिन्छन् वा हुन्छन् । 

–उमेरअनुसारको शारीरिक तथा मानसिक विकास हँुदैन । कतिपयमा शरीरको एक भागमा प्यारालाइसिस हुने गर्छ ।

–बिस्तारै आँखा नदेख्ने, नसुन्ने, बोल्न नसक्ने, अनुभव गर्न वा प्रतिक्रिया जनाउन नसक्नेजस्ता समस्या देखिन थाल्छन् । 

–मांसपेशीहरू लुला हुने वा धेरै कडा हँुदा शरीर सन्तुलनमा राख्न सक्दैनन् । 

–करिब १५ प्रतिशतमा छारेरोग जस्तं समस्या हुने गर्छ । शरीर कम्पन हुने गर्छ । 

–बिस्तारै बच्चाहरूमा खाएको नपच्ने वा खाँदा सर्किने, निमोनिया हुने हुन्छ । 

यस्ता लक्षण देखापरेमा चिकित्सकको सल्लाह लिनुपर्छ । एमआरआई, इजिजी आदिको माध्यमबाट मस्तिष्क पक्षघात पत्ता लगाउन सकिन्छ । 

उपचार
मस्तिष्क पक्षघातको पूर्ण उपचार हुँदैन । केही थेरापी र शल्यचिकित्साबाट पुनस्र्थापना गर्न सकिन्छ । यसका लागि फिजियोथेरापीको माध्यमबाट सन्तुलनमा राख्न सकिन्छ । 
यसका लागि बालरोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञ, नशा रोग विशेषज्ञजस्ता धेरै विधाका विशेषज्ञको आवश्यकता पर्ने हुन्छ । बच्चालाई थप विकलांग हुन नदिन र उनीहरूले आफ्नो काम आफैँ गर्न सक्ने बनाउनका लागि निरन्तर उपचारको आवश्यकता पर्छ । 

( बालरोग विशेषज्ञ ताम्राकार सिद्धि स्मृति महिला तथा बाल अस्पताल, भक्तपुरमा कार्यरत छन् । )