१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १६:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जो कोरोना प्रकोपअघि शिक्षक थिए, अहिले सिकर्मी बने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:४५:oo

तानसेन– ४ सिल्खानटोलमा रहेको उनको भाडाको घरको गल्ली अँध्यारो छ । 

त्यही अँध्यारो गल्लीभित्र सानो कोठालाई किचनको रूपमा प्रयोग गरिएको छ । त्यही किचनको भुइँ, जहाँ कतै प्लाई, कतै करौँती र हतौडा फिँजाइएको छ । त्यही भुइँमा बसेर हथौडाले प्लाईमा किला ठोक्दै छन् एकजना युवक । गोजीमा कलम छ, हातमा हतौडा ।

पशुपति बस्याल, लकडाउन नभइदिएको भए विद्यालयमा मार्कर र डस्टर समात्दै विद्यार्थी पढाइरहेका हुन्थे । तर, विद्यालय बन्द भइदिँदा मार्कर र डस्टर समाउने हातले औजार समातेका छन् । 

विद्यालय बन्द भएपछि परिवार पाल्नका लागि उनले सिकर्मी पेसा अवलम्बन गरे । उनको उमेर ३५ वर्ष हो  । 
१२ वर्षदेखि शिक्षण पेसा गरेका उनले आज एउटा सानो कोठामा हतौडाले किला ठोक्दै छन् । निजी विद्यालयमा शिक्षण गरेर परिवारको गुजारा चलाउँदै आएका उनलाई यस्तो दिन आउला भन्ने कहिल्यै लागेको थिएन । 

उनी भन्छन्, ‘म यही किचनमा विद्यार्थीका परीक्षाका कापीहरू यसैगरी फिँजारेर जाँच गर्दथेँ, हातमा रातो कलम हुन्थ्यो, अहिले करौँती छ । कपीमा नम्बर दिने मैले काठको साइज लेखिरहेको छु । तर, आज समय त्यस्तो छैन । आज विद्यार्थीको कापीका स्थान प्लाइबोर्ड र काठ काट्ने मेसिनले लिएका छन् । रातो पेन समात्ने यी हातमा करौँती र हतौडा छन् । कोरोना भाइरस नेपालमा पनि देखिन थाल्यो, गत चैतमा सरकारले लकडाउनको घोषणा गऱ्याे । लकडाउनसँगै विद्यालयहरू पनि बन्द भए । निजी विद्यालयमा शिक्षण गरेका कारण विद्यालयले थोरै मात्र तलब दिन थाल्यो । लकडाउन खुल्ला र फेरि पढाउन पाइएला भन्ने आशाचाहिँ जीवितै रह्यो । आजभोलि गर्दागर्दै असार लाग्यो, विद्यालय खुल्ने छाँट पनि आएन ।’ 

परिवार पाल्ने विकल्पका रूपमा यो कामलाई लिएको उनी बताउँछन् । शिक्षक बस्याललाई एक दिन छिमेकीले ढोकाको पल्ला फेर्न सहयोग मागे । 

पहिलेदेखि नै अलिअलि फर्निचरसँग सम्बन्धित काममा रुचि भएकोले उनले ढोका बनाइदिए । छिमेकीले केही पैसा पनि दिए अनि उनमा सोच आयो– अब यसलाई नै पेसा बनाएर अघि बढ्छु । 

‘विद्यालय बन्द नभएको भए मैले यो काम गर्ने थिइनँ होला,’ बाहिर हाँसे पनि मनमा पीडा छचल्किने स्वरमा उनले भने, ‘मान्छेलाई जब दुःख पर्छ तब उपाय खोजिँदो रहेछ ।’

बस्याल चार वर्षीया छोरी र श्रीमतीसहित तानसे–न ४ सिल्खान टोलमा बस्छन् । गत असारदेखि उनले कोठामा पूजा गर्ने मन्दिर, रोटी बेल्ने चक्का, पैसा राख्ने खुत्रुके, फिनी बेल्ने पिर्का, बस्ने पिर्का, मेकअप सामानहरू राख्ने भाँडा, पेन बक्स तथा कपडा राख्ने दराजहरू बनाउन थाले । 

उनले बनाएका सामग्रीबाट मासिक २५ हजार आम्दानी भयो । उनले बिक्रीका लागि बनाएका सामग्री पनि किचनमा छन् ।

श्रीमती हेमाकुमारी बस्याल श्रीमानको काममा प्रेरणाको स्राेत हुन्, श्रीमतीले नै उनको काममा  हौसला दिन्छिन् । 
उनी भन्छिन, ‘स्कुल नहुँदा फाल्तु भएँ भनिनरहनुभएको थियो, काठको काम गर्न थालेपछि मजाले घरखर्च चलेको छ ।’ 

आफूसँग रहेको पुरानो करौँतीबाट काम सुरु गरेका बस्यालले अर्डर आउन थालेसँगै प्लाई काट्ने मेसिन, ड्रिल मेसिन, खाक्सी मेसिनलगायतका सामग्रीहरू किनेका छन् । 

विद्यालय बन्द भएको ६ महिनाभन्दा बढी भएको छ ।  कहिलेदेखि खुल्ने हो, अझै टुंगो छैन । तर, स्कुल खुलेपछि पनि साँझ–बिहानको समयमा यो कामलाई निरन्तरता दिने बस्यालको संकल्प छ । 

उनी भन्छन्, ‘यो मैले दुःख पर्दा अंगालेको पेसा हो, दुःखमा साथ दिएका औजारलाई खिया लाग्न दिनेछैन ।’

ad
ad