सस्तोमा अमेरिकी डलर दिने भन्दै दश लाख ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । १७ हजार अमेरिकी डलर भेटाएको र सस्तोमा दिने भनी कागजको बिटो देखाई १० लाख ठगी गरेको आरोपमा चारजना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार साबिक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ५ का ३८ वर्षीय श्रीखण्ड तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ५ स्थायी घर भई हाल काठमाडाैंको बुढानीलकण्ठ नगगरपालिका– २ मा डेरा गरी बस्ने हर्क तामाङ, बाह्रबिसे नगरपालिका– ५ बस्ने अन्दाजी ४७ वर्षीय चैते भन्ने बुद्धिबहादुर तामाङ र सोही ठाउँको अन्दाजी ६० वर्षीय गोविन्द तामाङ पक्राउ परेका छन् ।
थापाका अनुसार श्रीखण्ड १८ असोजमा काभ्रेको बनेपा नगरपालिका– ८ बाट पक्राउ परेका हुन् । हर्क सोही दिन काठमाडौं बुढानीलकण्ठबाट र बुद्धि र गोविन्द १९ असोजमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढीबाट पक्राउ परेका हुन् ।
थापाका अनुसार नुवाकोट दुप्चेश्वर गाउँपालिका– २ कुटुमसाङ बस्ने पेन्जोम शेर्पालाई अपरिचित व्यक्तिले फोन गरेर अमेरिकी डलर १७ हजार भेट्टाएको र सस्तो मूल्यमा दिने भनी प्रलोभनमा पारेका थिए । पीडितले तत्काल १० लाख मात्र दिई बाँकी पैसा पछि दिने भनी रुमालमा बाँधिएको अमेरिकी डलर भनिएको पोको लिएका थिए ।
पीडकले तत्काल डलरको पोको नखोल्न र कसैले देखे समस्या पर्ने भनेका थिए । पीडकको आग्रह पीडितले मानेका थिए ।
पछि डलर भनी दिएको रुमाल खोली हेर्दा काटिएको कागजको बिटा मात्र रहेको पाएपछि पीडितले जिल्ला प्रहरी कार्यालय काभ्रेमा निवेदन दिएका थिए । उनीहरूलाई मुलुकी अपराध संहिता ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।