खरिद गरेकोभन्दा दोब्बर मूल्य लिएर प्याज बिक्री गर्ने दुईजना थोक व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ९ का व्यापारीहरू ३८ वर्षीय सञ्जयकुमार गुप्ता र सोही ठाउँका २९ वर्षीय मुकेशकुमार सहनीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
कालोबजारी नियन्त्रण ऐनअनुसार खरिद गरेको मूल्यको २५ प्रतिशतभन्दा बढी मूल्य लिएर सामान बिक्री गर्न पाइँदैन । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले प्याजमा बढी मूल्य लिनेलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअनुसारको कसुरमा मुद्दा दर्ता गरिएको बताए ।
भारतबाट प्याजको आयात हुन छाडेपछि व्यापारीहरूले गोदाममा भण्डारण गरेर राखेको प्याज दोब्बर मूल्य लिएर बिक्री गर्ने गरेका छन् ।