मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ ३१ बुधबार १४:२५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लामो दूरीको सवारी सञ्चालनमा चुनौती नै चुनौती : अझैसम्म पठाइएन पालना गर्नु पर्ने मापदण्ड

Read Time : > 1 मिनेट
२०७७ भदौ ३१ बुधबार १४:२५:००

सरकारले बिहीबारबाट लामो दूरीको सवारीसाधन सञ्चालनमा ल्याउन अनुमति दिएको छ । 

कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब ६ महिनासम्म लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका थिएनन् । 

तर, दशैैँको मुखमा लामो दूरीको  सवारीसाधन सञ्चालनमा ल्याउँदा झनै जोखिम बढ्ने सक्ने भन्दै आलोचना पनि हुँदै आएको छ ।

यदि  लामो दूरीको सवारीसाधन सञ्चालनमा ल्याउँदा उपयुक्त तोकिएको मापदण्ड कडाइका साथ पालना नगर्ने हो भने जोखिमको खतरा झनै बढ्न  सक्ने स्पष्ट नै छ । 

छोटाे दूरीका सार्वजनिक सवारीसाधनसमेत सञ्चालनमा ल्याउनुपूर्व स्वास्थ्य मापदण्ड बनाएर मात्र सञ्चालनमा ल्याउने भनिए पनि स्वास्थ्य मापदण्ड पालना हुनेमा आशंका देखिन्छ । 

किनकि यसअघि केही दिनका लागि काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएका यातायातमा तोकिएको मापदण्ड पालना भएको थिएन । र, सरकारले पनि खासै अनुगमन गरेकाे थिएन् । 

यातायात व्यवसायीले विभिन्न वहानामा त्यसवेला मापदण्ड पालना गर्न आनाकानी गरेका थिए । लामो दूरीको यातायातमा पनि उनीहरूले मापदण्ड पालनालाई गम्भीरतापूर्वक नलिने सम्भावना छ । 

त्यसमाथि पनि दशैँको चहलपहल सुरु हुने वेलामा यात्रुको झनै भिड हुने सम्भावना रहन्छ ।

बिहीबारबाट सञ्चालनमा  आउने लामो दूरीको सवारीसाधन कसरी सञ्चालनमा  ल्याउने, बस  व्यवसायीहरूले के–के नियम पालना गर्नुपर्ने हो  ? त्यो विषयमा अझै पनि स्पष्ट निर्देशन यातायात मन्त्रालयबाट हालसम्म नआएको नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

उनका अनुसार मन्त्रीसामु बुधबार बिहान भेटेर बिहीबारबाट कसरी लामो दूरीको सवारीसाधन सञ्चालनमा ल्याउने कस्तो अवस्थामा मापदण्ड पुऱ्याएमा ५० प्रतिशतसम्म भाडा लिन पाइने, के–के कस्तो तयारी गर्नुपर्ने भन्ने विषयमा  व्यवसायीहरूले कुरा राखेको, मन्त्रीबाट मापदण्ड बनाउने काम भइरहेको र बिहीबारसम्ममा मापदण्डको खाका उपलब्ध गराउने मन्त्रालयले जानकारी दिएको उनले बताए ।

१ असोजबाट सञ्चालनमा आउने  लामो दूरीको सवारीसाधनमा अझै स्पष्ट मापदण्ड नहुँदा छलफल गर्न र त्यसको थप तयारी गर्न व्यवसायीहलाई गाह्रो भएको  कर्माचार्यले बताए । 

‘सबै प्रदेशमा हाम्रोतर्फबाट गर्ने तयारीबारे पत्रचार गरिसकेका छौँ,  सरकारबाट पनि स्पष्ट मापदण्ड समयमा आएको भए सजिलो हुने र यसले यात्रु, चालक र सहचालकलाई  पनि अन्योल नहुने अवस्था सिर्जना गर्न सबैलाई समयमै जानकारी दिनुपर्ने हुन्छ,’ कर्माचार्यले भने ।

सुरुमै यात्रु पाउन र सवारीसाधन क्षेत्रलाई चलायमान हुन अझै केही साता लाग्ने कर्मचार्य बताउँछन् ।

त्यस्तै यातायात मजदुरको बिमाको कार्यान्वयनमा तीव्रता दिने विषयमा पनि छलफल भएको नेपाल  यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । 

असोजको दोस्रो साताबाट दशैँको टिकट खुलाउने तयारी  
सरकारले असोजको दोस्रो साताबाट दशैँका लागि अग्रिम टिकट खुलाउने तयारी गरेको छ । 

त्यसका लागि व्यवसायीहरूसँगको छलफल गरेर असोजको १५ गतेबाट दशैँका लागि अग्रिम टिकट खुलाउने तयारी  यातायात विभागका  महानिर्देशक  गोगन हमालले जानकारी  दिए । 

स्वास्थ्य मापदण्ड कार्यान्वयन भए–नभएको  विषयमा एउटा छुट्टै कार्यदल बनाएर  कार्यान्वयन गर्ने तयारीमा  सरकार रहेको छ ।

गत वर्षझैँ बसपार्कबाट यात्रुलाई बोलाएर टिकट लिने वातावरण नभएकाले सकभर यस वर्ष अनलाइन टिकटिङको व्यवस्था गर्न लागेको हमालले  जानकारी  दिए ।

त्यस्तै, बुधबार मन्त्रीसँग भेट हुँदा पनि यात्रुलाई दशैँका लागि कसरी सहज तवरले गन्तव्यसम्म लैजाने र टिकटको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल भएको महासंघका अध्यक्ष  योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए । 

बसपार्क यस वर्षको जस्तो भिड नगर्ने र यात्रु छुटेको–गएको तथ्यांक सम्पर्क नम्बर राख्ने, बसलाई चक्रपथमा एकपटक यात्रु चढाउनका लागि घुमाउनुपर्ने जसका कारण एकैठाउँमा भिड हुने सम्भवना कम हुने गरी तयारी रहेको कर्मचार्यले बताए ।