१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ३१ बुधबार ०६:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा ‘करेक्सन’ : वित्तीय अवस्था नै थाहा नभएका कम्पनीको भने मूल्य बढ्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ३१ बुधबार ०६:३६:००

नेप्से परिसूचक मंगलबार ४ दशमलव ४७ अंकले घटेर १ हजार ५ सय ३६ बिन्दुमा सीमित भएको छ । अन्तरदिनको कारोबारमा १ हजार ५ सय ४८ बिन्दुसम्म पुगेको नेप्से घटेर १ हजार ५ सय ३१ सम्म ओर्लिए पनि बजार बन्द हुँदा केही सुधार भएको हो । 

केही दिनदेखि जलविद्युत् कम्पनीलाई लगानी विकल्प बनाउँदै आएका लगानीकर्ता मूल्य बढाउँदै बेच्दै गरिरहेका छन् । यही कारण मंगलबार यो समूहगत परिसूचक घटेको छ । यद्यपि, केही जलविद्युत् कम्पनीको भने मूल्य १० प्रतिशतसम्म बढेको छ । मंगलबार दिव्यश्वरी, खानीखोला, घलेम्दी हाइड्रो, युनियन, नेपाल हाइड्रो, रैराङ हाइड्रोपावरको मूल्य ७ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ । 

गत आवको चौथो त्रैमासमा दिव्यश्वरी हाइड्रोपावर ४ करोड रुपैयाँ नोक्सानमा छ । कम्पनीको १७ करोड रुपैयाँले सञ्चित नोक्सान छ । तैपनि, कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि छ । सेयरको अंकित मूल्य (१ सय रुपैयाँ)भन्दा कम ६६ रुपैयाँ भएकाले लगानीकर्ताले यसमा जोखिम लिएर पनि खेलिरहेका छन् । 

युनियन हाइड्रोको पनि केही दिनदेखि मूल्य लगातार वृद्धि भइरहेको छ । कम्पनीले भने गत आवमा १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको सञ्चित नोक्सान भने सकिएको छैन, तर यसलाई घटाएको छ । ९ करोड ४५ लाख रुपैयाँबाट घटाएर कम्पनीले नोक्सान ७ करोड ७१ लाख रुपैयाँमा सीमित पारेको छ । करिब ९ प्रतिशतले बढेर कम्पनीको मूल्य ८५ रुपैयाँ पुगेको छ । कम्पनीले सुधार गरिरहेकाले तत्काल लाभांश नपाइने भए पनि मूल्यमा मोलमोलाइको विकल्प बनेको देखिन्छ । 

घलेम्दी हाइड्रोको मूल्यसमेत ९ दशमलव ५९ प्रतिशतले बढेर ८० रुपैयाँ पुगेको छ । ५ करोड ५० लाख लाभांश वितरण गर्न सक्ने जानकारी २०७५ सालमा प्राथमिक सेयर निष्कासन गर्दा आह्वानपत्रमा उल्लेख गरेको यस कम्पनीले कुनै पनि वित्तीय विवरण नै सार्वजनिक गरेको छैन । कम्पनीको विवरण नै उपलब्ध नभए पनि मूल्य कम भएकै कारण खोलिएको छ । ६ करोड रुपैयाँले नाफा घटेको र ५० करोड रुपैयाँ सञ्चित नोक्सान रहेको खानीखोलाको पनि मूल्य बढेको हो ।

नेपाल हाइड्रोपावर डेभलपर्सले ०७४/७५ मा ४ प्रतिशत बोनस सेयर दिएको थियो । गत आवको तेस्रो त्रैमासमा ३ करोड रुपैयाँ नाफामा देखिएको कम्पनीले चौथो त्रैमासको वित्तीय विवरणसमेत प्रकाशित गरिसकेको छैन । कम्पनीको मूल्य भने १ सय ८३ रुपैयाँ छ । 

मंगलबार बजारमा भने २ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । अन्य सामूहिक लगानी कोषहरूको लाभांश दर १० प्रतिशतमुनि रहँदा सिटिजन्स म्युचुअल फन्ड १ र २ ले क्रमशः १५ र १० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यससँगै केही सामूहिक लगानी कोषको मूल्य बढ्दा समग्र समूहगत सूचकसमेत बढेको छ । योसहित होटेल र निर्जीवन बिमा कम्पनीको मात्रै मंगलबार समूहगत परिसूचकमा वृद्धि भयो ।