मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७७ भदौ ३० मंगलबार ०६:१४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्रिकेट खेलाडी ललित भण्डारी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७७ भदौ ३० मंगलबार ०६:१४:००

सडक दुर्घटनामा परी राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित भण्डारी घाइते भएका छन् । आइतबार साँझ ७ बजेतिर पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा ट्रकले भण्डारी सवार मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका हुन् । उनीसँगै करन ठगुन्ना पनि घाइते भएका छन् । 

प्रत्यक्षदर्शी अर्जुन भट्टले धनगढीदेखि महेन्द्रनगरतर्फ आइरहेको से.१ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म.२प ४७०५ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा दुईजना घाइते भएको जानकारी दिए । ‘ट्रक तीव्र गतिमा आइरहेको थियो, भण्डारी मोटरसाइकल चलाएर घरतिर जाँदै थिए, बजारमा ठोक्किहाल्यो,’ उनले भने । 

एटिएमबाट पैसा निकालेर घर फर्किंदा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले चालकको पहिचान भइसकेको बताउँदै ट्रक प्रहरी नियन्त्रणमा रहेको बताए । 

भण्डारी र ठगुन्नालाई स्थानीय शुक्लाफाँटा क्लिनिक अस्पतालमा प्राथमिक उपचार सम्भव नभएपछि धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको थियो । भण्डारीको हात र खुट्टामा गम्भीर चोट लागेको छ । निसर्ग अस्पतालमा उपचार हुन नसकेपछि भण्डारीलाई राति नै कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । उनका आफन्त रामसिंह खत्रीले कोहलपुर मेडिकल कलेजमा पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको जानकारी दिए ।

राष्ट्रिय टोलीका खेलाडी विनोद भण्डारीले धापासीस्थित ग्रान्डी हस्पिटलमा उपचार भइरहेको जानकारी दिएका छन् । सोमबार साँझ फेसबुकमा विनोदले घाइते ललित भण्डारीको अवस्था खतरामुक्त रहेको जानकारी दिँदै हात तथा खुट्टाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएको उल्लेख गरेका छन् ।