१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राजकुमारकी श्रीमती र डेढ वर्षीया छोरी
२०७७ भदौ २४ बुधबार ०५:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चेपाङ युवा राजकुमार मृत्यु प्रकरण : सहमतिको ४० दिन, तर  परिवारले पाएनन् राहत रकम

Read Time : > 1 मिनेट
२०७७ भदौ २४ बुधबार ०५:०७:००

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटाइबाट गम्भीर घाइते भई मृत्यु भएको भनिएका राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको परिवारलाई सहमतिअनुसार राहत रकम दिन ढिलाइ भएको छ । सहमतिको ४० दिन पुग्दासमेत परिवारले राहत पाएको छैन । सहमतिअनुसार राहत माग गर्दै परिवारले निकुञ्जमा निवेदन दिएको छ । 

१६ साउनमा जिल्ला प्रशासन कार्यालय चितवनमा मृतकको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ सहयोग गर्ने सहमति भएको थियो । परिवारलाई राप्ती नगरपालिकाले तीन र निकुञ्जले सात लाख दिने सर्वपक्षीय सहमति थियो । नगरपालिका र निकुञ्जले राहत दिने प्रक्रियाका लागि काम भइरहेको बताएका छन् । 

निकुञ्ज प्रमुख अणनाथ बरालका अनुसार एक हप्ताअघि मात्रै पीडित परिवारको तर्फबाट राहत रकमका लागि कार्यालयमा निवेदन आएको छ । ‘निकुञ्जसँग यस्ता घटनाका लागि रकम विनियोजित भएको हुँदैन,’ प्रमुख बरालले भने, ‘हामी रकमको स्रोत खोजिरहेका छौँ । माथिल्लो निकायमा पनि छलफल भइरहेको छ ।’ यथाशक्य छिटो स्रोत व्यवस्थापन गरेर सहमतिअनुसार रकम दिन तयार रहेको उनले बताए ।

राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले पीडित पक्षको कागजात जुटाउने काम भइरहेको बताइन् । ‘सहमतिअनुसार सहयोग पाउनेमा ढुक्क हुनुस्, अहिले के, कसरी दिन सकिन्छ भनेर आवश्यक कागजात संकलन भइरहेको छ,’ मेयर बरालले भनिन् । प्रमुख बरालले रकम नपाउने वा नदिने भन्ने विषयमा कुनै शंका नगर्न अग्रह गरिन् । 

साथीहरूसँग निकुञ्जभित्र माछा मार्न गएका वेला सेनाले गिरफ्तार गरी निर्घात कुटपिट गरेको र त्यसैको पीडाले राजकुमारको ज्यान गएको परिवारको आरोप छ । चितवन प्रहरीले घटनाको अनुसन्धान चलिरहेको जनाएको छ । तर, घटनामा आरोपी कोही पनि अहिलेसम्म गिरफ्तार भएका छैनन् । चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले पोस्टमार्टम र भिसेरा परीक्षणको रिपोर्ट प्राप्त भइसकेको बताए । ‘दुईवटा रिपोर्ट पाएपछि अनुसन्धानले तीव्रता लिएको छ,’ उनले भने । शव ११ साउनको राति टिचिङ अस्पताल काठमाडौं लगिएपछि अर्को दिन दिउँसो पोस्टमार्टम भएको थियो । 

घटना १ साउनको हो । उपचारका लागि भरतपुर ल्याउँदै गर्दा निज चेपाङको ८ साउनमा मृत्यु भएको थियो । हप्ता दिनसम्म गुपचुप रहेको घटना ७ साउनमा मात्रै सार्वजनिक भएको थियो । घटनामा राप्ती नगरपालिका–२ मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजा घाइते भएका थिए ।