डा. संकेतकुमार रिसाल भेरी अस्पतालमा कोभिडका फोकल पर्सन हुन् । बिरामीको उपचारको क्रममा उनलाई पनि संक्रमण देखिएको थियो । आफूमा संक्रमण पोजिटिभ देखिएपछि उनले अस्पतालकै आइसोलेसनमा उपचार गराएका थिए । १४ दिनको आइसोलेसन बसाइपछि उनी डिस्चार्ज भएर आरामका लागि घर फर्केका छन् । आइसोलेसन बसाइबारे उनको अनुभव यस्तो छ :
...............
कोरोना संक्रमण जुनसुकै व्यक्तिमा पनि हुन सक्छ । समुदायस्तरमा कोभिड फैलिएकाले संक्रमणबाट बच्न एक मात्र विकल्प सावधानी अपनाउनु हो । संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू उच्च जोखिममा रहन्छन् । बिरामीसँग सहकार्य गर्दा संक्रमण सर्न सक्ने सम्भावना भएकाले पहिलेदेखि नै मानसिक रूपमा तयार थिएँ । तर, संक्रमण पुष्टि भएपछि लक्षणहरू देखिएकाले आइसोलेसन बसाइ निकै सकसपूर्ण रह्यो । ८ भदौमा संक्रमण पुष्टि हुँदा सामान्य रुघाखोकी र झाडापखालाको लक्षण देखिएको थियो । तर, त्यसको एक–दुई दिनपछि उच्च ज्वरो, घाँटी दुख्ने, खोकी र झाडापखालाको समस्याले सतायो ।
संक्रमण पुष्टि भएको एक हप्तापछि लक्षणहरू बिस्तारै कम हुँदै गए । त्यो समयमा मांसपेशी दुख्ने, ज्वरो आउने र कमजोरीपनका कारण निकै गाह्रो भएको थियो । मैले आजसम्म यसरी मांसपेशी (जिउ) दुखेको कहिल्यै पनि अनुभव गरेको थिइनँ । स्वास्थ्य अवस्था थप बिग्रन नदिन दिनमा तीनपटकसम्म एन्टिबायोटिक र इन्जेक्सन दिइन्थ्यो । कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि कमजोरीपन र चिटचिट पसिना आउनेजस्ता सामान्य स्वास्थ्य समस्या अझै पनि छन् ।
मलाई सामान्य स्वास्थ्य अवस्था भएको व्यक्तिमा देखिने सबै कोभिडका लक्षण देखिएका थिए । स्वास्थ्यकर्मीको हेरचाह, सल्लाह र उपचारबाट सबै लक्षण लगभग डेढ हप्तामै निको भएर गए । तसर्थ, कोभिडको लक्षण देखिँदैमा आत्तिनुपर्दैन । लक्षण देखिहालेमा पनि चिकित्सकको सल्लाहमा स्वास्थ्यको हेरचाह गर्ने, उपचारमा ध्यान दिने र आत्मबल बलियो बनाउने हो भने संक्रमण जित्न सकिन्छ ।