१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ २८ बुधबार २१:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

डब्ल्युएचओले भन्यो- नेपालमा कोरोनाको संक्रमण जोखिम बढ्दै छ, परीक्षणको दायरा बढाऔँ

Read Time : > 1 मिनेट
२०७७ जेठ २८ बुधबार २१:१७:००

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपालमा भारतबाट आएका श्रमिकहरूमा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण अत्यधिक देखिएको र समुदायस्तरमा संक्रमण अझै बढिनसकेको बताएको छ । नेपालका लागि डब्ल्युएचओका प्रतिनिधि जोस भ्यान्डेलेयरले भारत र बाहिरबाट नेपाली आउन बाँकी रहेको तथा समुदायस्तरमा नफैलिएका कारण फैलिने जोखिम रहेको पनि चेतावनी दिएका छन् । 

‘लकडाउनका सम्बन्धमा जेसुकै गरिए पनि जेसुकै भनिए पनि संकट जारी छ । नेपालमा भाइरस बढिरहेको छ । लकडाउन भएको वा नभएको दुवै अवस्थामा यो बढ्ने क्रममै छ,’ डब्ल्युएचओका प्रतिनिधि जोसले बुधबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँगको अन्तर्क्रियामा भने । उनले भारतबाट आएका युवाहरू संक्रमित भएको र उमेरजन्य कारणले पनि मृत्युको संख्या कम भएको पनि तर्क गरे । 

सरकारले लकडाउन गरेका कारण समुदायस्तरमा भाइरस फैलिन नपाएको, तर कोरोनाको  तथा सामाजिक आर्थिक संकटसँग एकैसाथ जुध्नुपर्ने अवस्थासमेत आएको उनको भनाइ छ ।

जोसले संक्रमितहरूको सम्पर्कमा रहेकाहरूसँग अझै द्रुतगतिमा कोभिड– १९को परीक्षण गर्नुपर्ने बताए । उनले व्यक्तिगत रूपमा स्वास्थ्य अनुशासन कायम गरेर मात्रै लकडाउन खुकुलो गर्नुपर्ने अन्यथा भयाभह रूप लिने पनि स्पष्ट पारेका छन् । 

‘यो महामारी र यसको नियन्त्रणको उपाय विश्वका हरेक सरकारहरूका लागि नयाँ अनुभव हो । कम आय भएका मुलुकहरूको श्रेणीमा रहेको नेपाललाई तीस गुणा बढी आय भएका मुलुकहरूसँग तुलना गर्नु सही हुँदैन,’ डब्ल्युएचओका नेपाल प्रतिनिधि जोसले भने, ‘नेपालमा व्यापक रूपमा समुदायस्तरमा संक्रमण बढेको छैन । भारतबाट आएका श्रमिकहरू क्वारेन्टाइनमा छन् र उनीहरूमा धेरैजसो संक्रमण देखिएको छ । सरकारी लकडाउनका कारण कोरोनाको संक्रमण हुन पाएको छैन ।’ 

लकडाउनका कारण विश्वभर परेको नकारात्मक आर्थिक प्रभाव नेपालमा पनि परेको, तर यसले नेपालमा मानवीय जोखिम कम गरेको र नेपाल सरकारले पनि क्षमताअनुसारको राम्रो तयारी गरेको उनको भनाइ थियो । ‘नेपाल सरकारले कोरोना परिक्षण गर्ने क्षमता यसबीचमा बढाएको छ । कोरोनाका लागि बेग्लै अस्पताल तोकिएको छ । स्वास्थ्यकर्मीसहित सरोकारवालाहरुलाई तालिम दिइएको छ,’ जोसले भने, ‘सुरुवाती चरणमै उल्लेख्य तयारी हुनुपर्थ्याे भन्ने अपेक्षा सही हो । तर, सोचिएजस्तो आदर्श तयारी कसैले पनि गर्न सक्दैन ।’ उनले नेपाल सरकारलाई क्वारेन्टाइनको गुणस्तरमा सहयोग र सल्लाह दिइरहेको पनि बताए । 

जोसका अनुसार महामारीबाट विश्वमा पर्ने प्रभावको अझै पनि मूल्यांकन गर्न अप्ठ्यारो भइरहेको उल्लेख गर्दै यसलाई स्वास्थ्य मात्र नभएर सामाजिक आर्थिक रूपमा पनि मूल्यांकन गर्नुपर्छ । 

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि भ्यालरी जुलियान्डले अहिलेको परिस्थितिलाई सामाजिक, आर्थिक प्रभावसहितको महामारीका रूपमा बुझ्नुपर्ने बताइन् । ‘कोरोनाले नेपालमा पार्ने सामाजिक, आर्थिक प्रभावको मूल्यांकन हामीले गरिरहेका छौँ । अन्तर्राष्ट्रिय समुदायले गरेको मूल्यांकनका आधारमा हामी भविष्यमा नेपाललाई सहयोग पुग्ने गरी रणनीति तयार गर्छौँ।’ भ्यालरीले भनिन् ।