१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राज सरगम काठमाडाैं
२०७७ जेठ १७ शनिबार ०७:२०:००
Read Time : > 3 मिनेट
सप्तरंग

संकटमा सिनेमा हल

Read Time : > 3 मिनेट
राज सरगम, काठमाडाैं
२०७७ जेठ १७ शनिबार ०७:२०:००

सिनेमा हलहरूका भित्तामा नयाँ फिल्मका पोस्टर नटाँसिएको ६८ दिन पुग्यो । सिनेमा हल, सहरका चोक, पर्खाल र बिजुलीका पोलमा सातामा चारवटासम्म फिल्मका पोस्टर टाँगिन्थे । त्यो रौनक अहिले छैन । कोभिड–१९ को महामारीका कारण संकटमा परेका छन्, सिनेमा हल र तिनका सञ्चालक । भौतिक दूरी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण तत्काल सिनेमा घरहरू सञ्चालनमा आउने सम्भावना छैन । ‘कोरोना भाइरसका कारण सिनेमा हेर्ने संस्कृति हराउने छैन । तर, दर्शक विगतमा जस्तो हलसम्म पुग्लान् भन्ने विश्वास छैन,’ गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक निरक पौडेल भन्छन् ।

हालै डेनमार्कले दर्शकबीच दुई मिटरको दूरी कायम गर्दै २२ मेदेखि सिनेमा घर, संग्रहालय, आर्ट ग्यालरी र चिडियाखाना खोल्न अनुमति दिएको छ । नेपालमा भने त्यस्तो कुनै तयारी सुरु भएको छैन । किनकि, कोरोना भाइरसका संक्रमित बढ्दो क्रममा छन् । र, लकडाउन तत्काल खुकुलो बन्ने सम्भावना कमजोर देखिन्छ । लकडाउन खुकुलो भइहाले पनि मानिसको भिडभाड रहने सिनेमा घरहरू सञ्चालनमा ल्याउन सरकारले अनुमति दिने सम्भावना देखिँदैन ।

देशभरि एक सय ९१ वटा सिनेमा हल छन् । सिनेमा हलमा भिड जति बढ्थ्यो, व्यापार त्यति नै राम्रो हुन्थ्यो । पछिल्लो समयमा देशभरका सहरमा मल्टिप्लेक्सको लहर नै चलेको थियो । क्युएफएक्स ब्रान्डमा मात्र देशभर २७ वटा पर्दा सञ्चालनमा थिए । तिनमा करोडौँ लगानी भएको छ । काठमाडौंमा मात्र होइन, पोखरा, वीरगन्ज, विराटनगर, इटहरी, बुटवल, नेपालगन्जलगायत प्रमुख सहरमा धमाधम मल्टिप्लेक्स खुल्दै थिए । प्रविधि पनि अपग्रेड हुँदै ‘टु–के’ बाट ‘फोर–के’मा फड्को मार्दै थियो ।

लकडाउन खुकुलो हुँदै गयो भने ४० प्रतिशत सिटका लागि मात्र हल चलाउन सञ्चालकहरू तयार हुँदा बिस्तारै दर्शक बढाउन सकिने वितरकहरूको ठम्याइ छ ।

ती सिनेमा घरहरूमा बैंकहरूको करोडौँ लगानी छ । ‘सिनेमा उद्योग डुब्नु भनेको बैंकहरूको करोडौँ लगानी डुब्नु हो,’ फिल्म निर्देशक तथा डिजिटल सिनेमा नेपालका कार्यकारी अध्यक्ष अशोक शर्मा भन्छन् । उनका अनुसार सिनेमा हलबाट आएको आम्दानीबाट सञ्चालकहरूले किस्ताबन्दीमा ऋण र त्यसको ब्याज बुझाउँदै आएका थिए । ‘सिनेमा हलहरूलाई गोदाम बन्नबाट रोक्न सरकारले चलचित्र उद्योगका लागि राहत प्याकेज ल्याउनुपर्छ । र, कम ब्याजदरमा ऋण उपलब्ध गराउन सक्नुपर्छ,’ शर्मा भन्छन् ।

सस्तो ब्याजदरमा ऋण नै तत्कालका लागि सिनेमा हलहरूमा रहेको लगानी डुब्न नदिने उपाय भएको पुष्पाञ्जली हलका सञ्चालक तथा चलचित्र वितरक गोपालकाजी कायस्थ बताउँछन् । भन्छन्, ‘र, राज्यले विभिन्न करबाट सिनेमा हल सञ्चालकहरूलाई मुक्ति दिनुपर्छ । त्यसो हुन सकेन भने यो उद्योग धराशयी हुनेछ ।’

गोपीकृष्ण मुभिजका सातवटा पर्दामा दैनिक चारवटा सो चल्थे । राम्रा सिनेमा चलेको समयमा दैनिक १० हजारसम्म दर्शक पुग्थे । ‘अब त्यसरी दर्शक आउने आशा कम छ,’ पौडेल भन्छन् । उनी यतिवेला हल सञ्चालकहरूमा धैर्यको आवश्यकता देख्छन् । भन्छन्, ‘२५ वर्षदेखि चलाउँदै आएको हल दुई–तीन वर्ष चलेनन् भने पनि गोदाम बनाउने सोच छैन । पर्खिनुको विकल्प छैन ।’

दरबारमार्गनजिकको ‘क्युएस सिनेमा’हलका सञ्चालक राकेश श्रेष्ठ केही आशावादी देखिन्छन् । कोभिड–१९ को महामारी नियन्त्रणमा आएको एक वर्षपछि सिनेमा हलहरूमा दर्शक बढ्ने उनको बुझाइ छ । ‘त्यतिन्जेल घाटा त बेहोर्नु छ नै, हल व्यवसायलाई जोगाउन ऋण पनि खोज्नुछ,’ उनी भन्छन् ।

१२ वैशाख ०७२ को भूकम्पपछि दुई वर्ष ठप्पझैँ रहेको सिने उद्योग कोरोनापारिका तीन वर्ष उठ्न नसक्ने निर्माता/निर्देशक आकाश अधिकारीको 
आकलन छ ।

डिजिटल प्लेटफर्ममा सिनेमाहरू रिलिज गर्नेबारे अहिले संसारभर बहस चलिरहेको छ । तर, एकाधबाहेक कुनै निर्माताले त्यसको जोखिम उठाउन सकेका छैनन् । हलिउड, बलिउड, चिनियाँ, कोरियाली, जापानीलगायत कुनै पनि सिने उद्योगमा डिजिटल प्लेटफर्ममा नयाँ फिल्म रिलिज गर्ने जोखिम निर्माताहरूले उठाउन सकेका छैनन् । नेपालका निर्माताहरू पनि तयार भइसकेका सिनेमा हलमै चलाउने मनस्थितिमा देखिन्छन् ।

डिजिटल प्लेटफर्म सानो बजेटका सिनेमाका लागि मात्र उपयुक्त देखिएको निर्देशक शर्मा बताउँछन् । ‘विगतमा पनि ६० प्रतिशत दर्शक मात्रै हलमा आउँथे, ४० प्रतिशतले डिजिटल माध्यमबाटै फिल्म हेर्थे,’ उनी भन्छन् । कोभिड–१९ को महामारीले ६० प्रतिशत दर्शकलाई डिजिटल प्लेटफर्ममा डोर्‍याएको मान्न नेपाली निर्माता÷निर्देशकहरू तयार देखिँदैनन् । तथापि, दर्शकलाई ‘इंगेज’ गराइराख्न डिजिटल प्लेटफर्म पनि विकल्प भएको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक पौडेल बताउँछन् । भन्छन्, ‘किनकि, फिल्म हेर्ने संस्कृति हराउन दिनुभएन ।’

कुन हलमा कुन फिल्म चल्छ अनि कस्ता दर्शक आउँछन् भन्ने विश्लेषणका आधारमा फिल्म चलाउने अनेक जुक्ति लगाउने वितरकहरू अहिले फुर्सदमा छन् । वितरक गोविन्द शाही विगतको बाक्लो चहलपहल तत्काल फर्किने सम्भावना कम देख्छन् । लकडाउन खुकुलो हुँदै गयो भने ४० प्रतिशत सिटका लागि मात्र हल चलाउन सञ्चालकहरू तयार हुँदा बिस्तारै दर्शक बढाउन सकिने उनको बुझाइ छ ।

‘आरआर फिल्म प्रोडक्सन’का रोहित कट्टेल ठूलो लगानीका सिनेमा ठूला वितरक कम्पनीले नै लिने र सानो बजेटका फिल्महरू डिजिटल प्लेटफर्मतिर जाने वातावरण तयार हुने सम्भावना देख्छन् । ‘म यस्तो गीत गाउँछु–२’, ‘प्रेमगीत–३’लगायत सिनेमा कोभिड–१९ को त्रास सकिएर सिनेमा हल खुल्ने प्रतीक्षामा छन् । केही सिनेमा आधा छायाँकनपछि रोकिएका छन् । कोभिड–१९ को महामारीपछि राम्रा सिनेमा ल्याएर दर्शक तान्न सकिनेमा निर्देशक दीपेन्द्र लामा आशावादी छन् । तर, निर्माता तथा कलाकार दीपकराज गिरी भन्छन्, ‘डिजिटल प्लेटफर्ममै जानुपर्ने बाध्यता पनि हुन सक्छ ।’ १२ वैशाख ०७२ को भूकम्पपछि दुई वर्ष ठप्पझैँ रहेको सिने उद्योग कोरोनापारिका तीन वर्ष उठ्न नसक्ने निर्माता÷निर्देशक आकाश अधिकारीको आकलन छ ।