१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
जीवन कार्की
२०७७ बैशाख ३० मंगलबार ०८:४६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

महामारीमा कथाबाटै शिक्षा

Read Time : > 3 मिनेट
जीवन कार्की
२०७७ बैशाख ३० मंगलबार ०८:४६:००

युनेस्कोको पछिल्लो अपडेटअनुसार कोरोना महामारीसँग जुध्नका लागि अहिले विश्वका एक सय ९१ देशमा विद्यालय बन्द छन् भने करिब एक अर्ब ७२ करोड बालबालिका विद्यालयबाहिर छन् । सामान्य परिस्थितिमा नेपालमा यति वेला धमाधम शैक्षिक सत्र हुनुपर्ने हो, तर लकडाउनका कारण करिब ८१ लाख बालबालिका घरमै छन् । विद्यार्थीको सिकाइलाई जारी राख्न विश्वभरि विभिन्न खालको अभ्यास तथा अभियान चलिरहेका छन् । त्यसमध्ये कथा सुनाउने पनि एउटा अभियान हो ।

आधुनिक प्रविधि र इन्टरनेटको पहुँचबाट धेरै पर रहेका बालबालिकालाई समेट्न सकिने सबैभन्दा सजिलो तरिका हो, कथा सुनाउनु । विकसित देशमा इन्टरनेट र अन्य धेरै सिकाइका विकल्प हुँदाहुँदै पनि सामाजिक सञ्जालबाट कथा सुनाउने अभियान एकदमै चर्चित भइरहेको छ ।

बालबालिकालाई रमाइलो गरी सिकाउने उद्देश्यले चलाइएका यी अभियानमा चलचित्र कलाकार, गायक–गायिका तथा अन्य सेलेब्रिटी पनि स्वतस्फूर्त सहभागी भइरहेका छन् । जस्तै, यामी यादम्स, जोस गाड, जेनिफर गार्नर, नतालिया पोर्टमन, डली पार्टन यसका अभियन्ता हुन् । साथै, संस्थागत रूपमा पनि गैरसरकारी संस्थाले कथालाई अर्थ संकलन गर्ने एउटा औजारका रूपमा प्रयोग गरिरहेका छन् । उता, युनेस्कोले पनि यो महामारीमा बालबालिकाको सिकाइ र रमाइलोका लागि कथा सुनाउनुलाई प्रमुख उपायका रूपमा सुझाएको छ । 

कथा सुन्ने र छलफल गर्नाले बालबालिकाको मौखिक भाषिक सीप विकास गरी समग्र साक्षरता सीपलाई मजबुत बनाउँछ, साथै तयारीपूर्वक सुनाइने कथा र त्यसपछिको छलफलले बालबालिकाको शब्दभण्डार, उच्चारण तथा बोधको पनि विकास गर्छ।

कथा सुन्ने, सुनाउने अभियान फाट्टफुट्ट नेपालमा पनि सुरु भएको देखिन्छ । ‘स्टोरी टाइम इन नेपाल’, ‘रुम टु रिड’को ‘स्ट्रोरी टाइम’ तथा अन्य व्यक्तिगत रूपमा स्वतस्फूर्त सामाजिक सञ्जालमा कथावाचनका राम्रा अडियो–भिडियो देख्न पाइन्छ । यी अभियान बढी मात्रामा कथा पठनतिर केन्द्रित भएका छन् भने कथाबाट सिकाउन सकिने विभिन्न विषयवस्तुतिर मौन देखिन्छन् ।

कथा पठनका साथै हामीले कथा सुनाउने अभियानलाई सँगसँगै अगाडि बढाउन सकिन्छ । किनभने, कथा सुनाउने काम निरक्षर व्यक्तिले पनि गर्न सक्छन् । साथै, कथा सुनाउँदा कथामा आफ्नो थप कला थपी आवाजमा विविधता ल्याउने, पात्रको क्यारिकेचर गर्ने, नक्कल तथा हाउभाउ थप्ने, साथै कथालाई सरल बनाउन सकिने हुँदा बालबालिकाले पढेकाभन्दा पनि ‘भनेका’ कथा सुन्न बढी रुचाउँछन् ।

कथा सुनाउने परम्परा मानव सभ्यताजत्तिकै पुरानो छ र नेपाली समाजमा पनि कथा सुनाउने र कथा वाचन गर्ने परम्परा रहँदै आएको छ । मानिस साक्षर हुनुअघि र कथाका किताब छापिनु धेरै अघिदेखि नै दन्त्यकथा प्रचलित थिए । कथा सुनाउने परम्पराका साथै हामीकहाँ एक महिना लामो स्वस्थानीका कथा वाचन गर्ने परम्परा थियो र छ । के कुरा प्रस्ट छ भने कथाको त्यो जादु अहिले पनि उत्तिकै शक्तिशाली छ । अहिले पनि हाम्रा बालबालिका कथा सुन्न हुरुक्कै हुन्छन् । 

प्रविधिका माध्यमले कथा सुनाउने वा कथावाचन घरघरमा मात्रै सीमित नभएर असीमित भएको छ । भर्चुअल दुनियाँमा पनि फैलिएको छ । माध्यम जे भए पनि सन्देश महŒवपूर्ण हो । एउटा राम्रो कथा र कथा भन्ने सीप र शैलीले बालबालिकालाई मात्रै होइन, वयस्कलाई पनि मन्त्रमुग्ध बनाउन सक्छ । कथा श्रवण गर्नाले बालबालिकामा एकाग्र भई सुन्ने बानीको विकास हुनुका साथै दिमागलाई सक्रिय बनाउने र कल्पनाशक्ति तथा सोचाइलाई राम्रो बनाउँछ ।

कथाका घटना तथा पात्रलाई आफ्नो जीवनसँग जोडेर हेर्ने क्षमताको विकास हुनुका साथै कथा श्रवणले बालबालिकाको दिमागमा डोपामाइनको मात्रा वृद्धि हुने र स्मरण तन्तु सक्रिय गराई स्मरणशक्ति पनि बलियो बनाउने अनुसन्धानले देखाएका छन् । बालबालिकाको उमेर र तहअनुसार अभिभावकले कथालाई मौखिक भाषिक सीपदेखि स्वतन्त्र लेखन र समस्या समाधानका उपाय सिकाउन प्रयोग गर्न सक्छन् । कथा सुन्ने र छलफल गर्नाले बालबालिकाको मौखिक भाषिक सीप विकास गरी समग्र साक्षरता सीपलाई मजबुत बनाउँछ । अर्कोतर्फ, तयारीपूर्वक सुनाइने कथा र त्यसपछिको छलफलले बालबालिकाको शब्दभण्डार, उच्चारण तथा बोधको पनि विकास गर्छ ।

अर्कोतर्फ, कथालाई बालबालिकामा पढ्ने बानीको विकास गर्ने सुनौलो अवसरका रूपमा प्रयोग गर्न सकिन्छ । प्रारम्भिक तहका बालबालिकालाई मात्र नभएर आधारभूत तथा माध्यमिक तहका बालबालिकालाई पनि उनीहरूको स्तरसुहाउँदा कथा अध्ययन गर्न दिन सकिन्छ । जस्तै, छलफलका प्रश्न, सारांश लेखन, कथामा आधारित स्वतन्त्र लेखन । उनीहरूले यसरी वाचन गरेका कथाको अडियो वा भिडियो रेकर्ड गरेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा राख्न सकिन्छ । यस्ता क्रियाकलापले किताबको जादुलाई नजिकबाट महसुस गर्ने र किताबमै रमाउने अवसर सिर्जना गराउँछ । दूरी कायम गर्नुपर्ने यो अवस्थामा कथाले परिवारलाई अझै नजिक ल्याई पारिवारिक सम्बन्धलाई बलियो बनाउन मद्दत पु-याउँछ ।

त्यस्तैगरी, कथा सुन्ने–सुनाउने बहानामा अभिभावक र बालबालिका सँगै लुटपुटिएर न्यायो माया साट्ने अवसर पनि हो, यो । त्यसैले समयको एउटा हिस्सा कथाका लागि पनि छुट्याऊँ । बालबालिकाको ध्यान टिभी, मोबाइल तथा कम्प्युटरबाट हटाउने हतियार बन्न सक्छ कथा, जुन उनीहरूको आँखा, स्वास्थ्य, मन र मस्तिष्कका लागि फाइदाजनक हो । अभिभावकका साथसाथै अनुभवी र दक्ष व्यक्तिबाट कथा सुनाउने र वाचन गरी जतिसक्दो धेरै सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट प्रसारण गरिनुपर्छ । इन्टरनेटको पहुँच नभएका बालबालिकाका लागि स्थानीय रेडियो तथा टेलिभिजन प्रभावकारी माध्यम हुन् । त्यसैले स्थानीय सरकार, गैरसरकारी संस्था, लेखक, प्रकाशकहरू पनि यसतर्फ लाग्नुपर्छ । त्यसका लागि ओ.एल.ई. नेपालको ई–पुस्तकालय, लिटरेसी क्लाउड, स्टोरी विभर, डिजिटल लाइब्रेरी, लेट्स रिड एसियाजस्ता साइटमा जानुहोस् ।