१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
माइकल चन्द
राज सरगम काठमाडाैं
२०७६ माघ २५ शनिबार १०:३२:००
Read Time : > 2 मिनेट
नयाँCity

अंग्रेजी समाचार वाचनका ब्रान्ड

Read Time : > 2 मिनेट
राज सरगम, काठमाडाैं
२०७६ माघ २५ शनिबार १०:३२:००

सात दशक उक्लिसकेका माइकल चन्द राष्ट्रिय सभागृह हेर्दै टोलाइरहेका थिए । ‘गहिरो टोलाउनुभयो त ?,’ प्रश्न गरेँ । उनी भावुक हुँदै बोले, ‘मन्दिरजस्तो लाग्छ सभागृह । मेरो करियरका दिनहरू सम्झाइदियो ।’

जीवनमा धेरै लाइभ कार्यक्रम सञ्चालन गरेका माइलक १५ वर्षपछि ९ माघमा सभागृहको प्रांगणमा उभिएका थिए । त्यो अवसर ‘सम्झनामा तारादेवी’ कार्यक्रमले जुटाएको थियो । उनले सभागृहको हलमा ६५ पटक अंग्रेजीमा कार्यक्रम चलाएका थिए । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट पनि नेपाल टेलिभिजनको लाइभ कार्यक्रम उनले अंग्रेजीमा सञ्चालन गरे । त्यसैगरी, राष्ट्रिय संस्थान नाचघरमा कैयौँपटक कार्यक्रम चलाए । जसको गिन्ती उनैले बिर्सिए । अंग्रेजी भाषामा कार्यक्रम चलाउने अवसर जुरेको थियो प्रज्ञा प्रतिष्ठानबाट ।

अंग्रेजी साहित्य पढेका माइलकले ‘मास्टर अफ सेरेमोनी’का रूपमा प्रसिद्धि चुलिएसँगै नाचघरमा एमसीकै जागिर पाए । सन् १९७२ तिर राजधानीमै अंग्रेजीमा उल्था गरी बोल्ने मानिसको खडेरीजस्तै थियो । ‘अल नेपाल बिट कन्टेस्ट १९७२’ मा उनले पहिलोपटक अंग्रेजीमा उद्घोषण गरेका थिए । त्यसपछि युगोस्लाभियाका राष्ट्रपति मार्सल टिटो नेपाल आउँदा प्रज्ञा प्रतिष्ठानमा भएको सांस्कृतिक कार्यक्रमको अंग्रेजीमा उद्घोषण गरे । 

त्यो उद्घोषण नै उनको लाइफको टर्निङ पोइन्ट बन्यो । रेडियो नेपालका तत्कालीन महानिर्देशक रामराज पौडेलले उनलाई रेडियो नेपालमा अंग्रेजी समाचारवाचनका लागि भर्ना गरिदिए । त्यतिखेरका दिनहरू सम्झिँदै माइकल भन्छन्, ‘रेडियो छिरेपछि माइकल चन्द रहिनँ । विदेशी ठान्छन् भनेर नामै फेर्नुपर्‍यो ।’

समाचारमा हरिश, जनजिब्रोमा माइकल
रेडियो नेपालमा समाचारवाचनको सुरुवातमा ‘दिस इज रेडियो नेपाल, द न्युज इज रेड बाई माइकल चन्द’ भन्न मन थियो उनलाई । तर, हाकिमले नाम फेर्न लगाए । त्यसपछि माइकलले ‘हरिश’ नाम धारण गर्नुपर्‍यो । रेडियोमा हरिश नाम पाए पनि माइकल चन्द भनेर बढीले चिनेको बताउँदै उनी भन्छन्, ‘अंग्रेजी समाचारबाहेक म माइकल नै थिएँ, हा हा हा...!’

उनलाई रेडियो नेपालमा काम गर्दाका अनुभव ताजै छन् । ‘त्यतिवेला सीमित टेक्नोलोजीमा काम गर्नुपर्थ्यो । जस्तै, टेप रेकर्डमा रेकर्ड गर्नुपर्थ्यो । गीतलाई काट्रेजमा राखिन्थ्यो,’ उनी भन्छन् । 

अंग्रेजी समाचार खोज्न तत्कालीन शाही परिवार स्रोत हुन्थ्यो । राजाका मुभमेन्ट, पञ्चायत पद्धतिका कुराहरू, देश विदेशका समाचार प्राथमिकतामा पर्थे । उनीहरूकै  गुणगाण गर्नुपथ्र्यो । त्रुटि हुनेबित्तिकै कामदारलाई निकालिन्थ्यो । उनी भन्छन्, ‘पञ्चायतकालमा जागिरे जीवन पनि संघर्षमय थियो ।’ 

रेडियो नेपालका तत्कालीन महानिर्देशक रामराज पौडेलले उनलाई रेडियो नेपालमा अंग्रेजी समाचारवाचनका लागि भर्ना गरिदिए । त्यतिखेरका दिनहरू सम्झिँदै माइकल भन्छन्, ‘रेडियो छिरेपछि माइकल चन्द रहिनँ । विदेशी ठान्छन् भनेर नामै फेर्नुपर्‍यो ।’

राजा वीरेन्द्रले बैतडीको पाटनस्थित उदयदेव मन्दिरमा पूजाअर्चना गरेछन् । तर, समाचारमा उदयदेवी भएको रहेछ । उनले त्यसलाई सच्चाउन खोजेका रहेछन् । तर, रिस्क नलिन भनि डर देखाइएछ । उनी ती दिन सम्झँदै भन्छन्, ‘सचिवको एक फोनमा समाचारको स्वरूप नै बदलिन्थ्यो ।’

पञ्चायती शासनमा रेडियो नेपालमा आफैँमा ठूलो संघर्ष थियो । र, तत्कालीन सरकारविरुद्धका समाचारहरू वाचन गर्न पाइँदैन्थ्यो । धेरै महत्वपूर्ण समाचारहरू नियन्त्रित हुन्थे । ती दिन सम्झिँदै माइकल भन्छन्, ‘पञ्चायती सरकार भएकाले धेरै कुराहरूमा लगाम लगाउनुपथ्र्यो, समाचार नै माथिबाट सेट भएर आउँथ्यो ।’

चार सय तलब

जन्मँदै कोही सिकेर आउँदैन । र, जीवनमा कामले काम सिकाउने हो । यस्तै, सिकाइको अनुभव बटुल्न पाएको बताउँछन् माइकल । रेडियो नेपालमा ‘डिसिप्लिन’ सिकेको बताउने माइकल भन्छन्, ‘रेडियो नेपालको सिकाइले हामीलाई ब्याकप गर्‍यो । अहिलेसम्म एड्जस्ट हुन सकियो ।’

रेडियो नेपालमा उनले थुप्रै सहयोगी हातहरू पाए । समाचार कसरी पढ्ने, समाचार कसरी लेख्ने, कन्टेन्ट कसरी छान्ने । यस्ता कुरामा ‘ब्याकपुस’ गरेका थिए तत्कालीन रेडियो नेपालका समाचार प्रमुख प्रचण्डमानसिंह प्रधानले । प्रधानलाई समाचारका आइकन ठान्छन् माइकल । उनी ती दिन सम्झिँदै भन्छन्, ‘ब्रोस्कास्टिङमा जुन मुकाम पाएँ, त्यो उहाँहरूको सहयोगले हो ।’

सकारात्मक बाटोमा डोर्‍याउन सकेमा सफलता पाउन सकिने उनको अनुभव छ । भ्वाइसमा अझै पनि उस्तै चार्म छ । साहित्यलाई बोरिङ मान्दैनन् । राम्रो समाचार वाचनमा साहित्य अध्ययनले सहयोग पुर्‍याउने उनको बुझाइ छ । ‘कमजोर समाचारवाचन हुनुमा अध्ययनको कमी पनि हो,’ माइकल भन्छन् ।

रेडियो नेपालमा ३३ वर्ष करारमा काम गरे । अहिले भने रेडियो नेपाल नपुगेको पनि १४ वर्ष भयो । रेडियोमा काम गर्ने चरणमै अर्थात् सन् १९७३ मा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग सोल्टी होटलमा अन्तर्वार्ता लिए । ली क्वान यू, इमाल्दा मार्कोस, मोहम्मद अर्साद, योहानेस राउ, कोलिन पावल, चन्द्रशेखरसँग उनले रेडियोवार्ता गरे । रेडियो नेपाल मात्रै होइन, नेपाल टेलिभिजनका लागि अंग्रेजी कार्यक्रमहरू उत्पादन गरे उनले । रेडियो नेपाल भर्ना हुँदा चार सय तलब थियो  ।  सन् २००४ मा अवकास हुँदा ६ हजार तलब पुग्यो । 

अहिले रेडियो नेपाल जान छुटे पनि उनी रेडियो नेपालबाट प्रसारण हुने समाचार भने प्रायः सुन्न छुटाउँदैनन् । अहिलेको रेडियो नेपालको अवस्थाबारे उनी केही बोल्न चाहँदैनन । बरु अहिले अंग्रेजी समाचारको स्तर घटेको बताउँछन् उनी । समाचार वाचनमा हुनुपर्ने मेजोरिटी, उच्चारण, टेस्ट, लय नमिलेको बताउँछन् उनी । भ्वाइस तालिमको अभावका कारण त्रुटि देखिएको बताउँदै माइकल भन्छन्, ‘माइक्रोफोनमा अंग्रेजी समाचार बोल्नु र पिपलबोट न्युरोडमा अंग्रेजी बोल्नुमा धेरै फरक छ ।’ त्यही फरकपन बुझेकाले त अहिले पनि अंग्रेजी समाचार भन्नेबित्तिकै माइकल चन्द याद आउँछन् ।