१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दशरथ रंगशालामा बुधबार पुलिसविरुद्ध निर्णायक गोल गरेका रञ्जित धिमाल खुसी मनाउँदै । तस्बिर : ज्ञानेन्द्र कार्की
२०७६ माघ ९ बिहीबार १०:१०:००
Read Time : > 1 मिनेट
खेलकुद

रञ्जितको उत्कृष्ट  फ्रिकिकमा पुलिस स्तब्ध

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार १०:१०:००

५४औँ मिनेटमा मच्छिन्द्रका रञ्जित धिमालले डिबक्सनजिकबाट फ्रिकिकमा एक मात्र गोल गरे

रञ्जित धिमाल मच्छिन्द्र क्लबको डिफेन्स लाइनबाट खेल्छन् । धिमाल खेलको अवस्थाअनुसार एट्याकिङ डिफेन्डरका रूपमा अगाडि बढ्ने गर्छन् । जब एट्याकिङ डिफेन्डरका रूपमा उनी अगाडि बढ्छन्, त्यसवेला विपक्षी टोली दबाबमा परेको देखिन्छ । उनी गोलका लागि अवसर सिर्जना गर्नुका साथै गोल गर्न पनि पछि पर्दैनन् ।

धिमाल बुधबार नेपाल पुलिस क्लबविरुद्ध खुबी देखाउन सफल भए । धिमालकै एक मात्र अचुक फ्रिकिक प्रहारमा पुलिस सहिद स्मारक ए डिभिजन लिगको ५०औँ खेलमा मच्छिन्द्रसँग १–० ले स्तब्ध भयो । पुलिस स्टार खेलाडीले भरिएको मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भयो । मध्यान्तरपछि पुलिसले मच्छिन्द्रको दबाब सामना गरिरहेको थियो । तर, खेलको ५४औँ मिनेटमा धिमालले उत्कृष्ट फ्रिकिक गोल गरे ।

धिमालले सम्भवतः लिगकै उत्कृष्ट फ्रिकिक प्रहार गर्दा पुलिसका गोलरक्षक शत्रुधन चौधरी हेरेको हेर्‍यै भए । अजित भण्डारीले पुलिसको बायाँ डिबक्स लाइनभन्दा अगाडि ह्यान्ड गरेका थिए । यद्यपि, उनले ह्यान्ड गरेको स्थानबाट गोल हुने सम्भावना कम थियो । धिमालले प्रहार गरेको फ्रिकिक घुमारो रूपमा दोस्रो बारमा छिर्‍यो । पुलिसका गोलरक्षक चौधरीले धिमालको फ्रिकिक बुझ्नै सकेनन् । 

धिमालको त्यही गोलमा मच्छिन्द्रले महत्वपूर्ण तीन अंक जोड्यो । अघिल्लो खेलमा तुलनात्मक रूपमा कमजोर क्लब हिमालयन शेर्पासँग २–० ले निराश बनेको मच्छिन्द्रले पुलिसविरुद्ध कठिन जित निकाल्दा राहत महसुस गर्‍यो । यस जितसँगै मच्छिन्द्रले लिगको दोस्रो स्थानमाथि कब्जा जमाएको छ । त्रिभुवन आर्मीले पनि १६ अंक बटुलेको छ । तर, गोलअन्तरमा मच्छिन्द्र दोस्रो स्थानमा रह्यो । आर्मीले एक खेल कम खेलेको छ । 

पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफ्ना गोलरक्षकले स्कुले बच्चाले जस्तै गल्ती गरेको बताएका छन् । गोलरक्षक चौधरीको सामान्य गल्तीका कारण नै पुलिस पराजित भएको प्रशिक्षक थापाले बताए । ‘गोलरक्षकले डिबक्सअगाडिको फ्रिकिक सहजै बचाउन सक्नुपर्ने थियो, त्यति नजिकको फ्रिकिकलाई गोलरक्षकले जज गर्न सकेनन्,’ निराश देखिएका थापाले भने, ‘यो गल्ती स्कुले केटाकेटीको जस्तै हो ।’ मच्छिन्द्रसँग योजनाअनुसार नै खेल भएको उनले बताए । तर, गोलरक्षकको एक गल्तीमा आफूहरूले अंक गुमाएको उनको भनाइ छ । 

‘प्रतिस्पर्धामा हामी योजनाअनुसार नै अगाडि बढिरहेका थियौँ, एउटा सामान्य फ्रिकिकमा हामी पराजित भयौँ,’ उनले भने, ‘यस्तो गल्तीमा अंक गुमाउनुपर्दा निराश छु ।’ प्रतिस्पर्धामा मच्छिन्द्रको दुई गोल अफसाइड भएको थियो । खेलाडीले अफसाइड लाइन ख्याल गर्न नसक्दा मच्छिन्द्रले पुलिसमाथि फराकिलो जित दर्ता गर्न सकेन ।

यद्यपि, प्रतिस्पर्धामा मच्छिन्द्रले आफ्ना स्टार खेलाडीअनुसार प्रदर्शन गर्न सकेन । कप्तान सुजल श्रेष्ठ, अभिषेक रिजाल र सोमिडेजस्ता विश्वासिला फिनिसिङ लाइनका खेलाडी भएको मच्छिन्द्रलाई पुलिसको डिफेन्स तोड्न मुस्किल पर्‍यो । यता दोस्रो हाफमा भोला सिलवाल प्रवेश गरेपछि पुलिसको खेलमा केही मुभ देखियो । यसअघि पुलिसले पनि पहिलो हाफमा त्यति डरलाग्दो मुभ बनाउन सकेको थिएन । पूरै ९० मिनेटमा पुलिसले एकपटक पनि फ्रेममा बल प्रहार गर्न सकेन । 

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले तीन अंक पाउनु नै महत्वपूर्ण भएको जनाए । ‘हामीलाई तीन अंक नै ठूलो हो,’ उनले भने, ‘पुलिसमाथि हामीले जित निकाल्न परिश्रम गर्नुपर्‍यो ।’ कटवालले पछिल्लो समय मच्छिन्द्रको खेल स्वाभाविक नभएको जनाए । ‘प्रत्येक खेलमा स–साना गल्ती भइरहेका छन्, हामी योजनाअनुसार खेल्न सकिरहेका छैनौँ,’ उनले भने, ‘हिमालयनसँगको हारले खेलाडीको मनोबल घटेजस्तो लाग्छ ।’