१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रा.डा. बालमुकुन्द रेग्मी काठमाडाैं
२०७६ असोज १० शुक्रबार ०८:५७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

सुरक्षित औषधि राष्ट्रिय चुनौती

Read Time : > 2 मिनेट
प्रा.डा. बालमुकुन्द रेग्मी काठमाडाैं
२०७६ असोज १० शुक्रबार ०८:५७:००

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हक मानेको छ । राष्ट्रिय स्वास्थ्य नीति ०७६ ले अस्पतालले आफ्नै फार्मेसी सेवा उपलब्ध गराउनुपर्ने नीतिलाई निरन्तरता दिएको छ । नीतिले औषधिको समुचित प्रयोग, अत्यावश्यक औषधिको उत्पादन, आपूर्ति, भण्डारण, वितरणमा ध्यान केन्द्रित गरी सम्बोधन गरिनुपर्ने अबको चुनौती रहेको स्विकारेको छ ।

मापदण्डसहितको गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न स्तरीय स्वास्थ्य जनशक्तिको उत्पादन, औषधि र चिकित्सकीय औजार, उपकरण र सरसामानको गुणस्तरमा जोड दिएको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यसेवा उपलब्धता, स्वास्थ्यसेवी जनशक्ति, स्वास्थ्य सूचना, आधारभूत औषधिमा पहुँच, आर्थिक व्यवस्थापन र संरचनागत नेतृत्वलाई स्वास्थ्य सेवा पद्धतिका ६ वटा खम्बा मानेको छ । यीमध्ये पहिलो चारवटा खम्बा फार्मासिस्टको सहभागिताविना सम्भव हुँदैन ।

जीवन्त स्वास्थ्य प्रणालीमा आधारभूत औषधि ‘वाञ्छित डोजेज फर्ममा, क्रयशक्तिले भ्याउने मूल्यमा, भरपर्दो गुणस्तरमा अटुट रूपमा यथेष्ट मात्रामा’ पाइनुपर्छ । संयुक्त राष्ट्रसंघ विकास समूहको परिभाषामा ‘पहुँच’ भन्नाले ‘घरबाट एक घन्टाको पैदल दूरीभित्र कुनै स्वास्थ्य केन्द्र वा फार्मेसीबाट क्रयशक्तिले धान्ने मूल्यमा अटुट रूपमा औषधिको उपलब्धता’ बुझिन्छ । 

औषधि अनुसन्धान तथा निर्माणमा रहेको प्राविधिक कठिनाइ र औषधि प्रयोगमा हुन सक्ने भुल प्रयोगकर्ताको औषधि सुरक्षासित जोडिएका दुई महत्वपूर्ण सीमा हुन् । युरोपेली आयोगको सन् ००८ को प्रतिवेदनअनुसार बर्सेनि झन्डै दुई लाख युरोपेलीको ज्यान औषधिको प्रतिक्रियाका कारण भएको थियो । औषधि प्रयोगमा भएको भूलबाट धेरै मानिसले खेप्न परेको समस्या र आर्थिक रूपमा सरदर वार्षिक ४२ अर्ब अमेरिकी डलरको क्षतिलाई मध्यनजर गर्दै सन् २०१७ मा विश्व स्वास्थ्य संगठनले ‘हानीविना औषधि’ भन्ने अभियान सुरु ग-यो । सबै रोगमा उत्तिकै प्रभावकारी औषधि उपलब्ध छैनन् । कतिपय रोग सजिलै व्यवस्थापन गर्न सकिनेछन् ।

कतिपय रोगका औषधिमा हामी पछि परेका छौँ । स्वास्थ्य समस्या र तिनको औषधोपचारमा खाडल मुख्यतः तीन किसिमका छन् । पहिलोमा, एन्टिमाइक्रोबियल रेजिस्टेन्स सिर्जना भएका संक्रमण र इन्फ्लुएन्जाको महामारीजस्ता रोग पर्छन्, जहाँ फार्मास्युटिकल औषधि निष्प्रभावी हुँदै छन् । दोस्रोमा, मुटु, रक्तनलीका रोग, एचआइभी/एड्स, डिप्रेसन, मधुमेह, निमोनिया, पखाला, नवजात शिशुका रोग, मलेरिया, क्षयरोग, प्रसूतिपश्चात् रक्तश्राब, डेंगु, रेबिजजस्ता रोग पर्छन् । जहाँ औषधि त उपलब्ध छन्, तर फार्मास्युटिकल पछौटेपन बाँकी छ । तेस्रोमा स्ट्रोक, ओस्टियोआथ्र्राइटिस, आल्त्सहाइमर, श्रवणशक्तिमा क्षय, तल्लो कम्मरको दुखाइ, सिओपिडी आदि पर्छन्, जहाँ रोग निको पार्ने खालका औषधिको विकास हुन सकेको छैन । 

सबैलाई सुरक्षित र प्रभावकारी औषधि उपलब्ध गराउने विषय राष्ट्रिय चुनौती हो, जुन हामीले जित्नैपर्छ ।

चिकित्सकीय परीक्षणका लागि ठूलो धनराशि, लामो समय, दक्ष तथा अनुशासित जनशक्ति आवश्यक पर्छ । हामीले प्रयोग गर्ने धेरैजसो औषधिको ट्रायल पश्चिमी देशका जनतामा भएका छन् । तिनको उचाइ, तौल, वंशाणुगत गुण, खानपिन, वातावरण हाम्रोभन्दा भिन्न छन् । आयातीत औषधि र त्यससित सम्बन्धित ज्ञान हाम्रो हकमा मेल नखान सक्छ । नेपालले औषधि प्रयोगको क्रममा फार्माकोभिजिलेन्स भनिने औषधिप्रति सतर्कता अपनाउन खोजेको छ ।

हाम्रो सन्दर्भमा बजारमा उपलब्ध औषधिको गुणस्तर, औषधि पुर्जी लेखनदेखि वितरण र सेवनसम्म देखाइनुपर्ने सुझबुझ र कुशलता पनि ध्यान दिइनैपर्ने पक्ष हो । नेपालमा अधिकांश औषधि डाक्टर, स्वास्थ्य सहायक वा सम्बन्धित स्वास्थ्यकर्मीको पुर्जीमा मात्र उपलब्ध हुने कानुनी व्यवस्था छ । औषधि वितरण गर्दा सेवाग्राहीको स्वास्थ्यप्रति सचेत रहनु र गैरविवेकपूर्ण औषधि प्रयोग हुन नदिनु फार्मासिस्टको दायित्व भएकाले औषधिसँग सम्बन्धित सबैजसो क्रियाकलापमा फार्मासिस्टको संलग्नता र भूमिका महत्वपूर्ण छ । 

सबैलाई सुरक्षित र प्रभावकारी औषधि उपलब्ध गराउने विषय राष्ट्रिय चुनौती हो, जुन हामीले जित्नैपर्छ । यो अभियानको सफलता सरकार, जनसाधारण, सबै विधाका स्वास्थ्यकर्मी र फार्मासिस्टसमेतको जनस्वास्थ्य, औषधि र फार्मासिस्टप्रतिको दृष्टि र भूमिकामा भर पर्छ । आवश्यकता जनस्वास्थ्य, सेवाग्राही र बिरामीलाई केन्द्रमा राखेर हेर्ने दृष्टिकोणको छ । सबै विधाका स्वास्थ्यकर्मीले हातेमालो गर्दै आ–आफ्नो काम गर्ने पद्धति र प्रतिबद्धताको खाँचो छ । सीमित स्रोतबाट सम्भव हुने भौतिक तथा मानव संसाधनको उत्पादन, व्यवस्था र परिचालनको खाँचो छ ।

(लेखक त्रिविमा फार्मेसी विषयका प्राध्यापक हुन्)