Skip This
केन्द्रीय सडकको सम्पर्कबाट बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङको सम्पर्कविच्छेद
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार o६:४८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

केन्द्रीय सडकको सम्पर्कबाट बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङको सम्पर्कविच्छेद

मालढुुंगादेखि मुस्ताङसम्म ४६ ठाउँ अवरुद्ध, कतिपय ठाउँमा सडक नै बगायो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार o६:४८:oo

बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सडक सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन् । ८ असोजदेखिको लगातार भारी बर्सातले यी जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् । सडक विभागका अनुसार बागलुङ, म्याग्दी र मुस्ताङले प्रदेश राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

सिद्धार्थ राजमार्गको कुश्मा–मालढुंगा खण्डको सहश्रधारस्थित करिब सय मिटर सडक कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेको छ । त्यसले तीनै जिल्लालाई केन्द्रीय सडक सञ्जालबाट बाहिर पु¥याएको छ । बाढीले पर्वत र बागलुङलाई जोड्ने मालढुंगा पुल पनि क्षतिग्रस्त गराएको छ । विशेषगरी मालढुंगा पुलको पर्वततर्फको सडक बगाएको छ । योसँगै बागलुङ र पर्वतको सडक सम्पर्क टुटेको छ । 

यस्तै, पहिरोले बेनी–जोमसोम–कोरला सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । योसँगै मुस्ताङको अन्य जिल्लासँग सडक सम्पर्क पनि टुटेको छ । म्याग्दीको बेनीदेखि दरवाङसम्म पुग्ने सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । बागलुङ–बेनी सडक भने आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । 

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न खण्ड बगायो
बागलुङमा मध्यपहाडी राजमार्गको विभिन्न खण्ड बगाएको छ । सडक डिभिजन बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले मध्यपहाडी राजमार्गका विभिन्न खण्ड बाढीले बगाएको बताए । ‘गोडाबाँधेदेखि गलकोटसम्म धेरै ठाउँमा पहिरो गएको छ । गलकोटदेखि बुर्तिबाङसम्म आइतबार साँझ एकतर्फीमा यातायात सञ्चालन गरिएको छ,’ उनले भने, ‘बुर्तिबाङदेखि निसीखोलासम्मको खण्डमा भने पाँच–सात ठाउँमा सडक बगाएको जानकारी आएको छ । फिल्डमा पुग्न सकिएको छैन ।’ 

कालीगण्डकी करिडोर : मालढुंगा–मुस्ताङखण्डमा ४६ ठाउँमा अवरोध, गैँडाकोट–मालढुंगाखण्डमा आठ ठाउँ अवरुद्ध
सडक विभागका अनुसार कालीगण्डकी करिडोरको मालढुंगा–बेनी–जोमसोम–कोरलाखण्डमा ४६ ठाउँमा सडक अवरुद्ध छ । अधिकांश ठाउँमा लेदोसहितको पहिरो आएको छ । कतिपय ठाउँमा सडक कटान गरेको विभागको भनाइ छ । कतिपय ठाउँमा पहिरो पनि आएको विभागले जनाएको छ । त्यस्तै कालीगण्डकी करिडोरको गैँडाकोट–मालढुंगा खण्डमा आठ ठाउँमा अवरोध भएको छ । पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जैमनीमा पनि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । विभिन्न ठाउँमा भएको अवरोध हटाउने काम भइरहेको सडक विभागको भनाइ छ । 

काठमाडौंसँग जोडिने चार राजमार्ग अवरुद्ध
काठमाडौंसँग जोडिने राजमार्ग पनि अवरुद्ध छन् । पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्ति लोकपथ र काठमाडौं–फाखेल–हटौँडा सडक पनि अवरुद्ध छ । त्यस्तै, दक्षिणकाली–सिस्नेरी–हेटौँडा सडक पनि अवरुद्ध छ । काठमाडौंसँग जोडिने त्रिभुवन राजपथ भने एकतर्फ सञ्चालनमा छ । उता, प्रहरीका अनुसार पृथ्वी राजमार्गको तनहुँखण्ड पनि अवरुद्ध भएको छ । मुग्लिन–पोखराअन्तर्गतका तनहुँको घाँसीकुवा, मौरीभिर, सेराटार, चनपहरालगायतका ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

यी हुन् अवरुद्ध भएका अन्य राजमार्ग
प्रहरीका अनुसार घोराही–रुकुम सहित मार्गको रोल्पास्थित गरगरेखण्ड, मदन भण्डारी राजमार्गको गुल्मीस्थित स्यालबिसौनीखण्ड र रुद्रबिन–वामिटक्सार सडकको गुल्मीस्थित सिस्नेभिरखण्ड अवरुद्ध छ । त्यस्तै, तुलसीपुर–घोराहीखण्ड र सिद्धार्थ राजमार्गको पाल्पाखण्ड पनि अवरुद्ध छ । प्रहरीका अनुसार कर्णाली राजमार्गको कालीकोटस्थित गगने खोला र राप्ती राजमार्गको सल्यानस्थित कपुरकोटखण्ड पनि अवरुद्ध छ । कर्णाली करिडोरको हुम्लास्थित सर्केगार्डखण्ड पनि अवरुद्ध छ । यसैगरी मुगुको नाग्म–गमगढी सडक र बाजुराको साँफे–मार्तडी सडक पनि अवरुद्ध छ । यसैगरी तमोर करिडोरको पाँचथरखण्ड पनि बाढीका कारण अवरुद्ध छ । रसुवाका मुख्य सडक भने १० भदौको बाढीयता नै अवरुद्ध छन् । 

बाढीपहिरोको जोखिमले सुदूरपश्चिमका सबै राजमार्ग बन्द
धनगढीमा तेजराज भट्ट

अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा राजमार्ग बन्द गरिएका छन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएका हुन् ।

सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईका कैलाली, कञ्चनपुर जोड्ने भीमदत्त राजमार्ग शनिबार रातिदेखि बन्द छ । डोटी–डडेलधुरा जोड्ने केआइसिंह राजमार्ग, डडेलधुरा–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बन्द रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अछाम, बाजुरा, बैतडी, दार्चुला, बझाङमा पनि अन्तरजिल्ला यातायात बन्द रहेको प्रदेश ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

बाढीपहिरो जान सक्ने भएकाले सोमबारसम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको उनले बताए । बाढीपहिरोले प्रदेशका विभिन्न राजमार्गसमेत प्रभावित भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरीमा सडक भासिएपछि एकतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्ने बताइएको छ ।

बैतडी–दार्चुला जोड्ने राजमार्ग, डडेलधुरा–डोटी–अछाम जोड्ने राजमार्गका विभिन्न ठाउँमा पहिरो गएर अवरुद्ध भएकोमा आइतबार नै पन्छाएर सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइएको ट्राफिक प्रहरी उपरीक्षक कार्कीले बताए । सात पहाडी जिल्लामा अन्तरजिल्ला यातायात सञ्चालनमा स्थानीय प्रशासनहरूले रोक लगाएको उनले बताए । 
 

↑