मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १२ सोमबार o६:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुलेखानीको जोखिम घट्यो, साइरन बजाइएन, देउराली–सिस्नेरी सडक पुनः सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार o६:५४:oo

लगातारको वर्षापछि बढेको मकवानपुरस्थित इन्द्रसरोवर–कुलेखानी जलाशयको पानीको सतह एक हजार ५२७ मिटर नाघे पनि पानी थपिने गति निकै घटेपछि तत्काल जोखिमको अवस्था नरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ । 

जोखिम घटेसँगै आइतबार साँझदेखि बन्द गरिएको देउराली–सिस्नेरी सडकखण्डमा सोमबार बिहान ६ बजेदेखि सवारी आवागमनसमेत खुलाइएको छ । केन्द्रका अनुसार सोमबार बिहान ६ बजेसम्म जलाशयको पानीको सतह एक हजार ५२७.०७ मिटर पुगेको छ । त्यसअघि बिहान ५ बजे जलसतह एक हजार ५२७.०५ मिटर मापन गरिएको थियो ।

यसअघि जलाशयको सतह एक हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइने जानकारी गराइएको थियो। तर, वर्षा रोकिएसँगै जलसतह बढ्ने गति निकै सुस्त भएको र तत्काल जोखिम नदेखिएकाले साइरन बजाइएको छैन ।

केन्द्रका अनुसार जलसतहको अंक मात्रै नभई पानी थपिने गति, वर्षाको अवस्था र तल्लो तटीय क्षेत्रमा पर्न सक्ने सम्भावित प्रभावसमेत मूल्यांकन गरेर साइरन नबजाउने निर्णय गरिएको हो । तत्काल खतरा नहुँदा साइरन बजाउँदा स्थानीयमा अनावश्यक त्रास सिर्जना हुन सक्ने अवस्थालाई समेत ध्यान दिइएको छ।

जोखिम घटेपछि देउराली–सिस्नेरी सडकखण्डमा सवारी खुलाइयो

कुलेखानी ड्यामको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आइतबार साँझदेखि देउराली–सिस्नेरी सडकखण्डमा सवारी सञ्चालन रोकिएको थियो । रातिको समयमा आकस्मिक रूपमा ड्यामको ढोका खोल्नुपर्ने अवस्था आए उक्त सडकखण्डका केही स्थान जोखिममा पर्न सक्ने भन्दै प्रशासनले पूर्वसावधानी अपनाएको थियो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कुलेखानी जलविद्युत् आयोजनासँग समन्वय गरी सोमबार बिहान ६ बजेदेखि सवारी सञ्चालन खुलाइएको बताए। ‘कुलेखानी ड्याममा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हिजो साँझदेखि रोकिएका सवारीसाधन आयोजनासँगको समन्वयमा आज बिहान ६ बजेदेखि सञ्चालन गरिएको छ,’ प्रजिअ अधिकारीले भने। जलाशयको पानीको सतह एक हजार ५२७ मिटर नाघे पनि वर्षा रोकिएर पानी बढ्ने दर उल्लेख्य रूपमा घटेपछि सडक सञ्चालन गर्न सकिने निष्कर्षमा प्रशासन पुगेको हो।

जलाशयको निगरानी भने जारी

कुलेखानी जलाशयको अधिकतम सतह एक हजार ५३० मिटर हो। पछिल्ला दिनको लगातार वर्षाले पानीको सतह तीव्र रूपमा बढेपछि इन्द्रसरोवर गाउँपालिका र कुलेखानी प्रथम जलविद्युत् केन्द्रले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै चरणबद्ध साइरन चेतावनी प्रणाली सार्वजनिक गरेका थिए ।

हाल तत्काल जोखिमको अवस्था नदेखिए पनि जलाशयको पानीको सतह र वर्षाको अवस्थाको नियमित निगरानी भइरहेको केन्द्रले जनाएको छ । वर्षा पुनः सुरु भए वा जलसतह बढ्ने गति फेरि तीव्र भए अवस्थाअनुसार थप निर्णय तथा चेतावनी जारी गरिने जनाइएको छ।केन्द्रले जलाशय आसपास र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आधिकारिक सूचना र चेतावनीप्रति सतर्क रहन आग्रह गरेको छ ।

↑