Skip This
गुलरिया नगरपालिकाले बनाइदिएको ‘सुरक्षित आवास’ क्षेत्र नै डुबानमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
२o८३ असोज ११ आइतबार १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुलरिया नगरपालिकाले बनाइदिएको ‘सुरक्षित आवास’ क्षेत्र नै डुबानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १७:२९:oo

बर्दियाको गुलरिया नगरपालिका– ८, सर्जु टपरा टोलमा बाढी तथा विपत् प्रभावित परिवारका लागि निर्माण गरिएको सुरक्षित आवास क्षेत्र नै डुबानमा परेको छ। बाढी तथा विपतबाट प्रभावित २७ परिवारका लागि निर्माण गरिएको आवास क्षेत्रमा लगातारको वर्षापछि डुबान भएको हो।

सर्जु टपरा टोलको पानी नलाग्ने क्षेत्रमा बस्दै आएका २७ परिवारलाई अहिले बसिरहेको स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने भन्दै पालिकाले सर्जु नदी तटीय क्षेत्रमा सारेको थियो। बस्ती सार्दा पालिकाले सुरक्षित आवास क्षेत्र भन्दै प्रतिपरिवार एक कट्ठा जग्गा, भान्सासहितको तीनकोठे घर र शौचालय निर्माण गरिदिएको थियो।

बाढी तथा विपतका कारण घरमा क्षति पुगेका र जोखिमपूर्ण अवस्थामा रहेका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले गुलरिया नगरपालिकाले ‘आपत्कालीन जीविकोपार्जन तथा सुरक्षित आवास निर्माण कार्यक्रम’ सञ्चालन गरेको थियो। घर निर्माणका लागि पालिकाले दुई लाख रुपैयाँ, कारितास नेपालले एक लाख ६९ हजार ७१४ रुपैयाँ र समुदायले दुई लाख ६१ हजार ५०६ रुपैयाँबराबर योगदान गरेका थिए। तीनवटै पक्षको योगदानमा घर निर्माण गरिएको हो। पालिकाले सुरक्षित आवास क्षेत्र भनेर सारेको बस्ती नदी तटीय क्षेत्र भएकाले अहिले सुरक्षित आवास क्षेत्र डुबानमा परेको छ।

त्यसबाहेक १७ भूमिहीन सुकुमवासी पनि डुबानको जोखिममा छन्। नदी तटीय क्षेत्रमा निर्माण गरिएको बस्ती नै डुबानको जोखिममा परेपछि बाढी प्रभावित परिवारका लागि बनाइएको ‘सुरक्षित आवास’ असुरक्षित बनेको छ। आपत्कालीन जीविकोपार्जन तथा सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत २०८२ असार १७ गते पुनर्निर्माणको काम सुरु भएको थियो। २०८३ असार १६ गते निर्माण सम्पन्न भएको उक्त आवास क्षेत्र अहिले वर्षाका कारण डुबान भएको हो।

↑