बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ। निसीखोला–३ मा घरमाथिबाट खसेको पहिरोमा परी आमासहित तीन छोराहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३९ वर्षकी श्यामकुमारी विक, उनका छोरा १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। बिहान करिब ५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि घरमा सुतिरहेका उनीहरूको पुरिएर मृत्यु भएको हो।
यसैगरी, बाढीले कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने पक्की पुल बगाएको छ। वर्षाले एक–दुई दिन अघिदेखि नै पुलको आसपासमा क्षति पुर्याएकामा आइतबार बिहान आएको बाढीले पुल बगाएको हो।
पुल बगाएपछि दुई जिल्ला जोड्ने सडक मार्ग बन्द भएको छ। नदीमा पानीको बहाब र सतह बढेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले माइकिङ र सूचनामार्फत रिडी, राम्दी, मालुंगा र चापाकोट क्षेत्रका नदीकिनारका बासिन्दालाई सजग रहन आग्रह गरेको छ।
नदीमा पानीको बहाबसँगै सतह बढेपछि स्याङ्जाको बेल्टारीमा सञ्चालित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको मिर्मीस्थित बाँधका तीनवटै ढोका पूर्ण रूपमा खोलेर विद्युत् उत्पादन बन्द गरिएको छ। बाढीका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमा पर्ने म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा रहेका २१ र २२ नम्बर टावरमा क्षति पुगेको छ। कुश्मा–नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत समस्या आएपछि जोडिएका ३५८.२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ। निलगिरि, राहुघाटलगायत विभिन्न जलविद्युत् आयोजनामा बिजुली उत्पादन अवरुद्ध भएको हो।
कालीगण्डकीको बाढी बस्तीमा पसेपछि पर्वतको जलजला गाउँपालिका–८ फर्सेका २५ घर बगाएको छ। नदीको बहाब बढेर बस्तीमा पसेसँगै रहेका ८० घरमध्ये २५ वटा घर बाढीले बगाउँदा अन्य घरहरू उच्च जोखिममा छन्। यसैगरी बाढीका कारण पर्वतको बिहादी गाउँपालिका–६ तर्फ ३०, स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फका २० घरसमेत डुबानमा परेका छन्।
वर्षापछि मनाङस्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको छ। नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिउँपहिरोका कारण हिमाल आरोहणमा गएका २२ जना (नौ पर्वतारोही र १३ जना सहयोगी) मध्ये १२ जना सम्पर्कविहीन रहेका छन्। उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ।
गोरखाको सहिद लखन गाउँपालिका–७ अन्तर्गत पर्ने गोरखा–घैरुङ सडकखण्डअन्तर्गत अधेरीमा पहिरो जाँदा सडक भासिएपछि सडक माथि र तल रहेका चार घर जोखिममा परेका छन्। गाउँपालिका–३ स्थित सिलिङटार र पृथ्वीराजमार्ग जोड्ने सिलिङटारको झोलुंगे पुल त्रिशूली नदीमा पानीको सतह बढेसँगै मानिस आवतजावत गर्न नमिल्ने अवस्थामा पुगेको छ। चार दिनदेखि लगातार पानी परेपछि पुलको जिपतर्फको भाग भत्कन थालेको छ। लगातारको वर्षापछि चुमनुब्री–३ पैँयुमा पहिरो खस्दा लार्के सडकसमेत अवरुद्ध भएको छ।
यसैगरी, लमजुङको बेँसीसहर नगरपालिका–११, रामचोकबेँसीमा पहिरोले घर पुरिँदा आमा–छोरा घाइते भएका छन्। प्रकाशबहादुर सेढाईंको घरमाथिबाट खसेको पहिरोले घरमा भाडामा बस्दै आएका दोर्दी गाउँपालिका–५ की ३५ वर्षकी बसमाया तामाङ र उनका छोरा ६ वर्षका अमृत तामाङ घाइते भएका हुन्। दुवैजनाको टाउकोमा चोट लागेको छ।
स्याङ्जाका विभिन्न स्थानमा ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। चापाकोट नगरपालिका–१० बायो डाँडास्थित चापाकोट–मिर्दी सडकखण्डमा माथिबाट पहिरो खसेको, गल्याङ नगरपालिका–३ चिन्नेपानीमा सिद्धार्थ राजमार्गमा सडकभन्दा माथिबाट पहिरो खसेको, राजमार्गको तिनधारे, बसपार्क, बर्जा, बगालेथोकस्थित सडकखण्डमा लगातार माथिबाट लेदोसहितको पहिरो खसी बाटो अवरुद्ध भएकामा हाल एकतर्फी सुचारु भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकस्थित प्रहरी चौकी घान्द्रुकको माथिबाट पहिरो खस्दा चौकीको दायाँ साइडमा रहेको भवनको मेसिनरी वालसँगै ब्लक र टिनले बनेको दाउरा राख्ने र खाना बनाउन प्रयोग भएको टिनको छाप्रो पुरिएको छ। पहिरोले क्षति पुर्याएपछि चौकीमा रहेका ६ जना प्रहरी कर्मचारीहरू स्थानीय मुससुभा आमा समूहको भवनमा सरेर बसेका छन्। पहिरोले दैनिक प्रयोग गरिने भन्साका सामग्रीसमेत पुरिएको छ।
यसैगरी, पर्वतको जलजला–७ स्थित लुङ्दी खोलामा पानीको बहाब बढेर प्रहरी चौकी मिलनचोकको खोला किनारको जाली तथा सुरक्षा पर्खाल बगाएसँगै चौकी जोखिममा परेपछि रहेका जिन्सी सरसामानहरू स्थानीय जय पौडेलको घरमा स्थानान्तरण गरिएको छ। यता बागलुङको निसीखोला गाउँपालिका–४, झिवाखोलामा पानीको बहाब बढेपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय झिवाखोलामा कार्यरत ५ जना प्रहरी कर्मचारीहरू हातहतियार, गोलीगठ्ठा र सञ्चारसाधनहरूसमेत लिई निसीखोला–४ को वडा कार्यालय भवनमा सरेका प्रहरीले जनाएको छ।