भाषा मानवजीवनको एउटा अभिन्न अंग हो । बिहान उठेदेखि राति नसुतुन्जेल हामी कुनै न कुनै रूपमा भाषाको प्रयोग गरिरहेका हुन्छौँ । घरमा परिवारसँग कुरा गर्दा, साथीभाइसँग संवाद गर्दा, कक्षाकोठामा पढ्दा, फोनमा कुराकानी गर्दा, सामाजिक सञ्जालमा लेख्दा वा आफ्ना भावना र विचार अरूसामु व्यक्त गर्दा भाषा सधैँ हाम्रो साथमा हुन्छ । सम्भवतः भाषाविना संसार कल्पना गर्न पनि सकिँदैन ।
तर, हामीले बिरलै सोच्ने गर्छौं कि हामीले बोल्ने भाषा कसरी बनेको होला ? हामीले शब्दहरू किन त्यसरी उच्चारण गर्छौं ? वाक्यमा शब्दहरू त्यही क्रममा किन आउँछन् ? एउटै कुरा विभिन्न समुदायले फरक–फरक तरिकाले किन व्यक्त गर्छन् ? अनि कुनै भाषा किन हराउँदै जान्छ ? यिनै प्रश्नको व्यवस्थित र वैज्ञानिक खोज भाषाविज्ञानले गर्छ ।
भाषाविज्ञानलाई कतिपयले अझै पनि ‘भाषा सिक्ने विषय’ वा ‘व्याकरण पढ्ने विषय’का रूपमा बुझ्ने गरेको पाइन्छ । कसैले भाषाविज्ञान पढ्ने विद्यार्थीलाई ‘तिमीलाई कति भाषा बोल्न आउँछ ?’ भनेर सोध्ने गर्छन् । यस्तो प्रश्न स्वाभाविक भए पनि भाषाविज्ञानको वास्तविक क्षेत्र भने त्योभन्दा निकै फराकिलो र बृहत् छ ।
भाषाविज्ञान भनेको मानव भाषाको वैज्ञानिक अध्ययन हो । भाषाको ध्वनि, शब्द, वाक्य, अर्थ, प्रयोग, सामाजिक सम्बन्ध, ऐतिहासिक परिवर्तनदेखि आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्तासम्म यसको क्षेत्र फैलिएको छ । त्यसैले यो लेख भाषाविज्ञान के हो भन्ने भन्दा पनि नेपालमा भाषाविज्ञान किन पढ्ने र भाषाविज्ञान पढेपछि के गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित छ । खासगरी, स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीका लागि अब एमए तहमा के विषय पढ्ने भनेर अलमलिएको अवस्थामा भाषाविज्ञान अध्ययन एउटा राम्रो विकल्प हो र यसको नेपालमा भविष्य छ भनेर सुझाउने प्रयास गरिएको छ ।
किन पढ्ने ?
भाषाविज्ञानले भाषाहरूको वैज्ञानिक तथा व्यवस्थित अध्ययन गर्छ । त्यस अर्थमा नेपालजस्तो बहुभाषिक देशमा भाषाविज्ञानको विशेष महत्व छ । त्यसैले, भाषाविज्ञान अध्ययन गर्नुपर्ने मुख्य कारणलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ:
पहिलो, आफूले बोल्ने र आफू बसेको समाजमा बोलिने मातृभाषा बुझ्न तथा तिनीहरूको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न भाषाविज्ञान पढ्नुपर्छ । हामीमध्ये धेरैले आफ्नो मातृभाषा जन्मेदेखि नै बोल्दै आएका हुन्छौँ । तर, मातृभाषा बोल्न जान्नु र भाषाविज्ञानको हिसाबले त्यसको संरचना बुझ्नु फरक कुरा हो । कुन शब्द कसरी बनेको छ ? शब्दमा प्रत्यय जोडिँदा अर्थ वा व्याकरणिक भूमिका कसरी परिवर्तन हुन्छ ? वाक्यमा शब्दहरूको क्रम कस्तो हुन्छ ? कुनै शब्दको उच्चारण अर्को भाषाभन्दा किन फरक हुन्छ ? यस्ता प्रश्नले आफ्नो भाषालाई अझ गहिराइमा बुझ्न सहयोग गर्छ । आफ्नै मातृभाषालाई भाषावैज्ञानिक दृष्टिकोणबाट अध्ययन गर्दा हामीले आफ्नो भाषाको विशेषता, संरचना र समृद्धिलाई नयाँ ढंगले बुझ्न सक्छौँ । यसले मातृभाषाप्रति चेतना र आत्मविश्वास बढाउँछ । नेपालका धेरै मातृभाषाको पर्याप्त वैज्ञानिक अध्ययन हुन बाँकी रहेको अवस्थामा भाषाविज्ञान पढेर मातृभाषाको अध्ययन अनुसन्धान गर्नु आफैँमा महत्वपूर्ण ज्ञान निर्माण गर्नु हो ।
दोस्रो, भाषिक विविधतालाई बुझ्न र सम्मान गर्न पनि भाषाविज्ञान पढ्नुपर्छ । नेपालको पहिचान केवल हिमाल, पहाड र तराईमा मात्र छैन । हाम्रो पहिचान हाम्रो भाषिक र सांस्कृतिक विविधतामा पनि छ । २०७८ को जनगणनाले १४२ जातजाति र १२४ मातृभाषा पहिचान गरेको छ । विभिन्न समुदायले बोल्ने भाषाका आफ्नै ध्वनि, शब्दभण्डार, व्याकरण र प्रयोगका विशेषता हुन्छन् । तर, हाम्रो समाजमा अझै पनि कुनै भाषा ठुलो र कुनै भाषा सानो, कुनै भाषा शक्तिशाली र कुनै भाषा कमजोर भन्ने धारणा पाइन्छ । भाषाविज्ञानले यस्तो सोचलाई चुनौती दिन्छ । कुनै भाषा धेरै मानिसले बोल्छन् भन्दैमा त्यो भाषिक रूपमा उत्कृष्ट र थोरै मानिसले बोल्ने भाषा कमजोर भन्ने हुँदैन । प्रत्येक भाषाको आफ्नै संरचना र प्रणाली हुन्छ । त्यसैले, भाषाविज्ञान पढ्नु भनेको भाषाबिच श्रेष्ठता खोज्नु होइन, भाषाबिचको विविधता बुझ्नु हो । यसले हामीलाई आफ्नो भाषा मात्र होइन, अरू भाषा, भाषिक विविधता र भाषिक पहिचानलाई पनि बुझ्न र सम्मान गर्न सिकाउँछ ।
तेस्रो, लोपोन्मुख भाषाहरूको अभिलेखीकरण गरी संरक्षण गर्न भाषाविज्ञान पढ्नुपर्छ । बहुभाषिक देश नेपालमा धेरै भाषा संकटमा छन् । २०७८ को राष्ट्रिय जनगणनाले पहिचान गरेको १२४ मातृभाषामध्ये १०८ वटाको ०.५ प्रतिशतभन्दा कम वक्ता छन् । अझ २४ वटा मातृभाषाका वक्ता एक हजारभन्दा कम छन् । भाषा प्रयोग पुस्तान्तरण हुन नसक्दा कतिपय भाषा लोपोन्मुख अवस्थामा छन् । एउटा पुस्ताले प्रयोग गरेको भाषा अर्को पुस्तामा पुग्न नसक्दा भाषाको भविष्य जोखिममा पर्न सक्छ । तसर्थ, एउटा भाषा हराउनु भनेको शब्दहरूको एउटा सूची हराउनु मात्र होइन । त्यस भाषासँग समुदायको इतिहास, मौखिक परम्परा, लोकज्ञान, संस्कार, जीवनशैली, सिप, लोककथा, गीत, उखान–टुक्का र संसारलाई हेर्ने आफ्नै दृष्टिकोण जोडिएको हुन्छ । ती सबै हराएर जान्छन् । त्यसैले, भाषा संरक्षण भनेको संस्कृति र सामुदायिक ज्ञान संरक्षण गर्नु पनि हो । यसका लागि भाषाविज्ञानको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । भाषाविज्ञानले भाषाको ध्वनि, शब्दभण्डार, व्याकरण, मौखिक परम्परा तथा अन्य भाषिक सामग्रीलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न सक्छ । यस्तो कामले भावी पुस्तालाई आफ्नै भाषिक सम्पदासँग जोड्न मद्दत गर्छ ।
चौथो, बहुभाषिक शिक्षा प्रवर्द्धन गर्न भाषाविज्ञानको विशेष भूमिका छ । नेपालजस्तो बहुभाषिक देशमा बहुभाषिक शिक्षा प्रवर्द्धन गर्न पनि भाषाविज्ञानको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालयमा पढ्ने सबै विद्यार्थीको मातृभाषा एउटै हुँदैन । कतिपय विद्यार्थी घरमा एउटा भाषा बोल्छन्, तर विद्यालयमा अर्को भाषामार्फत शिक्षा लिन्छन् । यस्तो अवस्थामा भाषा र शिक्षाबिचको सम्बन्ध बुझ्नु अत्यन्त आवश्यक हुन्छ । विद्यार्थीलाई दोस्रो भाषा सिक्न किन कठिन हुन्छ ? कुन ध्वनि उच्चारण गर्न उसलाई समस्या हुन्छ ? मातृभाषाले दोस्रो भाषा सिकाइमा कस्तो प्रभाव पार्छ ? बहुभाषिक कक्षाकोठालाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? यी प्रश्नको अध्ययन भाषाविज्ञानसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । त्यसैले, मातृभाषामा आधारित शिक्षा, बहुभाषिक शिक्षण, पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन र शैक्षिक सामग्री विकासका लागि पनि भाषावैज्ञानिक ज्ञान आवश्यक पर्छ ।
पाँचौँ, कृत्रिम बुद्धिमत्ताको युगमा भाषाविज्ञान अध्ययनको झन् आवश्यक छ । आज कृत्रिम बुद्धिमत्ता (एआई) हाम्रो दैनिक जीवनको हिस्सा बन्दै गएको छ । हामी मोबाइलमा आवाजबाट खोज्छौँ, बोलेको कुरा लेखमा रूपान्तरण गर्छौं, विभिन्न भाषाबिच स्वचालित अनुवाद गर्छौँ र एआईसँग संवाद गर्छौं । तर, यी सबै प्रविधिको आधारमा एउटा जटिल प्रश्न छ– कम्प्युटरले मानव भाषा कसरी बुझ्छ ? यही प्रश्नले भाषाविज्ञान र प्रविधिलाई जोड्छ । कम्प्युटेसनल लिंग्युस्टिक, नेचुरल ल्यांग्वेज प्रोसेसिङ, भाषा प्रविधि, मेसिन ट्रान्सलेसन र टेक्स्ट एनालाइसिसजस्ता क्षेत्रमा भाषाविज्ञानको ज्ञान आवश्यक हुन्छ । नेपालका लागि यो अवसर अझ ठुलो छ । नेपाली भाषाका साथै नेपालका अन्य मातृभाषालाई पनि डिजिटल संसारमा ल्याउनुपर्ने आवश्यकता छ । डिजिटल शब्दकोश, भाषिक कर्पस र अन्य भाषिक प्रविधिको विकास गर्न भाषाविज्ञान र प्रविधि दुवै बुझ्ने जनशक्ति आवश्यक पर्छ । जुन भाषाविज्ञानले पूर्ति गर्न सक्छ ।
भाषाविज्ञान पढेपछि के गर्ने ?
‘भाषाविज्ञान पढेर के गर्ने ?’ भन्ने प्रश्न अझै पनि धेरै सुनिन्छ । वास्तवमा यो प्रश्न स्वाभाविक छ, किनकि भाषाविज्ञानको रोजगारी र व्यावसायिक सम्भावनाबारे पर्याप्त जानकारी अझै फैलिन सकेको छैन । भाषाविज्ञान पढेपछि अनुसन्धान तथा अध्यापनमा जान सकिन्छ । भाषा अभिलेखीकरण र संरक्षणमा काम गर्न सकिन्छ । अनुवाद तथा दोभाषे सेवा, शब्दकोश निर्माण, सम्पादन, सामग्री लेखन, भाषा नीति तथा योजना र शैक्षिक सामग्री निर्माणमा पनि काम गर्न सकिन्छ । यसका साथै भाषाविज्ञान र कम्प्युटर प्रविधिको सम्बन्ध झन् महत्वपूर्ण हुँदै गएको छ । त्यसैले, भाषाविज्ञान पढ्ने विद्यार्थीले आफ्नो रुचिअनुसार अनुसन्धानसँगै लेखन, अनुवाद, तथ्यांक विश्लेषण, डिजिटल अभिलेखीकरण, कम्प्युटर वा भाषा प्रविधिको सिप विकास गर्न सकेमा आफ्नो सम्भावनाको क्षेत्र अझ फराकिलो बनाउन सक्छ । अहिलेको सूचना, प्रविधि, तथा डाटा साइन्सको युगमा भाषाविज्ञानको अध्ययन थप महत्वपूर्ण छ ।
नेपालको भाषिक विविधता भाषाविज्ञान अध्ययनका लागि आफैँमा ठुलो सम्भावना रहेको छ । तर, विविधता हुनु मात्र पर्याप्त छैन । त्यसलाई अध्ययन, अभिलेखीकरण र संरक्षण पनि गर्नुपर्छ । नेपालका धेरै भाषाको पर्याप्त व्याकरण लेखिएका छैनन् । कतिपय भाषाको शब्दकोश छैनन् । कतिपय भाषाका मौखिक परम्परा व्यवस्थित रूपमा अभिलेख भएका छैनन् । कतिपय मातृभाषामा वक्ताको संख्या घटिरहेका छन् । कतिपय भाषा त लोपोन्मुख अवस्थामा छन् । यस अवस्थामा भाषाविज्ञान केवल विश्वविद्यालयको एउटा अध्ययनको विषय भएर सीमित रहनुहुँदैन । यो भाषिक नीति, शिक्षा, अनुसन्धान, संस्कृति संरक्षण र प्रविधिको हिस्सा बन्नुपर्छ । नेपालमा भाषिक विविधतालाई व्यवस्थित रूपमा बुझ्न, मातृभाषा र शिक्षाबिचको सम्बन्ध अध्ययन गर्न, संकटमा रहेका भाषाको संरक्षण गर्न र वैज्ञानिक भाषिक नीति–निर्माण गर्न भाषाविज्ञान पढेका जनशक्तिको आवश्यकता छ ।
भाषाविज्ञान पढ्न सजिलो मात्र छैन । सुरुमा यसको प्राविधिक शब्दावली र सैद्धान्तिक अवधारणा कठिन लाग्न सक्छ । अनुसन्धानका क्रममा फिल्डवर्क गर्नुपर्ने हुन सक्छ । दुर्गम क्षेत्रमा पुग्नुपर्ने, आर्थिक तथा भाषासम्बन्धी स्रोतसाधन जुटाउनुपर्ने र भाषिक समुदायसँग संवेदनशील ढंगले काम गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैगरी, नेपालका धेरै भाषामा पर्याप्त स्रोतसामग्री उपलब्ध छैनन् । भाषाविज्ञानका धेरै पुस्तक तथा अनुसन्धान सामग्री अंग्रेजीमा छन् । त्यसैले, अंग्रेजी भाषा पनि कतिपय नेपाली विद्यार्थीका लागि चुनौती बन्न सक्छ । त्यसैले, नेपाली भाषामा पनि प्रभावकारी तरिकाले भाषाविज्ञान अध्ययन–अध्यापन गराउन सके भाषाविज्ञान अध्ययनमा नेपाली विद्यार्थीको आकर्षण बढ्नेछ । साथै, नेपालमा धेरै भाषा अनुसन्धान हुन बाँकी छन् । यसको अर्थ नयाँ अनुसन्धानकर्ताका लागि सम्भावना प्रशस्त छन् । कुनै कम अध्ययन भएको भाषाको व्याकरण लेख्नु, शब्दकोश बनाउनु, भाषिक सामग्री अभिलेख गर्नु वा डिजिटल माध्यममा भाषा विकास गर्नु आफैँमा महत्वपूर्ण योगदान पनि हो ।
अब हामीले ‘भाषाविज्ञान किन पढ्ने र पढेर के गर्न सक्छौँ ?’ भन्ने प्रश्नको उत्तर पाउन सक्छौँ । माथि छलफल गरेजस्तै भाषाविज्ञानको अध्ययनले हामी आफ्नो भाषा बुझ्न सक्छौँ, सबै भाषालाई सम्मान गर्न सक्छौँ । नेपालको भाषिक विविधता बुझ्न सक्छौँ, लोपोन्मुख भाषाको संरक्षणमा योगदान गर्न सक्छौँ, बहुभाषिक शिक्षालाई प्रभावकारी बनाउन सक्छौँ, मातृभाषाहरूको नयाँ र तुलनात्मक अनुसन्धान गर्न सक्छौँ र आधुनिक प्रविधिमा आफ्ना भाषालाई स्थापित गर्न सक्छौँ । मातृभाषाहरूको संक्षरणबाट देशलाई समृद्ध बनाउन सक्छौँ । खासमा मातृभाषा र भाषिक विविधताको दृष्टिले नेपाली समाज आफैँमा एउटा भाषिक विश्वविद्यालयजस्तै छ ।
अन्ततः भाषा बुझ्नु भनेको मानिस बुझ्नु हो, मानिस बुझ्नु भनेको समुदाय र समाज बुझ्नु हो । त्यसैले, भाषाविज्ञान केवल व्याकरण पढ्ने विषय होइन । यो हाम्रो भाषा, संस्कृति, पहिचान, इतिहास, ज्ञान र समाजलाई बुझ्ने एउटा महत्वपूर्ण माध्यम हो । नेपालजस्तो बहुभाषिक देशमा भाषाविज्ञान पढ्नु धेरै हिसाबले अर्थपूर्ण छ । किनकि, यहाँ अध्ययन गर्न बाँकी भाषा छन्, अभिलेख गर्न बाँकी ज्ञान छन्, संरक्षण गर्नुपर्ने भाषिक सम्पदा छन् र प्रविधिमा समेटिन बाँकी आवाज छन् । त्यसैले, नेपालमा भाषाविज्ञान पढ्नु भनेको केवल एउटा विषय पढ्नु मात्र होइन, भाषावैज्ञानिक दृष्टिले नेपाली समाजलाई बुझ्नु, अध्ययन अनुसन्धान गर्नु र नयाँ–नयाँ ज्ञान निर्माण गर्नु पनि हो ।
(युरिका त्रिभुवन विश्वविद्यालयबाट भाषाविज्ञान विषयमा एमफिल गर्दै छिन् ।)