अविरल तथा भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भई त्रिभुवन राजपथमा सवारी चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौं आवतजावतका लागि नयाँ समयतालिका लागू गरेको छ।
प्रशासनले आइतबारदेखि मंगलबारसम्म हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौँडा आउने सवारीलाई छुट्टाछुट्टै समयमा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। तोकिएको समयबाहेक त्रिभुवन राजपथमा सवारी प्रवेश नगराउन चालक, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको अत्यन्त जरुरी सूचनामा असोज ८ गतेदेखि परेको अविरल तथा भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथमा मालवाहक तथा यात्रुवाहक सवारीको अत्यधिक चाप परेको उल्लेख छ।
हेटौँडा र काठमाडौंबाट सवारी छुट्ने समय
त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट काठमाडौं जाने सवारीलाई हेटौँडाको चौकीटोलबाट समय मिलाएर पठाइनेछ। असोज ११ गते आइतबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सवारी काठमाडौंका लागि प्रस्थान गर्न पाउनेछन् ।
असोज १२ गते सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म पहिलो चरणमा र राति ९ बजेदेखि असोज १३ गते मंगलबार बिहान १ बजेसम्म दोस्रो चरणमा हेटौँडाबाट काठमाडौंका लागि सवारी सञ्चालन गर्न पाइनेछ। त्यसैगरी, असोज १३ गते मंगलबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म मात्रै हेटौँडाबाट काठमाडौंका लागि सवारी सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ। काठमाडौं हुँदै हेटौँडा आउने सवारीका लागि सिमभन्ज्याङ चौकीलाई प्रवेश विन्दु तोकिएको छ ।
प्रशासनका अनुसार असोज ११ गते आइतबार राति १० बजेदेखि असोज १२ गते सोमबार बिहान १ बजेसम्म काठमाडौंबाट हेटौँडातर्फ आउने सवारीलाई सिमभन्ज्याङबाट प्रवेश दिइनेछ। असोज १२ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म र असोज १३ गते मंगलबार बिहान ६ बजेदेखि ११ बजेसम्म काठमाडौं–हेटौँडा सवारी सञ्चालन गर्न पाइनेछ। यसरी दुईतर्फी सवारीलाई एउटै समयमा सञ्चालन नगरी फरक–फरक समय छुट्याएर राजपथको सवारीचाप व्यवस्थापन गर्न खोजिएको हो।
ठुला मालवाहक सवारीलाई रोक
जिल्ला प्रशासन कार्यालयले त्रिभुवन राजपथमा ठुला मालवाहक सवारीको सञ्चालनमा विशेष प्रतिबन्धसमेत लगाएको छ। अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्काभन्दा बढी र १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा पूर्ण रूपमा निषेध गरिएको प्रशासनको सूचनामा उल्लेख छ ।
यात्रुवाहक सवारीका हकमा भने ११ मिटर लम्बाइसम्मका सवारीले मात्रै उक्त राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। पृथ्वी राजमार्ग र कान्ति लोकपथमा वर्षा, पहिरो तथा सडक क्षतिका कारण आवतजावत प्रभावित भएपछि हेटौँडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग त्रिभुवन राजपथमा सवारीको चाप बढेको छ।
साँघुरो र घुमाउरो सडकमा एकैपटक दुवैतर्फ सवारीको चाप बढ्दा जाम तथा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले समय विभाजन गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले चालक, यातायात व्यवसायी तथा यात्रुलाई निर्धारित समयतालिका पालना गरी मात्रै यात्रा गर्न आग्रह गरेको छ।