पर्वतको जलजला गाउँपालिका– ८, फर्सेमा कालीगण्डकी नदीको कटान र बाढीका कारण ६६ घर पूर्ण रूपमा बगेका छन्। थप २३ घर उच्च जोखिममा परेका छन्।
उच्च जोखिममा रहेका घरहरूमा बस्नसमेत नमिल्ने अवस्था भएपछि ती घरका सरसामान तथा महत्त्वपूर्ण सामग्रीहरू सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वतसहित अन्य सुरक्षा निकायका सुरक्षाकर्मीहरू निरन्तर उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यक उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
नदीको कटानका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले स्थानीयवासीलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।