मनाङमा आएको बाढीले सदरमुकाम चामेसहित विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्याएको छ। बाढीले चामेबजारका कम्तीमा चार घर र चारवटा पुल बगाएको छ भने मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिका सञ्चारसम्पर्कविहीन भएका छन्।
शनिबार राति ठाडो खोलामा आएको बाढीले चामे गाउँपालिका क्षेत्रमा चार घर बगाएको हो। अन्य केही घरमा समेत क्षति पुगेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले जानकारी दिए। उनका अनुसार चामेबजारबिचको घट्टेखोलामा रहेको पुल, कोतोबाट चामे जोड्ने तिर्चुङाल्डा पुल, नयाँबजारतर्फको पुललगायत चारवटा पुल बाढीले बगाएको छ। पुल बगेपछि स्थानीयको आवतजावत प्रभावित भएको छ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार नासों गाउँपालिकामा सडक तथा झोलुंगे पुलमा क्षति पुगेको छ भने चामेमा पुल र घरहरू बगेका छन्। बाढीका कारण माथिल्लो मनाङका मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकासँग सञ्चारसम्पर्क हुन नसकेको उनले बताए। हालसम्म बाढीबाट मानवीय क्षति भने नभएको प्रजिअ खनालले जानकारी दिए।

यसैबिच, मर्स्याङ्दी नदीमा आएको बाढीले नासों गाउँपालिका– १ स्थित तालगाउँमा समेत क्षति पुर्याएको छ। करिब ६५ घरधुरी रहेको तालगाउँका ११ घर पूर्ण रूपमा डुबानमा परेका छन् भने अन्य केही घरमा समेत बाढी पसेको छ।
मर्स्याङ्दीले गाउँको दुवैतर्फको सडक कटान गरेपछि तालगाउँको बाहिरी क्षेत्रसँगको आवागमन प्रभावित भएको छ। वडाध्यक्ष मीनराशि गुरुङका अनुसार सिरानताल हुँदै मनाङतर्फ जाने सडक र बेंसीसहर–चामे सडकखण्ड दुवैतर्फ नदीले कटान गरेको छ। बाढीका कारण मनाङमा सडक, पुल, विद्युत् र सञ्चार संरचनामा क्षति पुगेपछि यातायात तथा मानिसको आवतजावत प्रभावित भएको छ।