सन् १२९० : चीनको चिहली खाडीमा गएको भूकम्पमा झन्डै एक लाख मानिसको मृत्यु ।
सन् १५९० : पोप अर्बन सप्तमको पोप चुनिएको १३औँ दिनमा आजकै दिन निधन । उनी हालसम्मको इतिहासका सबैभन्दा छोटो समयका पोप हुन् ।
सन् १८२१ : अगस्टिन डे इटुरबिइदको नेतृत्वमा रहेको मेक्सिकन क्रान्तिकारी फौज मेक्सिको सिटी प्रवेश गरेसँगै इटुरबिइदले मेक्सिको स्वतन्त्र भएको घोषणा गरे । योसँगै मेक्सिकोमा स्पेनिस औपनिवेशिक शासनविरुद्ध जारी संग्राम अन्त्य भयो ।
सन् १८२२ : फ्रेन्च प्राज्ञ जँ–फ्रान्स्वा च्यामपोलियनले रोसेटा सिलोटमार्फत प्राचीन इजिप्टेली भाषा सटिक रूपमा आधुनिक भाषामा उल्था गरे । योसँगै अधिकांश प्राचीन इजिप्टेली लेखोट पढ्न सकिने भयो ।
सन् १८२५ : जर्ज स्टेफेनसनले निर्माण गरेको विश्वको पहिलो वाष्प इन्जिनयुक्त रेल ‘लोकोमोसन नम्बर १’ले सार्वजनिक रेलमार्गमा यात्रु बोकेर यात्रा सम्पन्न गर्यो ।
सन् १९६४ : अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्याको अनुसन्धानका लागि गठित ‘वारेन कमिसन’ले केनेडीको हत्यारा ली हार्भे ओसवाल्डले कसैको उक्साहटमा नभई एक्लै हत्या गरेको जनायो ।
सन् १९८८ : म्यानमारको सैन्य तानासाहविरुद्ध लडेर प्रजातन्त्र स्थापनाका लागि भन्दै आङ सान सुकीलगायत अन्य नेताको सक्रियतामा ‘नेसनल लिग फर डेमोक्रेसी’ स्थापना गरियो ।
सन् १९९६ : तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेलगत्तै पूर्वकम्युनिस्ट राष्ट्रपति मोहम्मद नजिबुल्लाहलाई सार्वजनिक स्थलमा क्रूरतापूर्वक हत्या गरे ।
सन् २०१८ : भारतको सर्वोच्च अदालतले विवाहेतर सम्बन्धलाई कानुनी अपराध ठहर गर्ने १५८ वर्ष पुरानो कानुन महिलाविरुद्ध विभेदकारी भएको भन्दै उल्ट्यायो ।
सन् २०२२ : जापान सरकारले दुई महिनाअघि मारिएका देशका पूर्वप्रधानमन्त्री सिन्जो आवेलाई राजकीय अन्त्येष्टिको सम्मान दियो ।