Skip This
कोशीको पर्यटन बजेटमा बेथिति 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Monday, 28 September, 2026
गणेश लम्साल विराटनगर
२o८३ असोज ११ आइतबार ११:o९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोशीको पर्यटन बजेटमा बेथिति 

पर्यटन प्रवर्द्धनका नाममा खेलकुदमा करोडौँ बजेट, भ्रमण वर्षलाई छैन

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार ११:o९:oo

आगामी ०८५ सम्मलाई प्रदेश पर्यटन वर्ष घोषणा गरेको कोशी सरकारले बजेट भने खेलकुदका लागि छुट्याएको पाइएको छ । भ्रमण वर्षलाई बजेटै विनियोजन नगरी पर्यटन प्रवर्द्धनका नाममा खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारले करोडौँ बजेट छुट्याएको हो । यससँगै बजेट खर्चको औचित्यबारे प्रश्न उठेको छ । 

प्रदेशको पर्यटन मन्त्रालयले चालू आवका लागि पर्यटन प्रवर्द्धन गर्न विनियोजन गरेको कुल १२ करोड बजेटमा चार करोडभन्दा बढी रकम खेलकुद प्रतियोगिताका लागि भनेर छुट्याएको पाइएको हो । जबकि, खेलकुद प्रतियोगिता र गतिविधि सञ्चालन गर्न प्रदेशमा छुट्टै खेलकुद विकास बोर्ड सक्रिय छ । सामाजिक विकास मन्त्रालयमातहत रहेको बोर्डले नै कोशीमा सबैखाले खेलकुद प्रतियोगिता आयोजना गर्न अलग्गै करोडौँ बजेट पाउँछ । 

पर्यटन प्रवर्द्धनका कार्यक्रममा खेलकुदका लागि मात्रै बजेट विनियोजन भएको पाइएपछि पर्यटन महाशाखाका कर्मचारी नै छक्क परेका छन् । महाशाखासँग छलफल नै नभएका कार्यक्रम पर्यटन प्रवर्द्धनमा समेटिएको उनीहरूको भनाइ छ । 

पर्यटन महाशाखाका एक कर्मचारीका अनुसार कार्यान्वयन नै नगर्न नसकिने र मन्त्रालयको उद्देश्यभन्दा बिलकुलै फरक खेलकुद कार्यक्रम कसरी सञ्चालन गर्ने भन्नेबारे पनि चिन्ता थपिएको छ । पर्यटनका नाममा खेलकुदका लागि छुट्याइएको बजेट खेलकुद बोर्डलाई जिम्मा लगाउने वा रकमान्तर गराएर भ्रमण वर्षका लागि कार्यक्रम बनाउने भन्ने अन्योलसमेत सिर्जना भएको छ । ‘पर्यटन प्रवर्द्धनसँग सम्बन्ध नै नभएका कार्यक्रम कसले, किन, कुन उद्देश्यले राख्न लगाएको हो, हामी कसैलाई पनि थाहा छैन,’ पर्यटन महाशाखाका एक कर्मचारीले भने । 

तत्कालीन एमाले–कांग्रेस गठबन्धन सरकारमा कांग्रेसका भीम पराजुली पर्यटन, वन तथा वातावरणमन्त्री थिए । उनले नै पर्यटनसँग खेलकुदलाई जोड्ने भन्दै चालू आवमा चार करोड रुपैयाँ खेलकुदका लागि विनियोजन गराएका थिए । 

महाशाखाका अनुसार शैलजा आचार्य खेलकुद प्रतियोगिता, अन्तर्राष्ट्रिय महिला खेलकुद प्रतियोगिता गराउनेदेखि प्रदेशभरि सञ्चालन हुने विभिन्न गोल्डकपलाई पनि बजेट विनियोजन गरिएको छ । एउटै प्रदेशमा खेलकुदका लागि छुट्टै बजेट र संरचना हुँदाहुँदै पर्यटन मन्त्रालयबाट समेत खेलकुदका नाममा रकम विनियोजन गराएर खर्च गरेमा अख्तियारीमा समेत प्रश्न उठ्ने कर्मचारीको भनाइ छ । 

त्यस्तै, खेलकुदबाहेक ज्येष्ठ नागरिक भ्रमण, मातृपितृदेव तीर्थस्थल निर्माणदेखि व्यक्तिगत संघ–संस्थाका लागि समेत बजेट छुट्याइएको पाइएको छ । यो सब कार्यविधिविपरीत भएकाले आफूहरूलाई खर्च गर्न समस्या हुने पर्यटन महाशाखाका कर्मचारी बताउँछन् । 

कोशी सरकारले ०८३ साउनदेखि ०८५ असारसम्मलाई कोशी प्रदेश भ्रमण वर्ष घोषणा गरेको छ । तर, बजेट भने चालू आवका लागि जम्मा १२ कारोड रुपैयाँ विनियोजन गरिएको छ । यता, पर्यटन प्रवर्द्धनको जिम्मेवारी पाएको पर्यटन मन्त्रालयले भने भ्रमण वर्षका लागि कुनै पनि बजेट र कार्यक्रम पाएको छैन । 

त्यस्तै, पर्यटन प्रवर्द्धनका लागि विनियोजन गरिएको बजेट पनि खेलकुद गतिविधि र पूर्वाधार निर्माणमै ठिक्क हुने देखिन्छ । विनियोजित १२ करोड बजेटमध्ये चार करोड त खेलकुद गतिविधिमा छ । बाँकी बजेटमध्ये दुई करोड निर्माण भइरहेका पर्यटन पदमार्गका लागि छुट्याइएको छ । यसबाट पनि बचेको बजेट विभिन्न संघ–संस्था र उद्देश्यविपरीतका गतिविधिका लागि भएकाले खर्च गर्न चुनौती देखिएको छ । 

खेलकुद गतिविधिलाई पर्यटन प्रवर्द्धनसँग जोड्नु गलत नभए पनि समय सान्दर्भिक नहुँदा बजेट कार्यान्वयनमा समस्या भएको पर्यटन महाशाखाको भनाइ छ । ‘प्रदेशभरि खेलकुद प्रतियोगिता आयोजना गर्नु पर्यटन महाशाखाको उद्देश्य नै होइन,’ महाशाखाका प्रमुख कृष्णप्रसाद न्यौपानेले भने । पर्यटनका लागि भन्दै खेलकुदमा विनियोजन भएको चार करोड पाँच लाख बजेट रकमान्तर गराएर भ्रमण वर्षमा कार्यक्रम बनाउने वा खेलकुद बोर्डलाई जिम्मा लगाउने भन्नेबारे छलफल भइरहेको बताए । 

‘महाशाखा खेलकुद गतिविधि सञ्चालन गराउन असमर्थ छ र यो उद्देश्य पनि हैन,’ उनले भने, ‘हामी खेलकुदको बजेट बोर्डलाई जिम्मा लगाउने कि भ्रमण वर्षका लागि कार्यक्रम बनाउने भन्नेमा अन्योल छौँ । अब सरकारले जे निर्णय गर्छ, सोहीअनुसार अगाडि बढ्छौँ ।’ 

प्रदेश सरकारमातहतको पर्यटन वर्ष निर्देशक समितिका सहसंयोजक भवेश श्रेष्ठले खेलसँग सम्बन्धित कार्यक्रममार्फत प्रदेशका विभिन्न गन्तव्यको प्रचार गर्ने उद्देश्यले यस्ता कार्यक्रम राखिए पनि ती समय सार्न्दभिक नभएको बताए । उक्त रकम कि रमान्तर गराउनुपर्ने वा खेलकुद बोर्डलाई जिम्मा लगाउन मन्त्रालयलाई आफूहरूले सुझाव दिएको बताए । ‘पर्यटन प्रवर्द्धनको बहानामा जथाभावी खेलकुद गतिविधि गराउँदा साँच्चिकै पर्यटनका क्रार्यक्रम ओझेलमा पर्छन्,’ सहसंयोजक श्रेष्ठले भने, ‘यसैले सरकारले विनियोजित रकमबारे चाँडै निर्णय गर्नुपर्छ ।’ 

↑