Skip This
प्रतिकूल मौसमले मुस्ताङमा पर्यटक प्रभावित
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
शान्ता कमली काठमाडाैं
२o८३ असोज ११ आइतबार o६:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रतिकूल मौसमले मुस्ताङमा पर्यटक प्रभावित

Read Time : < 1 मिनेट
शान्ता कमली, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार o६:५५:oo

लगातारको वर्षा, हिमपात तथा बाढीपहिरोको जोखिम बढेसँगै हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्र प्रभावित भएको छ । मुस्ताङमा पछिल्लो समय वर्षा र हिमपातको पूर्वानुमानसँगै सडक तथा हवाई यातायात प्रभावित हुने जोखिम बढेको छ । बेनी–जोमसोम–कोरला सडकखण्डमा समेत रातिको समयमा सवारीसाधन सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि पर्यटकको आवागमनमा कमी आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार केही दिनअघिसम्म दैनिक चार हजारभन्दा बढी पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने गरेकामा बिहीबारदेखि उक्त संख्याको करिब २० प्रतिशत मात्रै पर्यटक भित्रिरहेका छन् ।

प्रतिकूल मौसम र यात्रामा आउन सक्ने जोखिमबारे जारी सूचनाका कारण पर्यटक आगमन घटेको हुन सक्ने उनले बताए । पर्यटकको संख्या घटेसँगै मुस्ताङका होटेल तथा पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ । होटेल सुनसान देखिन थालेका छन् भने धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा समेत दर्शनार्थीको संख्या घटेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए ।

यसअघि रसुवाको भोटेकोशीमा आएको बाढीपछि पनि मुस्ताङको पर्यटन प्रभावित भएको थियो । प्रहरीका अनुसार रसुवा बाढीपछि गत साउनको तुलनामा भदौमा मुस्ताङ आउने पर्यटकको संख्या ४९ दशमलव ७८ प्रतिशतले घटेको थियो । यसैबिच, मौसम प्रतिकूलताका कारण पोखरा–जोमसोम हवाई सेवासमेत प्रभावित भएको छ ।

↑