Skip This
अतिवादको मूल्य चुकाउँदै युरोपका मध्यमार्गी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
यानिस भारोउफाकिस
२o८३ असोज ११ आइतबार ११:१८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अतिवादको मूल्य चुकाउँदै युरोपका मध्यमार्गी

Read Time : > 4 मिनेट
यानिस भारोउफाकिस
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार ११:१८:oo
  • आफूलाई व्यावहारिक र मध्यमार्गी ठान्ने दलहरूले युरोपेली इतिहासकै सबैभन्दा जडसूत्रवादी आर्थिक कार्यक्रम लागू गरे

फ्रेडरिक मेर्ज डेढ वर्षभन्दा कम समयदेखि जर्मन चान्सलर छन् । उनको स्वीकृति मूल्यांकन कीर्तिमानी रूपमा न्यून छ । उनको मध्य–दक्षिणपन्थी क्रिस्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी अर्थात् सिडियू (जसले हालै एउटा राज्यमा चुनाव हारेको थियो र अर्कोमा नराम्रोसँग धक्का सामना गर्‍यो) देशभर नै तीव्र गतिमा ओरालो लागिरहेको छ ।

जर्मन सञ्चारमाध्यम अन्य कुनै विषयमा चर्चा वा लेखन गरिरहेका छैनन् । उनीहरू मेर्जले कमजोर चुनावी अभियान चलाएको, सोसल डेमोक्य्राट्ससँगको अलोकप्रिय गठबन्धनमा आफूलाई सीमित पारेको र अति–दक्षिणपन्थी ‘अल्टर्नेटिभ फर जर्मनी’ (एएफडी) ले जस्तो युवामाझ उत्साह जगाउन नसकेको भन्दै आलोचना गरिरहेका छन् । यी सबै कुरा सत्य भए पनि तिनको महत्वभने गौण छ । जर्मनीमा वास्तवमा केवल अहिलेसम्म हाबी रहेको एउटा दल मात्रै समाप्त हुँदै छैन, बरु मध्यममार्गी राजनीतिज्ञको ‘सन्तुलित र प्राविधिक दक्षता भएका व्यक्ति’को छवि पनि भत्किँदै छ । सन्तुलन र क्षमताको यो नक्कली आवरण कायम रहेको तीन दशकपछि अब यो स्पष्ट हुँदै छ कि उनीहरू न त मध्यमार्गी थिए, न त सक्षम नै ।

दुर्भाग्यवश, पहिले बिस्तारै र त्यसपछि हठात् उनीहरूको मुखुण्डो उत्रिँदै छ । अब बहुसंख्यक जनताले उनीहरूको वास्तविक रूप देख्न थालेका छन् । उनीहरू यस्ता कट्टरपन्थी हुन्, जसले निर्दयी भएर त्यस्ता निष्फल र जनविरोधी नीति अघि बढाए, जसले जर्मन समाजको आत्मनिर्भर हुने क्षमतालाई खोक्रो बनाइदिए र देशलाई युरोपेली भूमिमा अनावश्यक युद्धको संघारसम्म पुर्‍याए । एएफडीको उदय रातारात लाखौँ जर्मनहरूमा आएको कुनै अचानकको वैचारिक परिवर्तन वा अधिनायकवादी विचारतर्फको झुकावका कारण भएको होइन । यसको शक्ति बढ्नुको मुख्य कारण वर्षौंदेखिको ‘मितव्ययिताको नीति’ थियो, जसले जर्मन जनतालाई आफ्नो सामाजिक हैसियत गुम्ने र वास्तविक गरिबीको उच्च जोखिमको सामना गर्नुपर्ने अवस्थामा पुर्‍यायो । यो आश्चर्यको कुरा हो कि अति–दक्षिणपन्थीहरू एउटा काल्पनिक ‘स्वर्ण युग’मा फर्किने चाहनालाई चुनावी सुनामीमा परिणत गर्न सफल भए । त्यो यस्तो विगतको चाहना थियो, जसमा ती ‘शंकास्पद’ मानिने मुसलमान, यहुदी वा ट्रान्सजेन्डरको कुनै स्थान थिएन । बर्लिनदेखि पेरिस र लन्डनसम्मको कथा उस्तै छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँको मध्यमार्गी नीतिले फ्रान्सलाई एक्लै अति–दक्षिणपन्थी राष्ट्रपतिको शासन आउने संघारमा पुर्‍याएको छ । उनले फ्रान्सको पुनर्जागरणको वाचा गरे, जुन वास्तवमा असम्भव थियो किनभने जर्मनीसँगको मौद्रिक संघमा आवश्यक लोकतान्त्रिक र राजनीतिक एकताको अभाव छ । उनले अति धनीहरूको सानो समूहलाई कर छुटको सुविधा दिए, जबकि आमजनतालाई काममा जान आवश्यक पर्ने पेट्रोलको खर्च जुटाउन पनि संघर्ष गर्नुपर्ने अवस्था थियो । उनले अवकाशको उमेर बढाएर ६४ वर्ष पुर्‍याए, जबकि गरिब मजदुरको औसत आयु ७२ वर्षभन्दा बढी छैन । उनले आफूले मन नपराएको वा नजिक नभएको कुनै पनि बैंकर भेटेका छैनन् । यस क्रममा उनले कुनै पनि प्रकारको विचलन, सम्झौता वा विकल्पबारेको लोकतान्त्रिक बहसलाई कहिल्यै स्वीकार गरेनन् ।

संयुक्त अधिराज्यमा पनि मध्यमार्गी ‘टोरी–लेबर’को द्वैध–वर्चस्वले उस्तै मितव्ययिताका नीति अपनाएको छ । सन् १९८० को दशकमा कन्जर्भेटिभ प्रधानमन्त्री मार्गरेट थ्याचरले बेलायती उद्योगधन्दामाथि गरेको अन्धाधुन्ध प्रहार र घर तथा आधारभूत सेवालाई वित्तीय नाफाको साधन बनाउने कार्यले बेलायतलाई भयावह असमानताको दलदलमा धकेल्यो । यसले आयातमा आधारित सेवा–अर्थतन्त्रलाई त बढायो, साथै घरजग्गाका धूर्त बिचौलियालाई जन्म दियो ।

तर, बेलायतको कुलीन ‘रेन्टियर’ (अनुत्पादक भाडा वा ब्याजबाट कमाउने) वर्गको यो विजयलाई सुनिश्चित गर्ने काम टोनी ब्लेयरको लेबर सरकारले नै गर्‍यो । उसले सार्वजनिक सम्पत्ति तथा सेवालाई खोक्रो पार्ने क्रमलाई निरन्तरता दिन नवीन उपाय अपनायो, साथै ‘सिटी अफ लन्डन’का बैंकरहरूमाथि रहेका नियमनका बन्धन पूर्ण रूपमा हटायो । स्वाभाविक रूपमा जर्मनी र फ्रान्समा जस्तै बेलायतमा पनि डर र घृणाको राजनीति हाबी हुँदै गइरहेको छ ।

सर्वत्र एउटै प्रक्रिया देखिन्छ, आफूलाई समझदार, व्यावहारिक र मध्यमार्गी ठान्ने दलहरूले युरोपेली इतिहासकै सबैभन्दा बढी जडसूत्रवादी आर्थिक कार्यक्रम लागू गरे । उनीहरूले यस्तो कठोरता, असहमतिप्रतिको असहिष्णुता र लोकतान्त्रिक प्रतिस्पर्धाप्रतिको तिरस्कारका साथ ती कार्यक्रम अघि बढाए कि २०औँ शताब्दीका वास्तविक अतिवादी शक्तिहरूले तिनको विषयवस्तुलाई अस्वीकार गरे पनि तिनको कार्यशैलीलाई भने चिनाए ।

यहाँ ‘अतिवाद’ भन्नाले मेरो तात्पर्य के हो भन्नेबारे म स्पष्ट हुन चाहन्छु, किनकि यो केवल भाषणबाजी वा अलंकार मात्र होइन । कुनै विचारधारा ‘अतिवादी’ हुनुको मुख्य कारण वामपन्थी–दक्षिणपन्थी राजनीतिक दायरामा बहुसंख्यक जनतामाथि त्यसका नीतिको चरम प्रभाव होइन । बरु त्यसले असहमतिलाई कसरी व्यवहार गर्छ भन्ने कुराले नै त्यसलाई अतिवादी बनाउँछ । त्यो कसीबाट हेर्दा दोस्रो विश्वयुद्धको अन्त्ययता युरोपको ‘मध्यमार्गी’ खेमा नै सबैभन्दा चरमपन्थी राजनीतिक शक्ति साबित भएको छ । यसले आर्थिक नीतिलाई निर्वाचनको पहुँचभन्दा बाहिर राख्ने गरी स्पष्ट रूपमा एउटा मुद्रा सङ्घ निर्माण गरेको छ । यसले विद्युत् क्षेत्रका कार्टेलहरूलाई सर्वसाधारण र व्यवसायीलाई लुट्ने छुट दिएको छ । साथै, यसले विकल्प प्रस्ताव गर्ने जोकोहीलाई पनि लोकरिझ्याइँवादी वा ‘युरोपविरोधी’को बिल्ला भिराउने गरेको छ ।

सन् २०१५ मा ग्रिसको अर्थमन्त्रीका रूपमा, मैले युरोपेली मध्यमार्गीको त्यही ‘लापरबाह चरमपन्थ’लाई प्रत्यक्ष अनुभव गर्ने मौका पाएको थिएँ । ग्रिसको वार्षिक कुल गार्हस्थ उत्पादनभन्दा बढी लागत लागेको तर असफल साबित भएको आर्थिक स्थिरीकरण कार्यक्रमको पाँच वर्षपछि, सन् २०१५ को जनवरीमा ग्रिसका जनताले ‘सिरिजा’ पार्टीलाई मतदान गरे । म आफैँ पनि त्यस पार्टीको सदस्य थिएँ । हाम्रो उद्देश्य वित्तीय सर्तमाथि पुनः वार्ता गर्नु थियो । ती सर्त यति हास्यास्पद थिए कि बैंकरहरूले समेत तिनलाई स्वीकार गरेका थिए ।

त्यो मध्यमार्गी खेमाको चरमपन्थको प्रकृति र कारण बुझ्नका लागि जर्मनीका दिवंगत अर्थमन्त्री उल्फगाङ साउब्ले भन्दा राम्रो उदाहरण अरू हुन सक्दैन । सन् २०१५ मा मैले उनीसँगै वार्ता गरेको थिएँ । उनको सम्पूर्ण करियर एउटा डरको वरिपरि केन्द्रित थियो, पेरिसले ‘बुन्डेसब्यांक’ (जर्मन केन्द्रीय बैंक) माथि नियन्त्रण जमाउनेछ र जर्मन मुद्रा ‘ड्युचमार्क’ (को प्रयोग गरेर युरोपभरि फ्रान्सेली शैलीका घाटा–वित्तपोषित नीतिहरू लागू गर्नेछ । सन् १९८९ मा जर्मनीको पुनः एकीकरणका लागि फ्रान्सको सहमति प्राप्त गर्ने क्रममा फ्रान्सेली राष्ट्रपति फ्राँस्वाँ मितराँले जर्मन चान्सलर हेल्मुट कोललाई युरोपेली मौद्रिक संघ र एकल मुद्रा (युरो) का लागि सहमत गराए । त्यसपछि, फ्रान्सेलीहरूले जर्मनीको मुद्रामाथि कब्जा जमाउन नपाऊन् भनेर सुनिश्चित गर्न साउब्ले र बुन्डेसब्यांकले असाधारण सक्रियता देखाए ।

यसमा उनीहरूले वित्तीय संघ, लोकतान्त्रिक राजनीतिक संघ, बैंकिङ संघ र कुनै झट्का अवशोषक नभएको मौद्रिक संघको डिजाइन गरेर सफल भए । खरानी रङको सुट लगाएर शान्त र मिठो स्वरमा बोल्दै ‘यसको कुनै विकल्प छैन’ भनी बारम्बार दोहोर्‍याउने कट्टरपन्थीपन तबसम्म कट्टरपन्थीपनजस्तो देखिँदैन, जबसम्म त्यो विशालस्तरमा असफल हुन थाल्दैन । हालै के परिवर्तन भयो (जसको अपरिहार्य परिणाम निर्वाचनमा देखिने नै छ) भने मध्यममार्गीको अतिवादका कारण निम्तिएको औद्योगीकरणको अन्त्य र आर्थिक गतिहीनतालाई अब बेवास्ता गर्नै नसकिने अवस्था आएको छ । 

सन् २००८ को शरद ऋतुमा जब विश्वव्यापी वित्तीय संकट सुरु भयो, तब हाम्रो ‘क्याल्भिनिस्ट’ मौद्रिक संघले कुनै पनि प्रकारको सुरक्षा–कवचविना नै एक भीषण धक्काको सामना गर्नुपर्‍यो । फ्रान्सेली तथा जर्मन बैंकहरू र युरोजोनका लगभग हरेक सरकारको क्रमिक टाट पल्टिने अवस्था अपरिहार्य बन्न पुग्यो । अनि युरोपका तमाम मध्यमार्गीलाई साथमा लिएर साउब्लेले कस्तो प्रतिक्रिया जनाए त ? उनले आफ्नो अडानलाई अझ कडा मात्र पारेनन्, बरु चरम अधिनायकवादी शैली पनि प्रदर्शन गरे । त्यो यस्तो शैली थियो, जसलाई सन् १९४५ मै युरोपबाट सदाका लागि अन्त्य गरिएको धेरैजसो युरोपेलीले ठानेका थिए ।

(ग्रिसका पूर्वअर्थमन्त्री भारोउफाकिस युनिभर्सिटी अफ एथेन्समा अर्थशास्त्रका प्राध्यापक हुन्)

अलजजिराबाट

↑