भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा एलपी ग्यास पुरानै मूल्यमा बिक्री-वितरण हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबारदेखि आयल निगमले तोकेको प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ नबढाई बिक्री गर्न भनेको हो।
कृष्णभिरमा बाढीले सडक कटान गरेपछि उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषा पुगेर सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गबाट ल्याएर बिक्री-वितरण गर्दै आइरहेका थिए।
उक्त सडक सञ्चालनमा आएसँगै संघले पुरानै मूल्यमा ग्यास बिक्री गर्न व्यवसायीलाई आग्रह गरेको हो। ‘अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक खोली यातायात सुचारु भएसँगै एलपी ग्यासका बुलेटहरू पनि काठमाडाैं आउन थालेका हुनाले उपत्यकामा बजारीकरण गरिरहेका ग्यास उद्योगहरूलाई वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता रहेन,’ संघले विज्ञप्तिमा भनेको छ।
