नापी कार्यालय डिल्लीबजारका नापी अधिकृत डिल्लीबहादुर वली नौ लाख घुससहित पक्राउ परेका छन्। नापी कार्यालयको ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुख वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।
वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउनका लागि अनावश्यक सास्ती दिई घुस माग उजुरीपछि अख्तियारको टोली खटिएको थियो।
घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका– ५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट बुधबार पक्राउ परेका वलीलाई बिहीबार विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको अख्तियारले जनाएको छ।