नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद र जिम्मेवारीप्रति लोभ नभएको बताएका छन्। यद्यपि, पार्टी र राज्यले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठाने जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने देउवाले स्पष्ट पारे।
मंगलबार प्रेस वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन। तर, राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्नेछैन।’
विधिवत् सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ।
देउवाले कथित विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई विभाजन गर्ने गरी अवैधानिक रूपमा अधिवेशन गरे आफू मुकदर्शक भएर नबस्ने प्रस्ट पारेका छन्।