मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २४ बुधबार
  • Saturday, 12 September, 2026
तस्बिर : अमुल थापा /नयाँ पत्रिका
२o८३ भदौ २४ बुधबार १३:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन : मन्त्री यादव

यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थे?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ २४ बुधबार १३:o८:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगी र कर्मचारीतन्त्रको प्रभावका कारण ग्यास आपूर्ति तथा उद्योग क्षेत्र सुधारमा अपेक्षित काम गर्न नसकिएको गुनासो गरेकी छिन्। उनले ग्यासको आपूर्ति सहज बनाउन उद्योगीलाई कडाइ गर्नुपर्ने बताउँदै उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भन्ने धारणा व्यक्त  गरिन् । 

बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले नेपालमा आवश्यकताभन्दा बढी एलपी ग्यास उद्योग सञ्चालनमा रहेको बताइन्। हाम्रोजस्तो देशमा दुईवटाभन्दा बढी ग्यास उद्योग चाहिँदैन भन्दै उनले हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याइन्। 

ग्यास आपूर्ति सहज बनाउन आफूले उद्योगीहरूसँग पटक–पटक आग्रह गरे पनि अपेक्षित सुधार नआएको उनको भनाइ थियो। हात जोडेर  ग्यासको आपूर्ति सहज बनाइदिनुस् भन्दै उद्योगीहरूलाई आग्रह गर्दा पनि समस्या समाधान नभएको उनले  बताइन्। मन्त्री यादवले सरकारभन्दा कर्मचारीतन्त्र शक्तिशाली देखिएको भन्दै प्रशासनिक संयन्त्रमाथि कडा असन्तुष्टि जनाइन्।

‘देश कर्मचारीतन्त्रले चलाएको छ। यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थे ?’ उनले प्रश्न गरिन्। उनले आफूले देश र जनताको हितमा काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट पर्याप्त सहयोग नपाएको गुनासो गरिन्। ‘कर्मचारीले यति दुःख दिएका छन्, म केही गर्न सक्दिनँ। यहाँभन्दा बढी गर्न सक्दिनँ भनेर सिधै जवाफ फर्काउँछन्,’ उनले भनिन्।

मन्त्री यादवले कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा समेत प्रश्न उठाइन्। ‘लोकसेवाको ब्रेन गलत दिशामा लागिरहेको छ। कोही मान्दैन, कोही टेर्दैनन्,’ भन्दै उनले प्रशासनिक संयन्त्रमा सुधार आवश्यक रहेको बताइन्। उद्योगी र कर्मचारीबिचको सम्बन्धप्रति पनि उनले असन्तुष्टि जनाइन्। उद्योगीहरूले आफ्नो हितअनुकूल कुरा राख्दा कर्मचारीबाट समेत त्यहीअनुसारको प्रतिक्रिया आउने गरेको उनको आरोप थियो।

‘उद्योगधन्दा खोल्ने वातावरण बनाउनुपर्छ। उद्योगीको फेवरमा नियम–कानुन बनाइएको छ। धेरै चेन्ज गर्न खोजिरहेकी छु, तर गर्न सकिरहेको छैन,’ मन्त्री यादवले भनिन्।

ग्यास उद्योगको लाइसेन्स वितरण प्रक्रियाप्रति पनि उनले प्रश्न उठाइन्। ‘५८ वटा ग्यास उद्योग किन चाहियो ? करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिएको छ,’ भन्दै उनले विगतमा अनुमति वितरण गर्दा अपनाइएको प्रणालीको समीक्षा गर्नुपर्ने बताइन्।

उनले ग्यास आपूर्ति प्रणालीमा सुधार गर्न उद्योगीमाथि आवश्यक नियमन र कडाइ गर्नुपर्नेमा जोड दिइन्। ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन,’ मन्त्री यादवले भनिन्।