समाचारमार्फत व्यक्तिगत गोपनीयता हननको कसुरमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई जिल्ला अदालत, काठमाडौंले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतले पहिलोपटकका लागि अनुमति दिएको हो।
उनलाई प्रहरीले बुधबार ललितपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको थियो। एक युवतीले दिएको जाहेरीका आधारमा उनलाई प्रहरीले फौजदारी कसुरमा पक्राउ गरेको हो। प्रहरीले बिहीबार उनको कार्यालय र घरमा समेत खानतलासी लिएको छ।
समाचारकै आधारमा फौजदारी कसुरमा पक्राउ गरिएको भन्दै सञ्चारकर्मी तथा सञ्चारआबद्ध संघसंस्थाले विरोध गरेका छन् । यस्ता विषय हेर्ने निकाय प्रेस काउन्सिल नेपाल भएको भन्दै पत्रकार महासंघलगायत निकायले सरकारको आलोचना गरेका छन् ।
उता श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित सर्वाेच्च अदालतमा बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। श्रेष्ठको श्रीमती सरस्वती श्रेष्ठले रित दर्ता गराएकी हुन्।