Skip This
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण २७ बुधबार o८:२२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु 

मोबिलिटीलाई राजस्व उठाउने क्षेत्रका रूपमा मात्रै नहेर्न निजी क्षेत्रको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार o८:२२:oo

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु भएको छ । ३१ साउनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डहरूको सहभागिता रहेको छ ।

मंगलबार कार्यक्रमको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालका लागि सुरक्षित मानिने सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले भने ‘अहिले सडक दुर्घटनाको डरलाग्दो तथ्यांक छ । गत आवमा २९ हजार नौ सय ८८ वटा सवारी दुर्घटना भए । त्यसमा २७ सय सातजनाको मृत्यु र ४७ हजार पाँच सय ५३ घाइते भए । अहिले दैनिक औसतमा ८२ दुर्घटना हुँदा सातजनाको मृत्यु र एक सय ३० जना घाइते हुने रहेछन् । यो तथ्यांक सुन्न पनि नसकिने र भन्न पनि मन नलाग्ने छ । तर, यथार्थ यही हो ।’

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन ऐन ल्याउने तयारी भएको बताए । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबिच सहकार्य आवश्यक रहेको बताइन् । ब्याट्री रिसाइक्लिङ नीति, इथानोल ब्लेन्डिङ, आधुनिक परीक्षण पूर्वाधार र सहायक उद्योगको विकासमा नाइमा सरकारसँग सहकार्य गर्न तयार रहेको उनले बताइन् । पटक–पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको उनले बताइन् । एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको उनले बताइन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई राष्ट्रिय औद्योगिकीकरण, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधारका रूपमा हेरिनुपर्ने बताए । राजस्वको स्रोतका रूपमा मात्रै यो क्षेत्रलाई हेर्न नहुने उनको भनाइ छ । ‘मोबिलिटी कनेक्टिभिटी, ऊर्जा, प्रविधि, वातावरण र अन्ततः आर्थिक विकाससँग जोडिएको छ । तसर्थ, यस क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘साथै, विद्युतीय सवारीसाधनका लागि स्थिर नीति आवश्यक छ ।’ 

नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्र पाण्डेले अटोमोबाइल राजस्वमा उच्च योगदान गर्ने क्षेत्र भएको बताए । साथै, यसले रोजगारी सिर्जनामा पनि उच्च योगदान दिएको उनको भनाइ छ । यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान सात प्रतिशत भएको दाबी गर्दै १२ लाख रोजगारी सिर्जना भएको बताए ।

तीन करोड ८० लाख पर्ने गाडी
मेलामा १८ लाखदेखि तीन करोड ८० लाख रुपैयाँसम्मका गाडी छन् । प्रदर्शनीमा रहेको हेनरी भोल्टसको मोडेल एचको मूल्य १८ लाख ५० हजार पर्ने कम्पनीले जनाएको छ । त्यस्तै, टियागो फेसलिस्टको मूल्य २९ लाख छ । तीन करोड ८० लाख रुपैयाँ पर्ने डेन्जाको बी ८ मोडेलको गाडी सबैभन्दा महँगो मानिएको छ । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडेलका सवारीसाधन सार्वजनिक गरेका छन् । मेलाको पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।