गत १४ साउनमा एक किशोरको ज्यान जाने गरी भएको घटनापछि भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ७४ करोड १३ लाखको क्षति भएको पाइएको छ । गोलबजार क्षेत्रका १५ वटा निजी घर, १८ वटा पसल, व्यवसाय, २८ सवारीसाधन तथा धार्मिक तथा शैक्षिक स्थल गरी ६४ संरचनामा तोडफोड, आगजनी भएको सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले बताए ।
उनका अनुसार पीडितबाट प्राप्त निवेदनका आधारमा गरिएको स्थलगत मुचुल्काको विश्लेषण गर्दा प्रदर्शनको क्रममा ७४ करोड १३ लाख ९० हजारको क्षति पुगेको पाइएको उनले बताए ।
सबैभन्दा बढी क्षति निजी घर तथा व्यापारिक संरचनातर्फ ३४ करोड पाँच लाख ५९ हजार, पसल व्यवसायमा ३३ करोड १७ लाख १२ हजार, सवारीसाधनतर्फ एक एक करोड दुई लाख, धार्मिक तथा शैक्षिक स्थलमा तोडफोड तथा आगजनीबाट पाँच करोड ८१ लाख ९० हजारको क्षति भएको छ ।
निकालियो सद्भाव र्याली
गोलबजार घटनाको १२औँ दिन मंगलबार सामाजिक सद्भाव र्याली निकालिएको छ । उद्योग वाणिज्य संघ गोलबजार र स्थानीय व्यापारी, नागरिक समाजको आयोजनामा ‘हिन्दु, मुस्लिम, बौद्ध, सिख, इसाई आपसमे सब भाइ–भाइ’ भन्ने नारासहित सामाजिक सद्भाव र्याली बजार क्षेत्रमा निकालिएको थियो ।