साढे सात वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेपछि सिंहदरबारस्थित पुतली बगैँचाको संघीय संसद् भवनको निर्माण म्याद सातौँपटक थपिने भएको छ । सार्वजनिक खरिद ऐनको १५औँ संशोधनपछि म्याद थपको बाटो खुलेसँगै निर्माण कम्पनी तुँदी–सेक जेभीलाई थप समय दिन लागिएको सहरी तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताए ।
‘१५औँ संशोधनपछि म्याद थप गर्न सकिने भएको छ । संशोधनअनुसार एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था छ । कामको प्रकृति र प्रगतिका आधारमा थप गर्नुपर्ने समय निर्धारण गरिनेछ,’ श्रेष्ठले बताए ।
निर्माणको ढिलाइका कारण यसअघि छैटौँपटक थपिएको म्याद पनि गत जेठमा सकिएको थियो । त्यसअघि पाँचौँपटक थपिएको म्याद गत वर्ष १६ पुसमा सकिएपछि ९० दिनका लागि म्याद थप भएको थियो । तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यका साथ १ असोज ०७६ मा शिलाल्यान्स भएको संघीय संसद् भवनमा अहिले अस्थायी रूपमा प्रतिनिधिसभा र राष्ट्रिय सभा चलिरहेका छन् ।
पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन संघीय संसद् भवन आयोजनाको लागत पाँच अर्ब ३९ करोड हो । आठवटा ब्लक छन्, जहाँ १२ वटा छुट्टाछुट्टै भवन छन् । जसमा चार सय सिट क्षमताको प्रतिनिधिसभा र सय सिट क्षमताको राष्ट्रिय सभा छ । यी दुवैका बिचमा मुख्य प्रवेशद्वार छ, जसको दाहिनेतिर राष्ट्रिय सभा र देब्रेतर्फ प्रतिनिधिसभा छ ।