Skip This
‘जस नपाएका’ कीर्तिमानी कप्तान रोहित
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
२o८३ श्रावण २७ बुधबार o६:५१:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘जस नपाएका’ कीर्तिमानी कप्तान रोहित

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार o६:५१:oo
  • रोहित पौडेलको नेतृत्वमा नेपालले लगातार जित, उच्च मनोबल र संकटबाट उठेर साहसिक प्रदर्शन गर्ने जग बसालेको थियो, तर नेदरल्यान्ड्सको भ्रमणमा विश्वकप लिग–२ अन्तर्गत चार खेलमा हार सामना गर्दा उनले कप्तानी गुमाए

चार वर्षअघि रोहित पौडेलले कप्तानीको जिम्मेवारी वहन गर्दा नेपाली सिनियर पुरुष टोली संकटमा थियो । त्यसवेला नेपाल आइसिसी विश्वकप लिग २ को शीर्ष पाँचमा समावेश हुने स्थिति थिएन । नेपालको एकदिवसीय मान्यता धर्मराइसकेको अवस्था थियो । रोहित र प्रशिक्षक मोन्टी देसाईबिचको ‘उत्कृष्ट ट्युनिङ र ह्याप्पी ड्रेसिङ’ रुमको मिश्रणमा नेपालले विश्वकप लिग २ अन्तर्गत अन्तिम १२ मध्ये ११ खेलमा सनसनी रूपमा जित निकाल्यो ।

यसै ऐतिहासिक र अद्भूत प्रदर्शनका कारण नेपालले तेस्रो स्थानमात्र रक्षा गरेन, एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा समेत स्थान सुरक्षित गरेको थियो । जहाँ नेपालले आइसिसीको पूर्णसदस्य वेस्ट इन्डिज र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्न अवसर पाएको थियो । रोहितको कप्तानीमा नेपालले चार वर्षअघिको विश्वकप लिग २ मा तेस्रो स्थान गर्दै एकदिवसीय मान्यतासमेत जोगाएको थियो । अहिले समय रोहितको हकमा छैन ।

उनको कप्तानीमा नेपालले सन् २०२७ को एकदिवसीय विश्वकपको रोडम्यापको रूपमा रहेको विश्वकप लिग २ को यात्रा सुरु गर्‍यो । नेपाल अहिले २४ अंकका साथ सातौँ स्थानमा छ । शीर्ष पाँच स्थानमा रहँदै नेपाल एकदिवसीय मान्यता रक्षा गर्ने अवस्थासमेत देखिँदैन । पहिलो रोहितकै कप्तानमा सानदार प्रदर्शन गरेको नेपाल अहिले विश्वकप लिग २ मा ठयाक्कै उल्टो दिशामा हिँड्यो । नेदरल्यान्ड्समा चार खेल गुमाउनु नै रोहितले आफ्नो पद गुमाउनुको प्रमुख कारण बनेको छ ।

नेदरल्यान्ड्सको भ्रमणको असफलताकै कारण क्यानले सोमबार रोहितलाई विस्थापित गर्दै लेग स्पिनर सन्दीप लामिछानेलाई फेरि नेतृत्वको जिम्मेवारी सुम्पिएको हो । संयोग कस्तो रह्यो भने चार वर्षअघि सन्दीप पदबाट हट्दा रोहित नेपाली टोलीका नयाँ कप्तानी बनेका थिए । त्यसवेला बलात्कारको आरोपमा दोषी ठहरिएपछि सन्दीपले कातिक २०७८ सालमा कप्तानी गुमाए ।

उनै सन्दीपले दोस्रोपटक कप्तानी पाउँदा रोहितले पद छाड्नु परेको छ । पदमुक्त भए पनि रोहित एकदिवसीय तथा टी–२० आईका महत्वपूर्ण खेलाडी हुन् । क्रिकेट विश्लेषकहरूले रोहितलाई अहिलेसम्मकै नेपालका सफल कप्तानका रूपमा लिने गरेका छन् । उनी २० वर्ष ७३ दिनमा कप्तान बनेका थिए । कप्तानी जिम्मेवारी लिएको दिनै उनले आफ्नो नाममा रेकर्ड पनि राखे । उनी एकदिवसीय फर्म्याटमा विश्वकै दोस्रो कान्छो कप्तानका रूपमा स्थापित छन् ।

रोहितले आफ्नो कप्तानीमा टोलीलाई दिलाएका ऐतिहासिक उपलब्धिका कारण नै क्यानले उनको प्रशंसा गरेका छन् । क्यानले उनलाई एकपटकका लिडर सदाका लिडर भनेर टिप्पणी गर्दै धन्यवाद सन्देश सम्प्रेषण गरेको छ । ‘राष्ट्रको आशा बोकेर जोश, समर्पण र दृढताका साथ नेपाललाई नेतृत्व गरेकोमा धन्यवाद रोहित । पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा तिम्रो नेतृत्वमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गर्‍याँ र नेपाली क्रिकेट यात्राको गर्विलो हिस्सा बनेका थुप्रै क्षण सिर्जना गर्‍यौँ’ क्यानले भनेको छ ।

विश्वकप र एसिया कप 
रोहितलाई त्यत्तिकै नेपालका सबैभन्दा सफल कप्तान भनिएको होइन । उनीभन्दा अगाडिका कप्तानहरूले प्राप्त गर्न नसकिएका सफलता रोहितले सहजै हात पारे । नेपालले एक दशकपछि आइसिसी टी–२० विश्वकपमा स्थान बनाउँदा उनी नै कप्तान थिए । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा नेपालले उपस्थिति जनाएको थियो । समूह चरणमा नेपाल दक्षिण अफ्रिकासँग केवल एक रनले चुक्यो । दक्षिण अफ्रिकाको जितभन्दा नेपालको प्रशंसा भयो । त्यसपछि सन् २०२६ मा नेपालले पुनः एकपटक टी–२० विश्वकपमा स्थान रक्षा गर्‍यो ।

सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपमा नेपालले ब्याक टु ब्याक खेल्ने अवसर उनले जुराएका थिए । गत मार्चमा मुम्बईको विश्व चर्चित वान्खडे रंगशालामा नेपालले दुईपटकको विजेता इंग्ल्यान्डसँग चारले हार स्वीकार गरेको थियो । नेपालले १० वर्षपछि विश्वकपमा जित निकाल्यो । उनकै कप्तानीमा नेपालले स्कटल्यान्डलाई हराएको थियो । रोहितको सफलता यत्तिमै सीमित छैन । नेपालले पहिलोपटक एसियाकप खेल्न पनि उनी नै कप्तान थिए ।

उनकैे कप्तानीमा नेपालले पहिलोपटक सन् २०२३ मा एसिसी प्रिमियर कपको उपाधि जित्यो । यससँगै नेपालले पहिलोपटक एसिसी एसिया कप खेल्ने मौका पायो । एकदिवसीय ढाँचामा खेलाइएको एसिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता शक्तिशाली क्रिकेट टोलीको सामना गरेको थियो । जहाँ नेपालले एकदिवसीय र टी–२० विश्वकप विजेता शक्तिशाली राष्ट्रसँग अनुभव बटुल्यो । नेपालले भारतविरुद्ध ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक सिरिज
नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्ध गत वर्ष टी–२० आई सिरिज खेलेको थियो । वेस्ट इन्डिजले नेपालविरुद्धको सिरिजमा अनुभवी खेलाडीलाई विश्राम दिएको थियो । तर, नेपालको क्रिकेट इतिहासमा भने वेस्ट इन्डिजसँगको टी–२०आई सिरिज पहिलो र ऐतिहासिक थियो । युएईमा भएको सिरिजमा नेपालले लगातार दुई खेलमा जित निकाली सिरिजमाथि कब्जा जमाएको थियो । अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित भए पनि नेपालले सिरिज हात पार्‍यो । त्यसवेला नेपालको आक्रामक ब्याटिङ, चुस्त फिल्डिङ र धारिलो बलिङबाट वेस्ट इन्डिजका खेलाडी निकै प्रभावित बनेका थिए ।

यू–१९ देखि सिनियर टोलीसम्म
सन् २०१८ मा नेपालले एकदिवसीय मान्यता पाएपछि रोहित १५ वर्ष ३३५ दिनको उमेरमा डेब्यु गरेका थिए । सन् २०१९ मा उनले टी–२०आई डेब्यु पनि गरे । सिनियर टोलीमा रहँदारहँदै उनले यू–१९ को कप्तानी गर्न अवसर पाए ।

सन् २०१९ को अप्रिलमा उनी कप्तानका रूपमा एसिसी यू–१९ एसिया कप छनोटका लागि नेपाली टोलीमा समावेश गरिएका थिए । सोही वर्ष नोभेम्बरमा उनले एसिसी इमर्जिङ टिम्स एसिया कपमा पनि नेपालको कप्तानी गरे । निकै छोटो समयमै उनले क्यानको केन्द्रीय सम्झौतामा आफूलाई समावेश गर्न सफल भए । सन् २०२० सेप्टेम्बरमा उनी र क्यानबिच केन्द्रीय सम्झौता भएको थियो । रोहितको कप्तानीमा नेपालले ६३ एकदिवसीय खेल्दा ३१ खेल जित र ३० खेलमा हारको सामना गरेको छ । दुई खेल भने नतिजाविहीन बन्यो । उनको कप्तानीमा नेपालले ५९ टी–२०आई खेल्दा ३३ जित र २१ हारको नतिजा निकाल्यो । यसैगरी, नेपालले तीन खेलमा टाई र दुई खेल नतिजाविहीन रूपमा निकाल्यो ।

५० ओभरमा दुई हजार रन पूरा गर्ने पहिलो खेलाडी
सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका रोहितले अहिलेसम्म ८८ खेल खेलेका छन् । नेपालको एकदिवसीय इतिहासमा हजार तथा दुई हजार रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन् । उनले ८३ इनिङ्समा ब्याटिङ गरी दुई हजार तीन सय १३ रन बनाएका छन् । यसक्रममा उनले दुई शतक तथा १२ अर्धशतक बनाएका छन् । उनले ५० ओभरमा ४२ चौका र ३० छक्का प्रहार गरेका छन् । यसैगरी, सन् २०१९ मा युएईविरुद्ध टी–२० आईमा डेब्यु गरेका रोहितले अहिलेसम्म ८४ मध्ये ८० इनिङ्समा ब्याटिङ गरेका छन् ।

यस फर्म्याटमा उनले नौ अर्धशतकको सहयोगमा एक हजार आठ सय ४५ रन बटुलेका छन् । उनले लिस्ट ‘ए’ मा १०६ खेलमा दुई हजार ६ सय ३१ रन बटुले । उनले यो फर्म्याटमा दुई शतक तथा १३ अर्धशतकीय इनिङ्स खलेका छन् ।

ब्याटिङमा मात्र उनी सीमित छैनन् । बलिङमा समेत उनी अलराउन्ड भूमिका निर्वाह गर्न सक्छन् । उनले ८८ एकदिवसीयमा ११ विकेट तथा ८४ टी–२० आईमा १४ विकेट हात पारेका छन् । उनको कप्तानीमा नेपालले टी–२० आईमा घरमा १५ र बाहिर १९ खेलमा जित निकालेको थियो । यसैगरी, एकदिवसीयमा नेपालले घरभित्र २२ र घरबाहिर नौ जित निकालेको थियो ।