Skip This
मेरुदण्डको उपचारमा सबै सम्पत्ति सकेका हरीशलाई श्रीमती हराएपछि नाबालक हुर्काउन समस्या
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
छतबाट खसेर मेरुदण्ड भाँचिएर र अण्डाशयमा चोट लागेपछि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गरी घरमै बस्दै आएका बैतडीका दशरथचन्द नगरपालिका– ९ का हरीश भुल
२o८३ श्रावण २७ बुधबार o८:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेरुदण्डको उपचारमा सबै सम्पत्ति सकेका हरीशलाई श्रीमती हराएपछि नाबालक हुर्काउन समस्या

उजुरी दिन जाँदा प्रहरीबाट दुर्व्यवहार भएको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार o८:५४:oo

लामो समयदेखि मेरुदण्ड र अण्डाशयको उपचार गराइरहेका बैतडीको दशरथचन्द नगरपालिका– ९ का हरीश भुललाई थप उपचार मात्रै होइन, साँझ बिहान के खाने भन्ने चिन्ताले सताइरहन्छ । दुई वर्षअघि छतबाट खसेर उनको मेरुदण्ड भाँचिएको थियो । अण्डाशयमा पनि गम्भीर चोटपटक लागेपछि नेपाल र भारतका आधा दर्जन अस्पताल पुगेर उपचार गराउँदा उनको सबै सम्पत्ति सकिएको छ । ‘अब थप उपचार गर्न सक्ने अवस्था छैन,’ ३३ वर्षीय हरीश भन्छन्, ‘उपचारमै सारा सम्पत्ति सकियो, अब त खान–लाउनै समस्या भएको छ ।’

हरीश कञ्चनपुर गएका वेला छतमा रहेको पानीट्यांकी सफा गर्दै थिए । बिजुलीको करेन्ट चुहावट भएर उनलाई झड्का लाग्यो । छतबाट खसेर मेरुदण्ड भाँचियो भने अण्डाशयमा गम्भीर चोट लाग्यो । त्यसपछि भारतको खटिमा, बरेली, देहरादुनलगायत ठाउँमा गएर उपचार गराए । यसबिचमा दुईचोटि उनको शल्यक्रिया भयो । केही सुधार हुँदै गएपछि कहिले जिल्ला अस्पताल बैतडी, कहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराउँदै आएका उनले गत साता श्रीमतीसमेत हराएपछि झन् समस्या भएको बताए । ‘उपचारमा भएभरको जायजेथा सकियो, यही वेला श्रीमती हराएको पनि हप्ता दिन भयो,’ उनले दुखेसो पोखे ।

हरीशका दुई छोरा अभिशेक (११ वर्ष) र अमन (७ वर्ष) छन् । घरमा अशक्त आमा छिन् । दुई वर्षअघिसम्म हरीशले दुवै छोरालाई महेन्द्रनगरस्थित निजी विद्यालयमा पढाउँदै आएका थिए । उनी अशक्त भएपछि अहिले जेठो छोरा अभिशेक वीरेन्द्र मावि, शाहीलेकको छात्रावासमा बसेर पढ्दै छन् भने कान्छो अमन उनीसँगै छन् । उपचारका लागि हरीशले कञ्चनपुरमा रहेको जमिन १४ लाखमा बेचेको बताए । ‘केही रकम कमाएर राखेको थिएँ, केही सहयोग उठाएर उपचार गरेँ, अहिले रकम पनि सकियो, श्रीमती पनि हराइन्,’ उनले भने, ‘शल्यक्रिया गरेको घाउ बेस्सरी दुख्छ, बेडमै दिसापिसाब गर्नुपर्ने अवस्था छ ।’ हरीशकी आमा कलावतीले छोरो पीडाले रातभरि कराउने र आफू पनि सुत्न नसक्ने बताइन् । ‘रातभरि दुखेर छटपटाउँछ । म पनि सुत्न सक्दिनँ,’ कलावती भन्छिन्, ‘डाक्टरले निको हुँदै छ भन्छन्, तर थप उपचार गराउन पैसा छैन ।’ अचेल छरछिमेकबाट मागेर दुई छाक टार्ने गरेको उनले बताइन् ।

उजुरी दिन जाँदा प्रहरीबाट दुर्व्यवहार भएको गुनासो
गत हप्ताबाट हराइरहेकी श्रीमती विमलाको खोजतलास गरिपाऊँ भनेर हरीश पानीमा भिज्दै घुम्ने कुर्सीको सहाराले बिहीबार जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनले प्रहरी कार्यालयअगाडि भिज्दै गरेको फोटो र भिडियो ह्वाट्सएपबाट स्थानीय चारजना सञ्चारकर्मीलाई पठाएका थिए । त्यही वेला प्रहरीले दुर्व्यवहार गरेको उनले गुनासो गरे । ‘सादा पोसाकमा आएका प्रहरीले मोबाइल खोसेर ह्वाट्सएपमा पठाएको फोटो र भिडियो डिलिट गरिदिए,’ उनले दुखेसो पोख्दै भने, ‘एक्लो सहारा श्रीमती हराएकी छ भनेर प्रहरीको शरणमा गएको थिएँ, अदालत जा भन्दै फिर्ता पठाए ।’

निवेदनसहित जिल्ला प्रहरी कार्यालय पुगेका आफूहरूलाई प्रहरीले उल्टै धम्क्याएर पठाएको उनका आफन्त गोपाल भुलले बताए । प्रहरी कार्यालयमा दिनभरि बस्दा पनि वास्तै नगरेको उनको दुखेसो छ । ‘भिडियो खिचेर किन पत्रकारलाई पठाएको भन्दै प्रहरीले दुर्व्यवहार गरे, मेरो र दाइको मोबाइल खोसेर भिडियो डिलिट गरियो,’ उनले भने, ‘दिउँसो २ बजे प्रहरी कार्यालय पुगेर राति ११ बजे फर्कियौँ ।’ घरसम्म जाने गाडी नभेटिएर दुईजना नाबालकसहित त्यस दिन आफूहरूले जिल्ला अस्पतालको बरन्डामा रात बिताएको उनले बताए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहले हराएको भनिएकी महिला भारतको पिथौरागढ उपचार गर्न गएको र आमाको सम्पर्कमा रहेको सूचना आफूहरूले पाएको बताए । प्रहरीले दुर्व्यवहार गरेको र मोबाइल खोसेको कुरा आफूलाई थाहा नभएको बताउँदै सिंहले यो विषयमा प्रहरीले थप कुरा बुझिरहेको जानकारी दिए ।