नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले संसदमा हरेक दिन प्रधानमन्त्री खोज्दै ‘ढ्याप–ढ्याप’ गरेर बोल्नुपर्ने अवस्था आउँदा आफूहरूलाई समेत लाज लागिसकेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद स्वाँरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिमा अहिलेसम्म स्पष्ट जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
विपक्षी दलहरूले करिब साढे दुई महिनादेखि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण माग गर्दै आएका छन् । बैठकमा ‘ढ्याप–ढ्याप’ गरेर समय माग्दै विपक्षी सांसदहरूले विषय उठाए पनि प्रधानमन्त्रीले त्यसबारे जवाफ नदिएको स्वारको भनाइ छ ।
‘आज हाम्रो दैनिकी टेबुलमा ढ्याप–ढ्याप गरिरहनुपर्दा हामीलाई पनि लाज लागिसकेको छ,’ उनले भने । स्वाँरले राष्ट्रको प्रमुख कार्यकारीका रूपमा प्रधानमन्त्रीले संसदमै नेपालले समेत भारतको भूमि मिचेको आशयको अभिव्यक्ति दिनु गम्भीर विषय भएको बताए । तर, उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई नै लाज नलागेको उनको टिप्पणी थियो ।
गत १७ जेठमा प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले भारतसँगको सीमा विवादबारे धारणा राखेका थिए । उनले लिपुलेक–लिम्पियाधुरा विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफसमेत प्राप्त भएको बताएका थिए ।