मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १७ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १७ आइतबार ११:४२:oo
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

भेलाबारे जानकार छौँ, तर हाम्रो प्राथमिकता अन्तिमसम्म पार्टीलाई एकताबद्ध राख्ने नै हो : गुरुराज घिमिरे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १७ आइतबार ११:४२:oo

देशकै पुरानो लोकतान्त्रिक दल कांग्रेसभित्रको आन्तरिक विवाद विभाजनउन्मुख बनेको छ । कुनै नाटकीय राजनीतिक सहमति वा अप्रत्याशित घटनाक्रम विकसित नभए विभाजनलाई औपचारिकता दिन मात्र बाँकी छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस विभाजनतर्फ अघि बढे त्यसले लोकतान्त्रिक शक्तिहरूको एकता, आगामी निर्वाचनको राजनीतिक समीकरण तथा समग्र राष्ट्रिय राजनीतिक दिशामै गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ । यसै सन्दर्भमा कांग्रेस महामन्त्री गुरुराज घिमिरेसँग नयाँ पत्रिकाले गरेको संक्षिप्त कुराकानी:

बिपी कोइरालाका पुत्र डा. शशांक कोइरालालाई नेता घोषणा गर्दै इतर पक्ष अघि बढेको छ । यही महिनाको अन्त्यमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएर नयाँ पार्टी गठनको तयारी भइरहेको चर्चा छ । संस्थापन पक्षले यसलाई कसरी लिएको छ ? 
पार्टी विधान र निर्धारित प्रक्रियाअनुसार विशेष महाधिवेशन सम्पन्न भएर नेतृत्व परिवर्तन भएको हो । नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था देखिएपछि देशभरका पार्टी कार्यकर्ताको चाहनाअनुसार वैधानिक प्रक्रिया पूरा गरेर विशेष महाधिवेशन गरिएको थियो । त्यसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत वैधानिकता प्रदान गरिसकेका छन् । हामी अहिले विशेष महाधिवेशनमा सहभागी भएका र सहभागी नभएका सबै साथीहरूलाई एउटै ठाउँमा उभ्याएर १५औँ महाधिवेशन समयमै सम्पन्न गर्ने प्रयासमा छौँ । सभापतिज्यूले पनि विभिन्न नेतासँग भेटघाट गरेर उहाँहरूका धारणा सुन्नुभएको छ । उहाँहरूको राष्ट्रिय भेलाबारे हामीले पनि जानकारी पाएका छौँ । तर, हाम्रो प्राथमिकता अन्तिमसम्म पार्टीलाई एकताबद्ध राख्ने नै हो । अहिले देशले सामना गरिरहेका चुनौती हेर्दा कांग्रेस एकढिक्का हुनु आवश्यक छ ।

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व र विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई समायोजन गरेर सहमतिमा १५औँ महाधिवेशन गर्न किन सकिँदैन?
यस विषयमा पनि सभापतिज्यूले आफ्नो तहबाट पहल गर्नुभएको छ । दुवै पक्षका प्रतिनिधि बसेर छलफल गर्ने समझदारी बनेको छ । तर, उहाँहरूले अहिलेसम्म आफ्ना प्रतिनिधि तोक्नुभएको छैन । हामी प्रतिनिधिसँग बसेर छलफल गर्न, सहमतिको आधारमा अघि बढ्न तयार छौँ । उहाँहरूले राख्नुभएका माग पनि सार्वजनिक भइसकेका छन् । तर, एउटा महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमिति आइसकेपछि पुरानो र नयाँ कार्यसमितिलाई एउटै संरचनामा समायोजन गर्ने विषय विधिसम्मत, उपयुक्त र व्यावहारिक हुन्छ कि हुँदैन भन्ने छलफलको विषय हो । 

हामी अधिकतम लचिलो र व्यावहारिक भएर सबैलाई समेट्ने पक्षमा छौँ । तर, विधान, १४औँ महाधिवेशनको म्यान्डेट र देशभरका कार्यकर्ताको भावनासमेत सम्मान गर्दै निश्चित सीमाभित्र रहेर निर्णय गर्नुपर्छ ।

उहाँहरूको दाबी छ– करिब आधा कांग्रेस बाहिर छ, त्यसैले विशेष महाधिवेशनले सिंगो कांग्रेसको प्रतिनिधित्व गर्न सक्दैन, तपाईंहरूको प्रतिक्रिया ?
विशेष महाधिवेशनका विषयमा पार्टीभित्र दुई धार देखिएका थिए । सहमत हुने साथीहरू महाधिवेशनमा सहभागी हुनुभयो, नेतृत्व परिवर्तनमा भूमिका खेल्नुभयो र नयाँ नेतृत्व चयन भयो । त्यसपछि यो विषय निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुग्यो । दुवैले वैधानिकता दिइसके । त्यसपछि सदस्यता अद्यावधिक प्रक्रिया अघि बढ्यो, जसमा देशभरका करिब ८०–८२ प्रतिशत सदस्य सहभागी भइसकेका छन् ।

त्यसैले बाहिर प्रचार गरिएजस्तो अवस्था होइन । तर, विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरू बाहिर हुनुहुन्छ भन्ने सत्य हो । उहाँहरूलाई पनि साथमै लिएर १५औँ महाधिवेशनमा जाने हाम्रो स्पष्ट चाहना छ । अहिलेको राष्ट्रिय परिस्थिति हेर्दा सबैलाई एकताबद्ध गरेर अघि बढ्नु हाम्रो ऐतिहासिक दायित्व हो । 

त्यसो भए सहमति किन हुन सकेको छैन ?
वैधानिक र प्राविधिक रूपमा हामीलाई कुनै समस्या छैन । राजनीतिक रूपमा लामो समय पार्टीमा योगदान गर्नुभएका धेरै नेता अहिले बाहिर हुनुहुन्छ । उहाँहरूलाई पनि समेटेर साझा समझदारीमा पुग्नुपर्छ भन्ने हाम्रो धारणा हो । हामी विधानको संरक्षण, महाधिवेशनको सम्मान र नेतृत्व परिवर्तनको वैधानिकतालाई कायम राख्दै सबै मिलेर १५औँ महाधिवेशनको तयारीमा जुट्न चाहन्छौँ । महाधिवेशनसँग सम्बन्धित समितिमा सबैको सहभागिता सुनिश्चित गर्ने र साथीहरूलाई समेट्न सकिने अधिकतम प्रयास गर्न नेतृत्व तयार छ । 

महाधिवेशनमा सभापतिको प्रतिस्पर्धा गरेका सबै नेता अहिले बाहिर हुनुहुन्छ । तपाईंहरूको समूहबाट उम्मेदवार बन्नुभएका शेखर कोइरालालाई समेत विश्वासमा लिन सक्नुभएन नि ?
यो राजनीतिक प्रश्न हो, वैधानिक वा प्रक्रियागत होइन । निर्णायक अवस्थामा विधि र प्रक्रिया नै अवलम्बन गर्नुपर्छ । विधिको शासन स्थापित गर्न नेपाली कांग्रेसले आठ दशकभन्दा बढी संघर्ष गरेको छ । हामी लोकतान्त्रिक मूल्य र प्रक्रियाका पक्षधर हौँ । अरू दललाई पनि लोकतान्त्रिक मूलधारमा ल्याउन कांग्रेसले ऐतिहासिक भूमिका खेलेको छ । त्यसैले अरूलाई लोकतन्त्रको पाठ पढाउने कांग्रेसले आफ्नै घरभित्र विधि, प्रक्रिया र विधानको सर्वोच्चतालाई सम्मान गर्नुपर्छ । व्यक्ति होइन, विधान सर्वोच्च हुनुपर्छ । त्यसो नगरे अरूले हामीलाई लोकतान्त्रिक दलका रूपमा कसरी विश्वास गर्ने ?

राजनीतिक मतभेद छन् भने छलफल गरौँ, संवाद गरौँ र साझा निष्कर्ष निकालौँ । पार्टी सभापतिले निरन्तर यही कुरा राखिरहनुभएको छ । उहाँले नेताहरूसँग प्रत्यक्ष भेटघाट र टेलिफोन संवादमार्फत पनि सहमतिका लागि आग्रह गरिरहनुभएको छ । यसभन्दा बढी लचिलो र व्यावहारिक हुने अर्को बाटो के हुन सक्छ ?