फिफा विश्वकप फुटबल अनलाइनमार्फत निःशुल्क हेर्न पाइने प्रलोभनमा ठगिनेको संख्या १५० नाघेको छ। उनीहरुले यस अवधिमा तीन करोड रुपैयाँभन्दा धेरै रकम गुमाइसकेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार घटनामा संलग्न अभियुक्त भने हालसम्म कोही पनि पक्राउ परेका छैनन्। ठगीमा संलग्न अधिकांश स्क्यामर विदेशमा रहेको हुँदा उनीहरूलाई पक्राउ गर्न नसकिएको ब्युरोको भनाइ छ। ठगीमा पर्नेहरू भने सबै नेपाली नागरिक हुन्।
ब्युरो प्रवक्ता एसपी दिलीप गिरीले विश्वकप फुटबल निःशुल्क हेर्ने प्रलोभनमा १५० भन्दा धेरै नेपालीले तीन करोड रुपैयाँभन्दा धेरै रकम गुमाएको बताए। उनले भने, ‘विश्वकप फुटबल निःशुल्क हेर्न पाइने प्रलोभनमा ठगिने युवाको संख्या १५० नाघेको छ। डेढ महिनाको अवधिमा उनीहरूले तीन करोड रुपैयाँभन्दा धेरै रकम गुमाइसकेका छन्। ठगिने सबै नेपाली रहेका छन् । तर, ठगीमा संलग्न स्क्यामर विदेशी नागरिक रहेको देखिन्छ। त्यसो हुँदा उनीहरूलाई पक्राउ गर्न सकिएको छैन।’
ब्युरोका अनुसार विश्वकप फुटबल निःशुल्क हेर्ने प्रलोभनमा ठगिएको भन्दै पहिलो जाहेरी गत ६ जेठमा परेको थियो। ब्युरोमा दर्ता भएको १५० जाहेरी त्यसयताको हो। यो दर अझ धेरै रहेको र ठगी भएको रकमको परिमाण पनि ठुलो रहेको ब्युरोको भनाइ छ। ब्युरोमा दर्ता भएका जाहेरी ठुलो रकमको मात्रै हो। थोरै रकम गुमाउनेको संख्या अझ धेरै छ। जसको जाहेरी नै दर्ता हुन सकेको छैन।
ब्युरो प्रवक्ता एसपी गिरीले भने, ‘निःशुल्क फुटबल हेर्ने प्रलोभनमा धेरै नेपाली युवा परेको देखियो। यस क्रममा ठुलो परिमाणको रकम ठगी भएको देखिन्छ। जसमध्ये थोरै जाहेरी मात्रै हामी कहाँ दर्ता हुन आएका छन्।’
स्मार्टफोनमा डाउनलोड गरिने एपिके फाइल इन्स्टल गरे लगत्तै मोवाइल फोनको विभिन्न अनुमति (एक्सेस) माग्छ। एकपटक अनुमति दिएपछि त्यस्तो बटन लगातार देखिँदै जान्छ। प्रलोभनमा फसेकाहरुले सबै पर्मिसनलाई अलो गर्दै जान्छन्। त्यसबेलासम्म उसको मोबाइलमा रहेको बैंकिङ एप ह्याक भइसक्ने ब्युरोले जनाएको छ। बैंकको खाताबाट रकम ट्रान्सफर भएको नोटिफिकेशन मोबाइलमा बज्न थालेपछि मात्र प्रलोभनमा फसेकाहरुले ठगिएको भेउ पाउँछन्। यो धन्दामा नेपाली नागरिकको बैंक खाता प्रयोग भएको ब्युरो प्रवक्ता एसपी गिरीले बताए।
एसपी गिरीले भने, ‘मोबाइलमा फुटबल देखाइ दिने प्रलोभनमा विभिन्न एप्स डाउनलोड गर्न लागउँछन्। सोही एप्स प्रयोग गरी ह्याकरले बैंकिङ एप ह्याक गर्छ र, रकम अर्को खातामा ट्रान्सफर गर्छ। यो प्रयोजनमा नेपाली नागरिककै बैंक खाता प्रयोग भएको देखिन्छ। यसका लागि विभिन्न लेयर भएर रकम ट्रान्सफर भएका छन्। अन्तिममा सबै रकम एउटै बैंक खातामा जम्मा भएका छन्। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ। केही दिनमै नयाँ तथ्य सार्बजनिक हुनेछ।’
ब्युरोका अनुसार स्क्याममा प्रयोग भएका अधिकांश नम्बर नेपाली रहेको देखिन्छ। तर, त्यसको अपरेट बिदेशबाट भईरहेका छन्। त्यसले गर्दा पनि घटनाको अनुसन्धान जटिल बनेको ब्युरोको भनाई छ। कतिपय स्क्यामरको पहिचान खुले पनि पक्राउ गर्न नसक्नुको कारण अन्तरदेश रहेको ब्युरो प्रवक्ता एसपी गिरीले बताए।
उनले भने, ‘स्क्याममा प्रयोग भएका नम्बर नेपाली नै हुन् । स्क्यामका लागि उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जाल प्रयोग गरेको देखिन्छ । तर, त्यसको अपरेट बिदेशबाट भएका छन् । सोही कारण अनुसन्धानमा जटिलता छ । कतिपय स्क्यामरको पहिचान पनि खुल्छ । तर, अन्तरदेशीय समस्याका कारण उनीहरुलाई पक्राउ गर्न सकिएको छैन।’
विश्वकप फुटबलमा स्क्यामर र ह्याकर मात्र नभई सट्टेबाज समेत सक्रिय रहेको सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोली पनि सक्रिय भएका छन्। तर, हालसम्म जोहरी नै भने दर्ता नभएको कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताए।