सप्तरीको सुरुंगा नगरपालिका– ५, कुसहास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई मधेश प्रदेशकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ।
‘सुरुंगा नगरपालिकाको पोषणमा सुधार, स्वस्थ परिवार समृद्ध समाजको आधार’ भन्ने नारासहित स्वास्थ्य शाखाको आयोजनामा नगर प्रशासकीय भवनमा आइतबार दिउँसो आयोजित एक समारोहबिच केन्द्रलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो। नगरप्रमुख गीता चौधरी र उपप्रमुख रुद्रबहादुर कार्कीले संयुक्त रूपमा ब्यानर वाचन गरेर पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेका हुन्।
लैंगिकमैत्री व्यवहारमा जोड
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्दै नगरप्रमुख चौधरीले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने मुलुकको प्रतिबद्धताका लागि एक हिस्सा भएको चर्चा गर्दै लैंगिकमैत्री व्यवहारमा जोड दिइन्। ‘अशिक्षा, चेतनाको अभावजस्ता कारणले समाजमा अझै छोरी र छोरा जन्मिँदा गरिने संस्कार, खानपिन, हुर्काइमा पनि विभेद छ,’ उनले भनिन्, ‘छोरी जन्मिँदा आमा बाबु र गर्भावस्थाकी बुहारीको देखभालमा ध्यान दिएको खण्डमा कुपोषणको दर घटाउन भूमिका खेल्न सक्छ।’
पोषणमैत्री व्यवहारका लागि नगरको स्वास्थ्य शाखाले फलफूलका बिरुवा, पोषणयुक्त खानेकुरा बाँड्नेदेखि विभिन्न सचेतनामूलक गतिविधहरु गरिरहेको चर्चा गर्दै उनले त्यसमा नगरबासीको पनि सहकार्य रहनुपर्ने औँल्याइन्। ‘नगरबासीको साझेदारीले घोषणापछि दिगोपनाका लागि ठुलो योगदान हुन सक्छ।’ नगर उपप्रमुख कार्कीले आफ्नै घर, करेसाबारीमा पाइने तरकारी, सागसब्जी, फलफूल उपभोग गर्न आग्रह गर्दैै सकेसम्म बालबालिकालाई बजारका खानेकुरा नखुवाउन सुझाव दिए।
सामाजिक विकास शाखाका संयोजकसमेत रहेका सुरुंगा– ४ का वडाध्यक्ष देवेन्द्रप्रसाद चौधरीले कुपोषणको उच्च दर रहेको मधेशको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषित भएकामा खुसी व्यक्त गर्दै पोषणमैत्री व्यवहार गरिनुपर्ने औँल्याए।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतिशकुमार यादवले गर्भावस्थादेखि मृत्यु नहुञ्जेल पोषण जरुरी रहेको उल्लेख गर्दै गर्भमा रहेको शिशुले आमाको शरीरबाट पोषक तत्व लिएर हुर्किने भएकाले गर्भवतीको विशेष ख्याल गरिनुपर्ने बताए। जनस्वास्थ्य अधिकृत जागेश्वर यादवले पोषणमैत्री घोषित स्वास्थ्य संस्थाको पालिकाअन्तर्गतका अन्य स्वास्थ्य संस्थाहरूले पनि अनुसरण गर्दै वडा, पालिका घोषणाका लागि प्रयास गरिनुपर्ने धारणा व्यक्त गरे।
विकास साझेदार संस्था विश्व खाद्य कार्यक्रमकी प्रतिनिधि रेखा लामाले सामूहिक प्रयासमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणापछि आगामी दिनमा दिगोपना र गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन आग्रह गरिन्। प्रदेश नीति तथा योजना आयोगकी शाखा अधिकृत रञ्जना गुप्ताले स्वास्थ्य संस्थापछि वडालाई पनि पोषणमैत्री घोेषणाको तयारी गर्न आग्रह गर्दै त्यसका लागि आयोगले आवश्यक समन्वय सहयोग गर्ने उल्लेख गरिन्।
सातबुँदे प्रतिबद्धतामा हस्ताक्षर
घोषणा कार्यक्रममा सहभागी जनप्रतिनिधि, सरोकारवालाहरूले पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनकाे कार्यान्वयका लागि नीतिगत तथा संस्थागत व्यवस्था, बजेट तथा स्रोत परिचालन, लक्षित समूहको पहिचान र पहुँचको सुनिश्चिततासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्। सरोकारवालाहरूको सेवा प्रवाह र अनुगमन, जनचेतना र व्यवहार परिवर्तन, बहुक्षेत्रीय समन्वय र सहकारी, दिगोपन र नवप्रवर्तनसम्बन्धी प्रतिबद्धता रहेको पोषण फोकल व्यक्ति भूषण सुनरैतले बताए।
पोषणमैत्री स्वास्थ्य संस्था घोषित केन्द्रले गर्भवती महिलाले कम्तीमा चारपटक प्रसूति जाँच, सुुत्केरी महिलाले कम्तीमा तीनपटक उत्तर प्रसूति जाँच, गर्भवतीले गर्भावस्थामा १८० आइरन फोलिक एसिड चक्की सेवन गरेको, स्वास्थ्य संस्थामा प्रसूति गराएकोलगायत विभिन्न १६ वटा सूचक पूरा गरेको केन्द्रका इन्चार्जसमेत रहेका हेल्थ असिस्टेन्ट रामकुमार दियालीले जानकारी दिए। घोषणा कार्यक्रममा वडा कार्यालय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, विकास साझेदार संस्थाका प्रतिनिधिहरूलाई सम्मान तथा प्रमाणपत्र दिइएको थियो।