बाँठपाली मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार, पालिकाका उपाध्यक्ष र कर्मचारीसहित ९ जनाविरुद्ध मुद्दा

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

मन्दिर निर्माणमा २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र कर्मचारीसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नयाँ पर्यटन गन्तव्य विकास गर्ने उद्देश्यले गाउँपालिकाले मन्दिर निर्माण गर्दा भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं ६ स्थित बाँठपाली मन्दिर निर्माणका क्रममा वास्तविक भए गरेकोभन्दा अस्वाभाविक बढी काम भएको देखाई, अस्वाभाविक दररेट राखी र सम्झौताबमोजिमको जनसहभागिता रकमसमेत कम कट्टा गरी झुट्टा बिल भरपाईसमेतको आधारमा २२ लाख एक हजार ६६५ रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

बाँठपाली मन्दिर निर्माण योजनाका लागि निकासा भएको रकम हिनामिना भएको हो। आर्थिक वर्ष ०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत नयाँ पर्यटन गन्तव्य पहिचान गरी विकास गर्ने उद्देश्यले स्थानीय तहमा विनियोजन गरेको बजेटबाट मन्दिर निर्माणका लागि बझाङको दुर्गाथली गाउँपालिकालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४५ लाख रुपैयाँ विनियोजन दिएको थियो। उपभोक्ता समिति गठन, प्राविधिक मूल्यांकन तथा अनुगमन समिति छबिसपाथिभेरा गाउँपालिकाबाट सम्पन्न गर्ने सम्झौता थियो। त्यस्तै, मन्त्रालयको बजेट तथा कार्यक्रमसहितको पत्रबमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने र बेरुजु फर्स्योटसमेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो।

मन्दिर निर्माण आयोजनाको कुल लागत अनुमान ५६ लाख सात हजार ८९७ मध्ये ४५ लाख मन्त्रालय र बाँकी ११ लाख सात हजार ८९७ उपभोक्ता सहभागिता रहने गरी यकिन गरिएको थियो।

मन्दिर निर्माण समितिसँग २६ चैत ०७५ मा सम्झौता गरी २५ असार ०७६ मा कार्यसम्पन्न गर्ने सम्झौतामा उल्लेख थियो। सम्झौताबमोजिम अघि बढाइएको मन्दिर निर्माणमा भ्रष्टाचार भएको अख्तियारको आरोप छ। दुर्गाथलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, छबिसपाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतालासमेतको आपसी मिलेमतोमा भ्रष्टाचार भएको दाबी अख्तियारको छ।
 
भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छबिसपाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहराविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। उनीहरूलाई संयुक्त २२ लाख एक हजार ६६५ रुपैयाँ बिगो कायम गरिएको छ। त्यस्तै, छबिसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला र वडा नं. ६ का वडाध्यक्ष मोहनलाल बिकलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ। बाँठपाली देवता मन्दिर निर्माण समितिका उपाध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढाविरुद्ध संयुक्त २२ लाख एक हजार ६६५ रुपैयाँ बिगो कायम गरिएको छ।

सुझावित समाचार