प्रशासनिक केन्द्र सिंहदरबारमा अस्थायी टहरामा सञ्चालित चमेनागृह (क्यान्टिन) हरू हटाइन लागेका छन् । विभिन्न मन्त्रालय तथा दलका कार्यालयपरिसरमा सञ्चालनमा रहेका टहराका क्यान्टिन हटाउन लागिएको हो ।
अहिले सिंहदरबारभित्र दर्जनभन्दा बढी यस्ता क्यान्टिन सञ्चालनमा छन् । अर्थ, गृह, ऊर्जा, भौतिक पूर्वाधार, वन, सञ्चार मन्त्रालयका परिसरमा क्यान्टिन सञ्चालनमा छन् । त्यस्तै, संघीय संसद् सचिवालय, नेपाली कांग्रेस तथा एमालेको संसदीय दलको कार्यालय, रेडियो नेपाल, नेपाल टेलिभिजनका पनि क्यान्टिन छन् ।
अस्थायी टहरामा बनेका क्यान्टिनहरू हटाएर व्यवस्थित गर्न सरकारले यस्तो कदम उठाएको हो । लामो समयदेखि सञ्चालनमा रहेका अधिकांश त्यस्ता क्यान्टिनहरू लिखित सम्झौताविनै चलिरहेका छन् । सरकारको संरचना प्रयोग गरी व्यापार गरे पनि त्यसबाट सरकारलाई कुनै लाभ भइरहेको छैन । ०७५ सालमा सरकारले सम्झौताविना सञ्चालनमा रहेका अस्थायी टहराका क्यान्टिन हटाउन निर्णयसहित पत्राचार गरेको थियो । यसबिचमा पटकपटक पत्राचार भए पनि हटेका थिएनन् ।
सिंहदरबारमा एकाधबाहेक अधिकांश क्यान्टिन विनासम्झौता चलिरहेको अवस्थामा सरकारले तिनलाई हटाउन खोजेको हो । यही क्रममा यही १२ जेठमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले १५ दिनभित्र कांग्रेस र एमाले संसदीय दलको कार्यालयपरिसरका क्यान्टिन हटाउन पत्राचार गरेको छ । अन्य क्यान्टिनलाई पनि यथाशीघ्र हट्न र ठाउँ खाली गर्न निर्देशन दिएको छ । यही निर्देशनबमोजिम केही क्यान्टिन हटिसकेका छन् भने केही हट्ने तयारीमा लागेका छन् ।














