के तेहरान शून्यताको जोखिमतर्फ अगाडि बढिरहेको हो ? म अमेरिका–इजरायलले इरानमाथि गरेका हमला अनि विनाश र त्यसपछिका संकटलाई संकेत गरिरहेको छैन । अन्तर्राष्ट्रिय रूपमा तेल पारवहनका लागि प्रसिद्ध हर्मुज जलमार्गमा हालैको अमेरिकी नाकाबन्दीको चर्चा कोट्याउन खोजिरहेको पनि छैन, न त अमेरिकी बमवर्षक विमानले भग्नावशेष भएका सहरको चित्रण गर्न खोजेको छु । बरु इरानको राजधानी सहरमा देखिएको अभूतपूर्व पानीको संकटलाई औँल्याउँदै छु । यो समस्या वर्षौँदेखिको हो, जसको चपेटामा आमइरानी नागरिक परेका छन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले हालै घोषणा गरेका छन् कि देशको राजधानी सार्नु अब विकल्प होइन, बरु बाध्यता हो । यो बाध्यता पानीको हाहाकारले निम्त्याएको हो ।
देशमा यो त्रासदी धेरै समयदेखि चलिरहेको छ । अल्बोर्ज पर्वत शृंखलामा रहेको हिउँ तेहरानको पानी आपूर्तिको महŒवपूर्ण स्रोत हो । यद्यपि, शताब्दियौँ पुरानो प्रणालीले विश्वव्यापी तापक्रम वृद्धिको सामना गरिरहेको छ । हिमपातको मात्रा निरन्तर घट्दै गएको छ, जसले गर्दा पानी आपूर्तिमा ह्वात्तै गिरावट आएको छ । यसैबिच, महानगर विस्तार भएको छ । मानिसहरूले जमिनको पानीको अन्धाधुन्ध दोहन गरिरहेका छन्, जसले गर्दा धेरै घना जनसंख्या भएका क्षेत्रमा जमिन भासिन थालेको छ । तेहरान प्रशासनले पाइपलाइनमा पानीको चाप कम गर्न स्मार्ट मिटर जडान गरेको छ । तर, यो संकटसँग जुध्नका लागि केबल एउटा अस्थायी समाधान मात्र हो । यदि अवस्था यस्तै रह्यो भने, तेहरान आधुनिक समयमा त्यागिएको दोस्रो राजधानी सहर बन्न सक्छ । पानी अभावकै कारण भविष्यमा देशको राजधानी सार्नेुपर्ने अवस्था अवश्य आउनेछ ।
इन्डोनेसियाको कथा उस्तै छ । राजधानी जकार्ता पहिले नै परित्यक्तको अवस्थामा छ । पानीको अभावका कारण जकार्ताले बोर्नियो टापुको पूर्वी कालीमन्तान प्रान्तको नुसनतारामा आफ्ना कार्यालय सार्दै छ । कारण, यो हो कि सहरले आफ्ना ४० प्रतिशत बासिन्दालाई मात्र पाइपबाट पानी उपलब्ध गराउन सक्छ । जकार्ताका बासिन्दाहरू भूगर्भीय पानी (जमिनमुनिबाट तानिने पानी) मा अधिक निर्भर छन् । भूगर्भीय पानीको अत्यधिक दोहनका कारण जकार्ता सहर वार्षिक १५ सेन्टिमिटरले डुब्दै छ, र यसको उत्तरी क्षेत्रका केही भाग वार्षिक २०–२८ सेन्टिमिटरले भासिँदै छन् । सहर भासिँदै जाँदा, समुद्रको सतह बढ्दै छ । सहरको लगभग ४० प्रतिशत भाग समुद्रले निलिसकेको छ । विभिन्न अध्ययनले सुझाव दिन्छन् कि आगामी २५ वर्षमा, जकार्ता पूर्ण रूपमा डुब्नेछ ।
भारतको कम्तीमा २१ सहर पानी अभावसँग जुधिरहेका छन् । यसमा नयाँदिल्ली, बेंगलुरु, हैदराबाद, चेन्नई र पुणे समावेश छन् । बंगालको खाडीको किनारमा अवस्थित चेन्नईले २०१९ मा निकै जोखिम अवस्थाको सामना गर्यो । पानीको आवश्यकता पूरा गर्न नजिकैका क्षेत्रबाट वितरण सुरु गरियो । जमिनको जलको अत्यधिक दोहनले बेंगलुरु, पुणे र हैदराबादमा पनि यस्तै अवस्था निम्त्याउन सक्छ । जमिनमुनि पानीको तह निरन्तर घट्दै गइरहेको छ, र जमिन भासिने घटनाहरू तीव्र बढिरहेका छन् ।
दिल्लीमा पानीको अभाव नयाँ विषय रहेन । दिल्लीवासी वर्षौँदेखि काकाकुलको अवस्थामा छन् । रोहिणी टाउनसिप र यस्ता धेरै आवासीय क्षेत्रलाई निश्चित दिनमा पानी उपलब्ध गराइन्छ । एक समय थियो जतिवेला सहरमा सातामा २४सै घण्टा पानी वितरण गरिन्थ्यो । तर, अहिले यो कुरा एकादेशको कथा बनेको छ । अहिले यमुनामा यति धेरै एमोनिया छ कि यसको पानी मानव उपभोगका लागि प्रयोग गर्न सकिँदैन । यमुना नदीमा एमोनियाको स्तर प्रायः ५ पिपिएम (०.५ पिपिएम सुरक्षित)भन्दा बढी रहेको यसअघि नै सार्वजनिक भइसकेको छ । जनसंख्याको ठुलो हिस्सा पानी ट्यांकरमा निर्भर छ । दिल्लीको पानीको आवश्यकताको नब्बे प्रतिशत हरियाणा र उत्तर प्रदेशले पूरा गर्दछ । यी राज्यमै पानीको अभाव हुँदा दिल्लीका बासिन्दाले यसको मार खेप्नुपर्छ ।
केन्द्र सरकारले अटल ग्राउन्ड वाटर योजना, नदी जोड्ने कार्यक्रम, वर्षाको पानी संकलन र डिजिटल पानी ग्रिडजस्ता धेरै योजना सुरु गरिएका छन् । अटल भूजल योजनामार्फत, सरकारले पानी आपूर्तिमा जनताको सहभागितालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । जनचेतना बढाउन धेरै सहरमा पिजो मिटर जडान गरिएको छ । यी मिटरले बासिन्दालाई उनीहरूको क्षेत्रमा घट्दो भूजलस्तरको समस्या सम्बोधन गर्ने विश्वास गरिएको छ । सिँचाइ सुधार गर्न इजरायलबाट थोपा सिँचाइ (ड्रिप इरिगेसन) सुरु गरिएको छ । दैनिक आपूर्ति बढाउन युद्धस्तरमा रिसाइक्लिङ (पुनर्चक्र) सुरु गरिएको छ ।
म नदी जोड्ने परियोजनाका बारेमा छलफल गर्न चाहन्छु । प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार ग्रहण गर्नेबित्तिकै उनले कार्यक्रम सुरु गरे । पहिलो चरणमा, केन र बेतवालाई जोड्ने प्रयासहरू भइरहेका छन् । यद्यपि, धेरै विज्ञहरूले नदी जोड्ने परियोजनालाई स्रोतका हिसाबले वृहत् र समय खपत गर्ने मानिन्छ । पानीको अभाव जलवायु र वातावरणीय ह्राससँग जोडिएको छ । सम्पूर्ण विश्वसँगै भारतमा पनि वातावरणमा द्रुत गिरावट देखिइरहेको छ । इरानको अल्बोर्ज पहाडहरू जस्तै, हिमालयले पनि हिउँको आवरणको कमीको सामना गरिरहेको छ । हिमपातमा कमी र बढ्दो तापक्रमले प्राकृतिक चक्रभन्दा धेरै छिटो हिमनदी पग्लिरहेका छन्, जसले गंगा, यमुना र सतलजजस्ता बाह्रैमास बहने नदीहरूमा दबाब सिर्जना गरिरहेको छ ।
जलवायु संकटले गर्मी, मनसुन र जाडोबिचको सन्तुलन बिगारेको छ । म वसन्त पञ्चमीको समयमा देहरादुनमा थिएँ । शिवालिकको दुन उपत्यकामा त्यस दिन भारी वर्षा र असिना परेको थियो र नजिकैका पहाडमा मौसमको पहिलो हिमपात भएको थियो । म तपाईंलाई सम्झाउन चाहन्छु कि वसन्त पञ्चमी त्यो दिन हो, जुन दिन उत्तरी भारतका मानिसहरूले जाडोलाई बिदाइ गरे । त्यस दिन भएको कडा चिसो र हिमपातले मलाई एक सहकर्मीको व्यंग्यको सम्झना गरायो– वसन्त ऋतु अब मरिसकेको छ । यो केवल ऋतुको मृत्यु मात्र होइन, बरु हाम्रो जीवनमा वसन्तको दुःखद अन्त्य पनि हुन सक्छ ।
(शेखर हिन्दुस्तान टाइम्सका प्रधान सम्पादक हुन् । हिन्दुस्तान टाइम्समा प्रकाशित उनको आलेखलाई सुभाष शर्माले भावानुवाद गरेका हुन् ।)