खुम्चिँदै खोरिया, हराउँदै चेपाङ पहिचान

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

चेपाङ समुदायको बसोवास भिरालो डाँडापाखामा हुन्छ । फाँट जग्गा नभएकाले चेपाङ समुदाय खोरियामा निर्भर हुन्छन् । त्यही भिरालो जमिनमा खेती गर्ने कार्य नै खोरिया खेती प्रणाली हो । खोरिया खेतीलाई तीनवर्षे बाली भन्ने पनि चलन छ । तीन–तीन वर्षमा खेती परिवर्तन गर्ने भएर नै यो खेती प्रणालीलाई तीनवर्षे बाली भनिएको हो । खोरिया खेती गर्ने क्षेत्रमा मिचाहा प्रजातिका झार, घाँस, पात पतिंगर, झाडीलाई जलाएर खरानी बनाइन्छ ।

त्यो खरानीलाई मल बनाएर खेती गरिन्छ । खोरियामा चिउरी, आँप, बेत, अम्रिसो, मालकौनीको उब्जनी र संरक्षण गरिन्छ । यसमा चेपाङ समुदायको जीविकोपार्जन पनि जोडिएको छ । खोरिया भनेको चेपाङ समुदायको पहिचान हो । चेपाङ समुदायको खोरियासँग इतिहास जोडिएको छ । चेपाङ समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक जीवन बुझ्न खोरिया अभ्यास बुझ्न आवश्यक हुन्छ । अनिकालको समयमा खोरियाले चेपाङ समुदायको खाद्य सुरक्षामा ठुलो भूमिका खेल्छ ।

पाखो खोरियामा मकै, कोदो, जुनेलो, मालकौनीलगायत बाली हुन्छ । विशेष गरी, जलवायुसँग लडेर आफैँ उब्जन सक्ने बाली खोरियामा हुन्छ । यसका लागि हामी जहाँ जन्मियौँ, आफ्नो अगाडि जे उपलब्ध छ, त्यही प्राकृतिक स्रोतलाई उपयोग गरेर खेती गर्छौँ । खोरिया खेती अन्य आदिवासी जनजाति राई, मगर, तामाङलगायतमा पनि अभ्यासमा छ ।

खोरिया खेती कहिले देखि सुरु भयो भन्ने लिखित दस्तावेज उपलब्ध छैन । मानव सभ्यतामा खेती प्रणाली जहिलेदेखि सुरु भयो, त्यही वेलादेखि नै खोरिया खेती प्रणालीको अभ्यास सुरु भएको देखिन्छ । सुरुवाती दिनमा आदिवासी जनजातिले कन्दमूल अथवा आफ्नावरपर जे उपलब्ध हुन्थे, त्यही खाएर गुजारा चलाएको देखिन्छ । परिवारको संख्या बढ्दै गएपछि उपलब्ध खानाले मात्र पुग्न सकेन । त्यसपछि थप खेती लगाउने बाध्यात्मक अवस्था सिर्जना भयो । यसका लागि उब्जनी गर्ने काम सुरु भयो । उब्जनीका लागि हाम्रो वरपर उपलब्ध भिरपाखा थियो । त्यही भिरपाखामा खेती लगाउने काम सुरु भयो ।

चेपाङ समुदायमा जेठ महिनामा मुलुकी पूजा गरिने चलन छ । मुलुकी पूजा एक ठाउँमा गरिने चलन छ, जसमा सबै टोलका सबै घरधुरीले भाले जाँडरक्सी लिएर आउँछन् र सुख, शान्तिका लागि मुखियाले पूजा गर्छन् । यो भूमिसम्बन्धी पूजा हो र यसमा भुतप्रेत नलागोस् भनेर पूजा गरिन्छ । अहिले मुलुकी पूजा हट्दै गएको  छ । यो अभ्यास चितवन जिल्लाको हो । गोर्खा, धादिङ, मकवानपुरमा समय मिति र अलि फरक अभ्यास हुन सक्छ ।   

कार्बन न्यूनीकरणका लागि खोरियाको भूमिका महत्वपूर्ण छ । खोरियामा मिचाहा प्रकृतिको झार जलाएर उत्पादन गरिन्छ । त्यसले कार्बन उत्सर्जनमा न्यूनीकरण गर्छ । खोरियामा उत्पादन हुने अन्नबाली पानी कम हुने ठाउँमा पनि उमार्न सकिने, मलिलो माटो नचाहिने हुन्छ । खेतीमा युरिया, डिएपीजस्ता मल प्रयोग गर्दैनन् । त्यसले जलवायु परिवर्तन अनुकूलनमा राम्रो भूमिका खेल्छ । 

 जैविक विविधिता र खोरिया खेती 
खोरिया खेती जैविक विविधता संरक्षणमा राम्रो अभ्यास भएको अध्ययनले देखाएको छ । कार्बन धेरै उत्सर्जन भयो, यसलाई न्यूनीकरण गर्नुपर्छ भन्ने कुरा धेरै उठेको देखिन्छ । आदिवासी जनजातिले अभ्यास गरेको खोरिया खेती कार्बन उत्सर्जन रोख्ने उत्तम अभ्यास भएकोसमेत अध्ययनले देखाएको छ । 

चेपाङ समुदाय प्रकृति पूजक हो । चेपाङ समुदायले ढुंगा, माटो, खोलानाला, बोटबिरुवाको पूजा गर्छन् । त्यही क्रममा खोरियाको पूजा गरिन्छ । खोरिया अर्थात चेपाङको अन्नदेवता भएकाले खोरियाको पनि पूजा गरिन्छ । जुन परिवारसँग खोरियो छैन, त्यो परिवार चेपाङ होइन भन्ने प्रचलन थियो । पछि गाउँबाट बजार सर्न थालेपछि खोरिया खेती परम्परामा कमी आउन थाल्यो ।

कार्वन न्यूनीकरणका लागि खोरियाको भूमिका महत्वपूर्ण छ । खोरियामा मिचाहा प्रकृतिको झार जलाएर उत्पादन गरिन्छ । त्यसले कार्बन उत्र्सजनमा न्यूनीकरण गर्छ । खोरियामा उत्पादन हुने अन्नबाली पानी कम हुने ठाउँमा पनि उमार्न सकिने, मलिलो माटो नचाहिने हुन्छ । खेतीमा युरिया, डिएपीजस्ता मल प्रयोग गर्दैनन् । त्यसले जलवायु परिवर्तन अनुकूलनमा राम्रो भूमिका खेल्छ । त्यसले जलवायु परिर्वतनलाई प्रभाव पार्ने काम गर्दैन ।

बिउबिजन पनि जलवायुमैत्री हुनाले जलवायु परिवर्तनमा यसको भूमिका महत्वपूर्ण छ । खोरिया पाउनु भनेको चेपाङ समुदायको अधिकार हो । पहिला मिचाहा प्रजातिका झार जथाभावी थियो । त्यसलाई चेपाङ समुदायले सदुपयोग गरेका थिए । सन् १९७० तिर वनको राष्ट्रियकरण गर्न थाल्यो । साामुदायिक वन भनेर घोषणा गर्यो । वन विकास गुरुयोजना २०४५ ले सामुदायिक वन कार्यक्रमलाई प्राथमिकता दियो । वनको केही हिस्सा सामुदायिक व्यवस्थापनमा लगियो । फेरि कबुलियती वन भनेर घोषणा गर्यो । धार्मिक वन भनेर घोषणा गर्न थाल्यो । त्यसपछि खोरियाको उपभोगमा कमी आउन थाल्यो । विभिन्न नाममा वन भनेर घोषणा गरेसँगै खोरियाको क्षेत्रमा सीमितता आएको छ । त्यसैले खोरिया खेती प्रणालीमा अहिले कमी आउन थालेको छ ।

धेरै चेपाङ समुदायसँग आफ्नो नामको लालपुर्जा छैन । त्यसैले पनि सजिलै हटाउन सक्यो । सामुदायिक वनले लालपुर्जा अभावकै कारण सजिलै हटायो । राष्ट्रिय निकुञ्जको अवधारणाले सहज रूपमा चेपाङलाई भूमिहीन बनायो । ०६८ को जनगणनामा चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ थियो । ०७८ सालको जनगणना यो संख्यामा वृद्धि भएर ८४ हजार ३ सय ६४ पुगेको छ ।

जनसंख्या वृद्धि हुँदै जान थालेपछि हाल चेपाङ समुदायका धेरै मानिस वैदेशिक रोजगारका लागि खाडी जान थालेका छन् । यसबाट केही परिवारको जीविकोपार्जन भएको छ । जो वैदेशिक रोजगारका लागि खाडी पनि जान सकेका छैनन् उनीहरू केही शिक्षण पेसामा छन् । आयस्रोतका माध्यम बनाउँदै केही सरकारी जागिरतर्फ आउन थालेका छन् । केहीलाई सिटिइभिटीले दिएको प्राविधिक तालिमले पनि केही सजिलो भएको छ । पहिले बुबाआमाहरूले सामान विनिमय गर्थे । स्कुससँग चामल साटिन्थ्यो । निबुवाको चुकसँग चामल साटिन्थ्यो । अहिले त्यो चलनमा कमी आएको छ ।

 खुम्चिँदै खोरिया खेती 
वन संरक्षणका नाममा नयाँनयाँ नीति आउँदै छ । त्यसले चेपाङ समुदायको खोरिया खुम्चिँदै छ । वन जोगाउने नाममा राष्ट्रिय निकुञ्ज बनायो । त्यसको वरपरका क्षेत्रलाई ‘बफरजोन’ भनियो छेउछाउका क्षेत्रलाई सामुदायिक क्षेत्र भनेर बनाउन थाल्यो । त्यतिले पनि नपुगेर अहिले जैविक विविधता संरक्षणका उपायहरू (ओइसिएम)को अवधारणासमेत आएको छ । सन् २०२२ डिसेम्बरमा सम्पन्न जैविक विविधता महासन्धिको १५औँ सम्मेलनमा सदस्य राष्ट्रहरूले कुनमिङ–मोन्ट्रियल जैविक विविधता संरक्षण खाका लक्ष्य तीनअन्तर्गत सन् २०३० सम्म विश्वका भूभागको ३० प्रतिशतमा पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने अति महत्वको जैविक विविधता क्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता गरेको छ ।

नेपाल उक्त महासन्धिको सदस्य राष्ट्र हो । ओइसिएमजस्ता योजना बनाउँदा चेपाङ समुदायसँग प्रयाप्त छलफल गरिएको छैन । ओइसिएम एरियाको मानिसलाई राम्रोसँग सोधिएको छैन । ओइसिएम लागू भइसकेपछि प्रभावित समुदायको सांस्कृतिक, आर्थिक रूपमा कस्तो प्रभाव पार्छ ? त्यसको बारेमा पर्याप्त छलफल भएको छैन । यस्ता योजनाले हाम्रो जमिन मात्र जाने होइन, जमिनसँग जोडिएको संस्कृति, परम्परा सबै सकिन्छ । हाम्रो ठाउँ, माटो, खोला, जडीबुटीलाई आफ्नै तरिकाले नामाकरण गरेका हुन्छौँ । त्यो सबै हराएर जान्छ । 

खोरिया हाम्रा लागि जीवनयापनको माध्यम हो । तर, राज्यका लागि केही होइन भन्ने भएको छ । किनभने हामीसँग लालपुर्जा छैन । खोरिया खेती गरेरै जैविक विविधतामा योगदान पुगेको छ । कार्बन उत्सर्जन न्यूनीकरण भएको छ । तर, त्यस्ता कुरालाई बेवास्ता गरिएको छ । केही स्थानीय तहले राम्रो प्रयास पनि गरेका छन् । चेपाङ समुदाय बस्ने भिरालो पाखालाई त्यहाँ उत्पादन हुने खेतीको पकेट क्षेत्र बनाउने काम गरेका छन् । त्यो माटोलाई सुहाउँदो खेती गरेर आयस्रोतको माध्यम बनाएको छ ।

अब खोरिया सकिँदै गएको छ । सकिन्छ । खोरिया खेतीबारे अध्ययन, अनुसन्धानका काम भएका छन् । तर, प्रवद्र्धन गर्ने काम भएको छैन । राज्यले यस्तै नीति, योजना अगाडि बढाइरहे खोरिया खेती हराएर जान्छ । अहिले गाउँपालिका र नगरपालिकाले खोरियाको निस्सा दिने चलन गरेका छन्, जसमा भूमि विभागबाट नापी नभए पनि पालिकाले अस्थायी लालपुर्जाजस्तो निस्सा दिने गरेको छ ।

खोरिया खेती प्रणालीको प्रवद्र्धन गर्नका लागि अझै केही काम गर्न सकिन्छ । यसका लागि राज्यले चेपाङ समुदायको आवश्यकतालाई ध्यानमा राखेर समुदायसँग छलफल गर्नुपर्ने देखिन्छ । जीविकोपार्जनका लागि व्यावसायिक खोरिया सुधार खेती सञ्चालन गर्न सम्भाव्यता अवलोकन र किसानसँग छलफल गर्नुपर्छ । बढ्दो जनसंख्या र खोरिया विस्तारको कारण हाम्रो हरियाली डाँडापाखा उजाड भएको छ । आफ्नो खोरिया पाखा–पखेरोमा चिउरी, निबुवा, रुख कटहर, अम्बा जातका बिरुवा लगाउने सकिन्छ । भिरालो खोरियालाई सुधार्न तारबारका लागि विभिन्न घासको बिउ रोप्न सकिन्छ । समुदायको चेतना अभिवृद्धिकै लागि पनि काम गर्नुपर्ने देखिन्छ । 

अहिले बढ्दो जनसंख्या र खोरिया विस्तारमा रोकको कारण हाम्रो हरियाली डाँडापाखा उजाड देखिन्छ । अबको बढ्दो सहरीकरण, गाउँबाट बसाइँसराइ बढेसँगै खोरिया पनि बाँझो रहेकाले डाँडापाखामा मिचाहा प्रजातिको झार बढ्दो छ । यसको उचित व्यवस्थापन जरुरी हुन्छ । आदिवासी, रैथाने ज्ञान, अभ्यासलाई निरन्तरता दिई जनजीविकालाई पनि टेवा पुग्ने कार्यक्रम अघि बढाउन आवश्यक छ ।
(कुराकानीमा आधारित)

सुझावित समाचार