नेपालस्थित स्विट्जरल्यान्डकी राजदूत ड्यानियल मेउलीले गृहमन्त्री सुधन गुरुङसँग शिष्टाचार भेट गरेकी छिन्।
भेटमा स्विट्जरल्यान्ड र नेपालबिचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको जारी उत्सवका विषयमा छलफल भएको स्विस दूतावासले फेसबुक पेजमार्फत जानकारी दिएको छ। साथै, विकास साझेदारी, विपत् व्यवस्थापन र सुशासनका विषयमा समेत छलफल भएको बताइएको छ।
सो अवसरमा गृहमन्त्री गुरुङले स्विस बैंकमा नेपालीहरूको कालोधनको विषयमा चासो राखेका गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्रीले राजदूत मेउलीसँग नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्विस बैंकमा राखे/ नराखेको विषयमा अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए।