माघेसंक्रान्तिको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड, पिँडालुले बजार भरिन थालेको छ। कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले ढकको दुई सयदेखि पाँच सय रुपैयाँमा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ ।
‘पुस पाके माघ खाए’ भन्ने प्रचलनअनुसार नै पुस मसान्तमा विभिन्न कन्दमूल पकाएर राख्ने र माघेसंक्रान्तिमा खाने प्रचलन रहेको छ । माघेसंक्रान्तिमा तरुल, घिउ, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ। यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ। उपत्यकाको मुख्य तरकारी बजार कालीमाटीमा मुख्यतः सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकबाट तरुल आउने गरेको व्यवसायी बताउँछन्।












