विशेष महाधिवेशनको विषय त निकै पेचिलो देखियो नि ?
हो, यो विषय यतिखेर पार्टीभित्र निकै पेचिलो बनेर देखिएको छ । नियमित पन्ध्रौँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने लामो रस्साकस्सीपछि नियमित महाधिवेशनको तालिका सार्वजनिक भयो । हामीले व्यग्रतासाथ त्यसको प्रतीक्षा पनि गर्यौँ । तर, घोषित तालिकाअनुसार अघि बढ्नुपर्ने कुनै पनि प्रक्रिया सुरु नै नभएपछि त्यसले महाधिवेशन टार्ने कोसिस गरिन्छ कि भन्ने संशयलाई प्रमाणित गर्यो । नियमित महाधिवेशन हुन नसकेपछि विधानसम्मत माग गरिएको विशेष महाधिवेशन गर्नुको विकल्प छैन । अब यसका लागि सिंगो पार्टीपंक्ति तयार हुनुपर्छ ।
विशेष महाधिवेशनले पार्टीलाई फुटको दिशातिर त लाँदैन ?
यस विषयमा केन्द्रीय कार्य समितिको बहुमत ‘होल्ड’ गर्ने पार्टी सभापति र कार्यवाहक सभापतिले सोच्नुपर्छ । सामान्यत: विशेष परिस्थितिबाहेक चार वर्षमा गर्नुपर्ने नियमित महाधिवेशनको तयारी नगरिएपछि हामीले बाध्यतावश विशेष महाधिवेशनको माग गरेका हौँ । विधानसम्मत गरिएको मागविपरीत त्यसलाई निष्क्रिय पार्ने, मागकर्ताहरूलाई अपमानित गर्ने नेतृत्वको प्रपञ्चले पार्टीको विधिविधान मिच्ने काम गरेको छ । घोषित पन्ध्रौँ महाधिवेशन किन सर्यो भन्ने विषयमा पार्टी नेतृत्वले विशेष महाधिवेशन माग गर्ने साथीहरूलाई जानकारी दिनसम्म आवश्यक ठानेन । त्यसैले, त्यसबाट उत्पन्न हुने कुनै पनि परिणामको जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्नेछ ।
विशेष महाधिवेशनपछिको कांग्रेस कस्तो बन्ला ?
विशेष महाधिवेशनले पार्टी एकतालाई बल पुर्याउँछ । यसले नयाँ नेतृत्व र नयाँ नीति तथा कार्यक्रमसाथ पार्टीलाई नयाँ ऊर्जा दिनेछ । वर्तमान सभापति पुन: उम्मेदवार हुने अवस्था नभएकाले पनि जो आए पनि नयाँ नै नेतृत्व आउने भएकाले पनि जेन–जी आन्दोलनले गरेको मागबमोजिम पार्टी रूपान्तरित भई अगाडि आउनेछ । र, आन्दोलनमा मुखरित आवाजलाई समेत सम्बोधन गरी कांग्रेस आगामी निर्वाचन अभियानमा एकढिक्का भई होमिनेछ ।