आँखामा लेन्स प्रयोग गरी भारतीय धनाढ्यलाई क्यासिनोमा लुट(भिडियोसहित)

सात जना पक्राउ, क्यासिनो सञ्चालन पनि छानबिनमा

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

धनाढ्य भारतीयलाई काठमाडौंका क्यासिनोमा जुवा खेल्न ल्याएर म्याग्नेटिक कार्ड प्रयोग गरी ठगी गर्ने सात जनाको समूह पक्राउ परेको छ । तासमा म्याग्नेटिक प्रविधि जडान गरी आँखामा लेन्समार्फत सजिलै पहिचान गर्ने गरी उनीहरूले ठगी गरेका हुन्। 

जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरी गिरोहमा आबद्ध सातजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुरेश महाजन, दिनेश बर्मा, बिक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे छन् । उनीहरूमध्ये चिजा र भवानी टेबलमा तास बाँड्ने कर्मचारी अन्य खेलाडी हुन्। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरूले ठमेलको छायासेन्टरस्थित वाल्डो क्यासिनोमा १० वटा टेबल बुक गरेर गत ११ देखि १४ डिसेम्बरमा इभेन्ट गरेका थिए। त्यसका लागि करिब दुई सय धनाढ्य भारतीयलाई ल्याएर विभिन्न पाँच तारे होटेलमा राखिएको थियो । उनीहरू वाल्डो क्यासिनोमा जुवा खेल्न जान्थे । त्यस क्रममा महाकाया ग्रुपका प्रमुख सुरेश महाजनलगायतले ठगी गर्ने योजना बनाएका थिए। केही डमी खेलाडी तयार गरी जुवा खेल्न भारतबाट आएकासँगै उनीहरूलाई पठाइन्थ्यो । तर, उनीहरुले तास सहजै चिन्दथे । त्यसका लागि आँखामा लेन्स राखिएको थियो । त्यहाँ खेलाइने तासमा म्याग्नेटिक जडान गरिएकाले त्यस्तो लेन्सले अरूको हातमा रहेको ताससमेत पहिचान हुन्थ्यो । त्यसरी उनीहरुले ठूलो रकम ठगी गरेको प्रहरी आशंका छ । मंगलबार काठमाडौं प्रहरीले गरेको पत्रकार सम्मेलनमा एसपी भट्टराईले पूर्वयोजनाअनुसार नै यो ठगी भएको बताए। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापा, एसपी पवन भट्टराई मंगलबार आयोजित पत्रकार सम्मेलनमा 

उनीहरुले म्याग्नेटिक जडान गरिएको ४० बुक तास र चार सेट लेन्स भारतबाटै ल्याएको एसपी पवनकुमार भट्टराईले बताए । प्रहरीले तास र लेन्स पनि बरामद गरेको छ । सोधपुछका क्रममा उनीहरुले आफुहरुले योजनाबद्ध रुपमा नै ठगी गरेको स्वीकार गरेका छन् । 

सो समूहमा आबद्ध बिनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, नीरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा लगायत फरार छन् । त्यस्तै, क्यासिनोका सञ्चालकहरू विनय साह तथा दावा शेर्पामाथि पनि प्रहरीले अनुसन्धान थालेको छ । क्यासिनोकै मिलेमतोमा यस्तो धन्दा भएको प्रहरी आशंका छ । म्याग्नेटिक जडान गरिएको तास क्यासिनोमा प्रवेश गराइएकोमा यसमा क्यासिनोकै मिलेमतो देखिएको हो। 


भिडियोः

सुझावित समाचार